Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

छानबिनपछि खुलासा - प्रश्नपत्र इमेल र फ्याक्सबाट

शुक्रबार, ०२ असार २०७४

काठमाडौ २ असार/ राष्ट्रिय परीक्षा बोर्डले दुई महिनाअघि लिएको १२ कक्षाको प्रश्नपत्र परीक्षा केन्द्रमा अभाव भएपछि गोपनीयताको ख्याल नगरी इमेल र फोटोकपी गरेर पठाएको पाइएको छ । शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रश्नपत्र अपुग भएपछि परीक्षा केन्द्रमा केन्द्राध्यक्षको इमेलमा पठाइएको पुष्टि गरेको हो । 
विद्यार्थीको संख्या यकिन नगरी परीक्षा केन्द्रमा प्रश्नपत्र पठाएपछि उपत्यकासहित मुलुकभर प्रश्नपत्र अभाव भएको थियो । ९ सय ९० परीक्षा केन्द्रमा ८२ हजार नौ सय ५५ प्रति प्रश्नपत्र अपुग भएको शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल संयोजक रहेको छानबिन समितिले औंल्याएको छ । 
१ सय ३९ परीक्षा केन्द्रमा इमेलबाट पठाइएको समितिले प्रतिवेदनमा औंल्याएको छ । ‘यसरी इमेलबाट पठाउँदा गोपनीयतामाथि प्रश्न उठ्न सक्छ र केन्द्राध्यक्षबाहेक अरूको इमेलमा प्रश्न पुग्यो भने बाहिर जान सक्ने अवस्था त्यतिकै खतरापूर्ण र संवेदनशील हुन सक्छ,’ प्रतिवेदनमा भनिएको छ । 
राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार प्रश्नपत्र केन्द्राध्यक्ष मात्र नभई प्रहरीको इमेलमा समेत पठाइएको छ । ‘बोर्डको क्षेत्रीय कार्यालय प्रमुखले सिफारिस गरेको व्यक्तिको इमेलमा पठाइएको हो,’ बोर्डका सदस्यसचिव डिल्ली रिमालले भने, ‘गोपनीयतामाथि प्रश्न उठ्ने सम्भावना थिएन ।’ छानबिन प्रतिवेदन तत्कालीन शिक्षामन्त्री धनीराम पौडेल र बोर्डका कार्यवाहक अध्यक्ष शिक्षा सचिव शान्तबहादुर श्रेष्ठलाई बुझाइए पनि सार्वजनिक भएको छैन । ‘छानबिन समितिले दिएको प्रतिवेदन अध्ययनको चरणमा छ । समितिले सिफारिस गरेअनुसार बोर्ड बैठकले निर्णय गर्नेछ,’ शिक्षा सचिव श्रेष्ठले भने, ‘गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं ।’ 
कक्षा १२ का ३ लाख ५३ हजार १२ विद्यार्थीका लागि १८ लाख ४० हजार ४ सय छपाइ गरेकामा १४ लाख ६७ हजार ३ सय ३० प्रति प्रश्नपत्र परीक्षा केन्द्रहरूमा पठाएको पाइएको छ । परीक्षा केन्द्रमा प्रश्नपत्र नपुग भएपछि जगेडामा राखिएको प्रश्नपत्रमध्येबाट काठमाडौं उपत्यकामा १४ हजार ८ सय र उपत्यकाबाहिर ६८ हजार १ सय ५५ प्रति प्रश्नपत्र पठाएको पाइएको छ । ‘यी सबै कार्यपश्चात् पनि बोर्डमा अझै २ लाख ९० हजार १ सय १५ प्रति प्रश्नपत्र मौज्दात रहेको अवस्था देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अनुमानित विद्यार्थीका आधारमा प्रश्नपत्र छपाएको देखिएकाले यस्तो हुने गरेको पाइयो । समयमै यकिन विद्यार्थी संख्या लिनसके आवश्यक संख्याको १० प्रतिशत बढी प्रश्नपत्र छपाइ गरे पुग्ने देखिन्छ ।’ 
विगतदेखि नै प्रश्नपत्र छपाइमा नियमित र आंशिक विद्यार्थी कति छन् भनेर यकिन नगरी हचुवाका भरमा प्रश्नपत्र छपाइ गरेर प्रश्नपत्र केन्द्रमा पठाउने गरेको यो तथ्यले बोर्डको कमजोरी सार्वजनिक भएको छ । गत वर्षका विद्यार्थीलाई आधार मानेर काम गर्ने गरेको पाइएको छ । परीक्षामा तथ्यांकहरू क्रस भेरिफिकेसन गर्ने प्रणाली अवलम्बन गर्ने गरेको देखिँदैन । 
क्षेत्रीय कार्यालयबाट आएको तथ्यांकमा कुनै त्रुटि भए त्यसलाई सच्याउने र भेरिफिकेसन गर्ने प्रणालीसमेत भएको देखिँदैन । आवश्यक पर्ने प्रश्नपत्रभन्दा २३ प्रतिशत बढी प्रश्नपत्र तयारी गरी खामबन्दी गरे पनि परीक्षा केन्द्रमा कति प्रश्नपत्र पठाइयो ? कति बाँकी छ ? भन्ने तुलनात्मक तालिकासमेत नभएको प्रतिवेदनमा आंैल्याइएको छ । ‘प्रश्नपत्र छपाइ गर्न जाने नियन्त्रकलगायत गोप्यमा खट्ने कुनै कर्मचारीले तयार भएको प्रश्नमध्ये यति ठूलो संख्यामा किन बाँकी रह्यो भन्नेतर्फ समेत ध्यान पुर्‍याउन सकेको पाइएन,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रश्नपत्र अपुग भएपछि केन्द्रबाट अनुगमनमा जानुपर्ने कर्मचारी खटाएर प्रश्नपत्र पुर्‍याउने, सम्बन्धित केन्द्रलाई फोटोकपी गरी प्रयोग गर्न लगाउने र प्रश्नपत्र नै नभएका स्थानमा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाएर तत्कालीन समस्या समाधान गरेको देखिन्छ ।’ अपुग प्रश्नपत्र पुर्‍याउन ४१ जना कर्मचारी परिचालन गरिएको थियो । उनीहरूले २ लाख ९४ हजार रुपैयाँ पेस्की लिएका छन् । ‘क्षेत्रीय कार्यालयबाट परीक्षा केन्द्रसम्म प्रश्न पठाउँदा तथा फोटोकपी गर्दा के कति आर्थिक दायित्व सिर्जना भयो भन्ने विवरण प्रतिवेदनमा समावेश गरिएको छैन । 
कम्प्युटर शाखाका प्रमुख इन्जिनियर गोविन्द पाण्डेले विद्यार्थीको डाटा फिल्टर नगरी प्रश्नको लेजर तयार गर्दा नियमित र आंशिक विद्यार्थी दुवैको विवरण हुनुपर्नेमा नियमितको मात्र डाटा प्रिन्ट गरी प्रश्नपत्र प्याकिङमा पठाएको देखिएको समितिका एक सदस्यले बताए । उनले दिएको तथ्यांकको अरू कसैले थप रुजु नगर्दा यस्तो समस्या देखिएको समितिले जनाएको छ । 

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया