– देवीराम आचार्य / मासिक तलव करिब २० हजार बुझ्दा पुस्तक पसल जाने आटै आउँदैन । गोरखापत्र संस्थानबाट एउटा लेखको पारिश्रमिक रु ८०० बुझेपछि म सिधैँमण्डला बुक हाउस पुगे । मेरो पुस्तक किन्ने बजेट त्यही ८०० भएतापनि करिब १२०० का किताब किन्दा जोन उड को "साक्षर संसारतिर" पनि एउटा भयो । यो पुस्तक देखेपछि मैले केही पनि नहेरी खरिद गरे, किनकी म जोन उड को माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म भन्ने उनको पहिलो पुस्तकबाट नै प्रभावित भएको थिए । जोन उड को दोस्रो पुस्तक पढ्दै गर्दा मेरो मनमा उठेका भावहरू लार्इ लिपिबद्ध गर्ने प्रयास मात्र हो यो । यो कुनै पुस्तकको समीक्षा पनि होइन र पुस्तक प्रतिको विचार पनि होइन ।
विशाल चीन क्षेत्रका लागि माइक्रोसफ्टको व्यापार विकास निर्देशकका रूपमा काम गर्दा गर्दै अन्नपूर्ण पद मार्गकोट्रेकीङ्मा आएका जोन उड माइक्रोसफ्टको आकर्षक जागिर छाडेर कसरी पुस्तकालय खोल्ने अभियानमा होमिन्छन् भन्ने प्रेरणा दायी कुराहरू समेटेका छन् पहिलो पुस्तकमा । करिब ५ वर्ष अगाडि नै पढेको पहिलो पुस्तकका बारेमा धेरै कुरा सम्झन सक्दिन तर त्यही पुस्तकबाट प्रभावित भएर मैले पनि गाउँको आफैले पढेको विद्यालयमा पुस्तकालय विकास गर्ने योजना बुनेको थिए । अहिले सम्झन्छु त्यो अलि महत्वकांक्षार अपरिपक्व नै भए छ क्यारे । म जति खेर आफैले पढेको विद्यालयमा एउटा राम्रो पुस्तकालय बनाउ भन्न गएको थिए त्यति खेर त्यहाँ अरू कसैले दिएका सयौं अङ्ग्रेजी भाषाका पुस्तक दराजमा राखिएका थिए । कोठा बन्द थियो र ती पुस्तक धूलै भएर बसेका थिए । जसरी जोन उड को पुस्तकालय खोल्ने योजना धेरै लार्इ अविश्वास लागेको थियो, त्यसरी नै मेरो योजना लार्इ पनि धेरैले पत्याएनन् ।
तर जोन उड ले धेरैले विश्वास नगरेको त्यो काम सफल गरेर छाडे तर मैले सकिन । अहिले सम्झन्छु गर्न नसक्ने योजना मैले नबनाएको भए पनि त हुन्थ्यो । जोन उड ले माइक्रोसफ्टमा काम गर्दा बनाएको सम्पर्क, पहिचान र अमेरिकी भएको सन्दर्भमा थुप्रो कोष सङ्कलन गर्न सफल भए तर हामी आफै गरिब देशका नागरिक जसको कुनै अन्तर्राष्ट्रिय सम्पर्क छैन र राष्ट्रिय स्तरमै पनि कुनै पहुँच स्थापित छैन । उनको स्रोत सङ्कलन गरेका विधि पढ्दै गर्दा लाग्छ हामी लार्इ उनले जस्तो स्रोत सङ्कलन गर्ने कुरा कठिन मात्र होइन असम्भव नै छ जस्तो अहिले अनुभूत गर्दै छु ।
कतै सामाजिक सञ्जालमा पढेको थिए, निदाएको बेला देख्ने सपना होइन, सपना त्यो हो जसले निदाउन दिँदैन । वास्तवमा जोन उड ले जब पुस्तकालय खोल्ने निर्णय लिए तब उनी राम्रोसँग निदाएनन्, तर मैले योजना मात्र बनाए, विद्यालयमा विश्वास गरेनन् भनेर छाडिदिए ।
हामी नेपालीहरू हुँदा हुँदै को जागिर छाड्ने कल्पना पनि गर्न सक्दैनन् अझ त्यो पनि कुनै सामाजिक कामका लागि । तर जोनले मालदार र तीव्र वृद्धिको कर्पोरेट वृत्ति छाडेर कल्याणकारी काम थाल्छन् र उनका बाबु आमा त्यसलार्इ सहजै स्विकार्छन् तर यो हाम्रो नेपाली समाजमा निकै कठिन छ किनकी जोनकै शब्दमा "बाबु आमाहरू आफ्ना सन्तानलार्इ जसो गर्दा बाँच्न सजिलो हुन्छ त्यसै गर्न गराउन आनुवंशिक रूपले नै निर्दिष्ट हुन्छन् । उनीहरूका आफ्ना सन्तान प्रतिका सपना र आकाङ्क्षा एकदमै कठिन समयमा पनि स्वाभाविक रूपले एउटा राम्रो जागिर, त्यसले निर्धारण गर्ने सामाजिक हैसियत र आर्थिक सुरक्षासँग गाँसिएका हुन्छन्" (पेज ३) । जहाँसुकैका बाबु आमा पनि आफ्ना बच्चालार्इ राम्रो जीवन दिन चाहन्छन् भन्ने जोनको निष्कर्ष सान्दर्भिक नै छ, त्योभन्दा पनि उनको एउटा अर्को गजबको निष्कर्ष नेपालीका लागि गरेका छन् : "नेपाली जति भाषणमा रमाउने जाति कमै होलान्" ।
