Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

कर्मचारी र छात्रछात्रा सम्मानित

विहीबार, ०१ असार २०७४

काठमाडौं १ असार/नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस वाल्मीकि विद्यापीठको ६५ औँ वार्षिकोत्सवको अवसरमा लामो समयसम्म विद्यापीठमा योगदान गर्ने कर्मचारीहरू सीता गौतम र बलराम अर्याल तथा विभिन्न विषयमा सर्वाेत्कृष्ट स्थान प्राप्त गर्ने छात्रछात्राहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । अतिरिक्त क्रियाकलापमा विजयी हुनेहरूलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाले संस्कृत विश्वविद्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । संस्कृत छात्रावासका सुपरीवेक्षक अर्जुनबाबु दाहालले विद्यार्थीहरूलाई किताबी ज्ञान दिएर मात्र नपुग्ने बताए । अतिरिक्त क्रियाकलापले विद्यार्थीमा ऊर्जा थपिने उनको तर्क थियो ।

संस्कृत विश्वविद्यालय अनुसन्धान विभागका निर्देशक डा. काशीनाथ न्यौपानेले संस्कृत विद्वान्को युरोप तथा अमेरिकाजस्ता विकसित मुलुकमा व्यापक माग रहेको बताए । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति नवराज कट्टेलले विश्वविद्यालयका प्राध्यापकहरू तहगत रूपमा विशिष्ट श्रेणीमा पर्ने भए पनि व्यावहारिक रूपमा सधैँ उपेक्षित बन्नुपरेको गुनासो गरे ।

वाल्मीकि विद्यापीठका प्रमुख गणेशप्रसाद घिमिरेले काम गर्न खोज्ने मानिसलाई सबैले साथ दिन्छन् भन्ने प्रमाणको रूपमा कार्यक्रमलाई लिएको बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया