भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार विहानै सार्वजनिक हुँदै छ । बिहीबार दिनभरी त्रुटि सच्याउने लगायतका नतिजा सार्वजनिक गर्नु अघि पुरा गर्नु पर्ने अन्तिम चरणका काम सकिए पछि शुक्रबार विहानै नतिजा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नतिजा सार्वजनिक गर्नु अघि शुक्रबार विहान ९ बजेका लागि बोर्ड बैठक डाकिएको छ ।
विगत बर्षहरुमा जस्तै यस बर्ष पनि कक्षा १० को अन्तिम परीक्षाको नतिजा एडुखबरमा प्रकाशित हुने छ । परीक्षा नियन्त्रण कार्यालय र एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाबिच नतिजा प्रकाशन सम्बन्धि सम्झौता भईसकेको छ ।
यस बर्ष पनि गत बर्षबाट शुरु भएको ग्रेडिङ्कै आधारमा नतिजा सार्वजनिक हुने छ । गत बर्ष शिक्षा ऐनमा भएको संशोधन पश्चात साविकको एसएलसी परीक्षाको नाम परिवर्तन गरेर कक्षा १० को अन्तिम परीक्षालाई एसईई नामाकरण गरिएको हो ।
ऐनले कक्षा १२ सम्मलाई विद्यालय तहका रुपमा ब्यवस्था गरेपछि उक्त परिवर्तन भएको हो । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने संशोधित ऐनमा ब्यवस्था छ ।
यस बर्ष एसईई परीक्षामा सहभागि हुन कूल ५ लाख ३८ हजार १ सय ८२ विद्यार्थीले फारम भरेका थिए । यी मध्ये २ लाख ५९ हजार ७ सय ३२ छात्र तथा २ लाख ७८ हजार ४ सय ५० छात्रा छन् । परीक्षामा देशभरका ९ हजार ८ सय ३४ विद्यालयका नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ तथा प्राविधिक धारतर्फका ३ हजार ६ सय ५७ परीक्षार्थी सम्मिलित रहेको कार्यालयले जनाएको छ । परीक्षामा आंशिकतर्फ ५० हजार ८ सय २७ र एक्जाम्टेडतर्फ १८ हजार ९ सय ९ विद्यार्थी सहभागि छन् ।
प्रतिक्रिया