मैले माथि नै उल्लेख गरेको छु, कसैले नपढी दराजमा सुरक्षित राखिएका पुस्तकका बारेमा, यसै सन्दर्भमा जोन भन्छन् : हेर्दा जति नै आकर्षक देखिए पनि पठनीय किताब बिनाका पुस्तकालय खास उपयोगी हुँदैनन् । दत्तचित्त हुने पाठक बिना किताब तख्तामै धुलिएर रहन्छन् । जोनले पुस्तकालयको महत्वलार्इ धेरै नै सरल तरिकाले बुझाउन सफल भएका छन् ।
कतिपय यस्ता उदाहरण प्रस्तुत गरेका छन् कि हामी एक पटक सोच्न बाध्य हुन्छौ । जस्तै : संयुक्त राज्य अमेरिकाले गत दशकमा अफगानिस्तान र इराकमा देख्दैमा जित्न नसकिने युद्ध लडेर नौ अर्ब डलर खर्च गर्यो । त्यो रकमको १० प्रतिशत मात्रबाट पनि रूमटुरिड जस्ता गतिशील समूहहरूले २ लाख ७२ हजार ओटा विद्यालय बनाउनका लागि स्थानीय समुदायसँग सहकार्य गर्न सक्थे । सुरक्षा जस्तो अनुत्पादक क्षेत्रमा लगानी घटाउने र शिक्षामा लगानी बढाउने तर्फ ध्यान दिन सकिन्छ ।
कम्प्युटर होस् या आइप्याड, हवार्इ टिकट वा होटेलको कोठा, बचत खाता वा जीवन बिमासम्बन्धी नीति, यी सबै चिज हातमुख जोड्ने समस्याकै अवस्थामा रहेका मानिसका लागि बेकामे हुने कुरा त उनले गरेका छन् नै त्यसको साथसाथै एप्पल, बोइङ, गुगल, स्टासबक्स र ट्विटरजस्ताविश्वस्तरीय कम्पनीहरू अशिक्षित मानिसहरूबाट बन्न सक्दैनन् भन्दै शिक्षाको महत्व उल्लेख गरेका छन् ।
संसारको परिवर्तन शिक्षित बालबालिकासँगै सुरु हुन्छ भन्ने रुमटुरिडको नारा र कुनै बालकलार्इ गलत ठाउँ, समय र परिवारमा जन्मेको हुनाले तँ पढ्न पाउँदैनस् भन्ने धारणालार्इउल्ट्याउने दीर्घकालीन लक्ष्य प्रेरणादायी पनि छन् ।
बाहुनडाँडा जोन उड लार्इ पुस्तकालय स्थापनका लागि प्रेरणा दिने स्थानका बारेमा चर्चा गर्दै गर्दा उनले उल्लेख गरेको एक स्रोत व्यक्तिको भनाइ "म जिल्लाको स्रोत व्यक्ति हुँ तर मसँग स्रोत केही छैन ।"यसले हाम्रो शैक्षिक स्रोत र स्रोत व्यक्तिको काम स्रोत विहीनताको अवस्थामा भएको तथ्य उजागर गरेको छ । विभिन्न बैठकहरूमा हुने छलफल कसरी प्रभावकारी हुन सक्छन् भन्ने सम्मकाटीप्स सिक्न सकिन्छ उनको पुस्तकबाट । बैठकमा के ठिक भइरहेको छ भन्दा के बेठिक हुँदैछ भन्नेमा केन्द्रित हुने सल्लाह छ ।
गुनासोमात्र गरेर केही काम छैन त्यसको साटो चुनौती पूर्ण परिस्थितिहरूसँग भिज्दै र जुध्दै काम गर्नुपर्छ भन्ने सन्देश दिएका छन् जोनले पुस्तक मार्फत । जग बलियो भएपछि हामी आकाशतिर उठ्न त सक्ने नै भयौं भन्ने उनको भनाइले कुनै कुराको विकासमा पूर्वाधारको कति महत्व हुन्छ भन्ने जानकारी पाउन सकिन्छ । पछाडि फर्केर नहेर्ने उनको नीतिले वास्तवमा अगाडि मात्र बढ्न निकै सहयोग पुगेको देखिन्छ पुस्तक पढ्दै गर्दा । यतियति कारणले काम हुँदैन भन्नको सट्टा यी सबै कारणले काम बन्छ भन्नु पर्यो भन्ने उनको व्यवस्थापकीय र समस्या समाधानको पद्धति पनि गजबकै लाग्छ ।
परोपकार गर्ने भन्ने कुरा लार्इ अथवा भनौं परोपकारी संस्था भन्ने कुरामा एउटा फरक विचारले सोच्न बाध्य पार्छ जोनको पुस्तकले । परोपकारी भन्ने शब्दको अर्थ : कुनै निमुखो व्यक्ति वा व्यक्तिहरूलार्इ दिइएको कुनै चिजअर्थातभिख । यो अर्थकै कारण उनले आफ्नै संस्थालार्इ परोपकारी संस्था नभन्ने र कसैसँग सहयोग माग्दा दान वा चन्दा नभनेर लगानी भन्ने कुराले हामी एउटा फरक दृष्टीकोणको विकास गर्न सघाउ पुर्याउँछ । उनको "नोल्याण्डरोभरपोलिसी" पनि हामी जस्ता विकासशील मुलुकमा विकासेहरूलार्इ काम लाग्ने उदाहरण रहेको छ । कुनै देश र त्यसको भविष्यलार्इ ध्वस्त पार्नका लागि त्यहाको शैक्षिक प्रणालीलार्इ सिध्याए पुग्छ भन्ने हाम्रो कमजोर शैक्षिक प्रणाली भएका देशका लागि एक सन्देश पनि हुन सक्छ ।
समस्या समाधान गर्ने तरिकाका सम्बन्धमा निकै मजाको उदाहरण दिएका छन् जोनले, घाउमा लगाएको ब्यान्डेज उप्काउने दुइओटा उपाय छन् । दुख्ने गरी छिटो वा दुख्ने गरी ढिलो । आखिर दुख्ने पनि हो र ब्यान्डेज उप्काउने पनि हो । असफलताबाट पछि हटनु हुँदैन भन्दै उनले भन्छन् "उठने, धूलो टकटकाउने अनि फेरी मैदानमै जाने" । संस्थाको कार्य प्रभावकारीता सम्बन्धमा उनको अनुभव यस्तो छ : कामको उपयुक्त बाँडफाँड नभएसम्म कुनै पनि संस्था प्रभावकारी ढङ्गले चल्न सक्दैन । यस्ता थुप्रैप्रेरणादायी, उदाहरणीय र सान्दर्भिक तथ्यहरूलार्इ समेटेका छन् जोनले आफ्नो पुस्तकमा ।
साक्षर संसारतिर नामक पुस्तक प्रायजसो अफिस जाने बेला गाडीमा पढे मैले । एक दिन विद्यालय भवन निर्माणका लागि अथवा पुस्तकालय निर्माणका लागि स्रोतको खोजी गर्ने विभिन्न तरिकाको बारेमा जोनका कुरा पढ्दै गर्दा ग्वार्कोको जाममा गाडि रोकिएको थियो । अघि अघि शिक्षा विभाग र पछाडि उच्च माध्यामिक शिक्षा परिषदको गाडि थियो । शिक्षा विभागको गाडि बिग्रेका कारण २ दिनपछि मात्र चलेको थियो यसैबेला मैले कल्पना गरे : शिक्षा विभाग र उमाशिपका २ ओटा गाडी कोटेश्वर सातदोबाटो हुँदै कंलकी र गौशाला हुँदै कलंकी जान्छन् । साँझ कर्मचारी छोडनकंलकी आएका चार गाडी फर्केर सानोठिमीपुग्छन भने विहान फेरी कर्मचारी लिन उसैगरी सानोठिमीबाटकलंकीआउछन यसो गर्दा ४ ओटा गाडिले २ पटक खाली बाटोमा कुद्छन यसको साटो चारओटैगाडिलार्इ साँझ कलंकीमा राख्ने व्यवस्थामात्र हुन सके वर्षमा कति लाख बचत होला र त्यसबाट कति विद्यालय वा पुस्तकालय स्थापना गर्न सकिएला ।
सानोठिमिबाटै कलंकीका लागि उमाशिपका २ र विभागका २ गाडि छुटछन् । ती दुवै गाडीको क्षमता ३६ सीट रहेको छ । कहिलेकाँही कुनै एक संस्थाको गाडी विग्रदा वा नचल्दा दुवै गाडिका कर्मचारी एउटै गाडीमा पनि सानोठिमी पुगेर कलंकीआउछन् । यदि ४ वटा ३६ सिटै बसको साटो साझा बसको जत्रै आकारमा बनाउने हो भने तर एउटैले ७० जना कर्मचारी सजिलै सीटमै बोक्न सक्छ । यसो गर्दा २ ओटा गाडिको बचत हुने इन्धन, मर्मत खर्च र चालक खर्चले अरु कति ओटा विद्यालय भवन र पुस्तकालय बन्लान ?
केही गर्नका लागि स्रोत साधनको मात्र अभाव होइन । अभाव त केही गरौं न भन्ने सकारात्मक सोचको हो । यही निष्कर्ष निकाले मैले जोन उड को "साक्षर संसारतिर बाट" !
धन्यवाद ।
प्रतिक्रिया