Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

हाम्रो विद्यालयमा राम्रो पुस्तकालय

विहीबार, २२ माघ २०७१

- दिपेश घिमिरे / मलाई विद्यालय जीवनमा अध्यापन गर्नुहुने शिक्षक चन्द्रसिंह धामीसँग गत साता भेट भयो । छोटो भेटघाटमा उहाँले मेरो शैक्षिक उन्नती र लेखनको बारेमा चासो र खुसी व्यक्त गर्नुभयो ।

‘गाउँको विद्यालयमा पढेर उच्च शिक्षामा तिमीले गरेको प्रगती प्रशंनीय छ’ उहाँले खुसी हुदै भन्नुभयो, ‘तिमीले बालपन विताएको विद्यालयमा हामीले शैक्षिक व्यवस्थापनमा फड्को मारेका छौँ, तर एउटा काम भने अझै गर्न सकिएको छैन ।’

त्यो के हो सर ? मैले सोधेँ ।

पुस्तकालय !

...

दुर्गम जिल्लाको दुर्गम गाउँमा विद्यालय जीवन विताउँदा जीवनका लागि केहि सकारात्मक कुरा हुदाँ रहेछन् । पहिलो त प्रकृतिसँग नजिकको सम्बन्ध हुने । दोस्रो, संघर्ष गर्न सिकिन्छ, किनकी विद्यालय पुग्नु अझ नियमित समयमै विद्यालय पुग्न एउटा बालकले कम संघर्ष गर्नुपर्दैन गाउँघरमा । विहान गाईबाख्रालाई घाँसपात, गोठ, भकारो र पनि विद्यालय ।

यो संगै जीवनमा दिर्घकालिन प्रभाव पार्ने कुरा पनि भोग्नु पर्छ गाउँको विद्यालयमा पढ्ने हरेक विद्यार्थीले । त्यो भनेको कोर्सका किताब मात्रै पढ्दा पुग्ने । शिक्षकले पनि बाहिरी दुनियाँका किताब नपढ्ने, विद्यार्थीको पहुँचमा त त्यस्ता किताब नै नहुने । यहि अवस्थाबाट  मेरो स्कुले जीवन वितेको थियो – रामेछापको वावियाखर्क स्थित श्री शारदा संस्कृत माध्यामिक विद्यालयबाट । 

म अलिकति फरक भाग्यमानी भएँ । कार्यालयमा फाल्न ठिक्क पारेको पत्रिका बुवाले नियमित रुपमा घरमा ल्याईदिनु हुन्थ्यो । कोर्सका किताब भन्दा बाहिर पनि पढ्ने कुरा हुन्छ भन्ने मैले तिनै पत्रिकाका मसिना अक्षर पढेर थाह पाएको थिएँ । कक्षा आठसम्म सो विद्यालयमा अध्ययन गर्दा मैले त्यहि गोरखापत्रका पानाहरुबाट धेरै कुराको ज्ञान हासिल गरेको थिएँ । त्यसकै आधारमा म अरु भन्दा बढि ‘आउट नलेज’ राख्ने विद्यार्थी कहलिएको थिएँ, नियमित रेडियो सुन्ने बानी त छदैँ थियो ।

कक्षा आठ पास गर्ने वित्तिकै म जिल्ला सदरमुकाम स्थित तत्कालीन श्री महेन्द्रोदय उच्च माध्यामिक विद्यालयमा पुगेँ । सो विद्यालय मेरो गाउँको भन्दा फरक थियो । तुलनात्मक रुपमा ठुला भवन र धेरै शिक्षकहरुले भरिएको थियो विद्यालय । नियमित पढाई हुन्थ्यो । यद्यपी यस विद्यालयमा पनि पुस्तकालय थिएन । कोर्स भन्दा बाहिरका एउटा पनि पुस्तक सो विद्यालयमा पनि थिएन । कक्षा नौ देखि कक्षा १२ सम्म मैले यहि विद्यालयमा विताएँ । यत्रो समयमा मैले पुस्तकालयलाई नजिकबाट देख्न पाईन । एउटा पुस्तक पनि हाम्रो विद्यालयको पुस्तकालयमा थिएन । जसले गर्दा जीवनको अत्यन्त महत्वपूर्ण र सुन्दर तथा सृजनशील समयमा कोर्सका पुस्तक भन्दा बाहिरको संसार मैले अनुभव गर्न पाईन । यद्यपी सदरमुकाममा बस्न थालेपछि मेरो वाहिरी पुस्तकहरुसँगको लगाब भने झाँगिदै गयो ।

अहिले पछाडी फर्केर हेर्दा जीवनमा मलाई स्कुले जीवन प्रति अत्यन्तै खुसी लाग्छ । मेरा बचपनका साथी, मेरा शिक्षक, मेरो परिवार, मलाई सहयोग गर्ने अन्य सहृदयी मनहरु । सब सम्झदा खुसी लाग्छ । मेरो विद्यालय जीवनको रोचक र रोमाञ्चक दिनहरु सम्झिए भने अहिले पनि मुहार उज्यालो हुन्छ । तर मलाई एउटै कुरा खड्किन्छ त्यो हो पुस्तकालय । चन्द्र सरसँगको भेटले फेरी मलाई विद्यालय, विद्यार्थी र उनीहरुलाई पुस्तकालयको आवश्यकताका बारेमा फेरी झक्झक्यायो ।

दुनियाँलाई बुझ्न मात्र होईन दुनियाँमा आफ्नो ज्ञानको गहिराई नाप्न मात्र पनि होईन त्यो गहिराईलाई अझ बढाउन, ज्ञानको क्षितिजलाई थप विस्तार गर्न, सकारात्मक सोच्न, आफ्नो भविष्यको क्षेत्र पहिचान गर्न, सम्बन्ध राख्न, सम्बन्ध टिकाउन, अगाडी बढ्न र अगाडी बढ्ने साहाराको खोजी गर्न, हर काम गर्न, हर कुरा सोच्न र हर कुराको निर्णय लिन सक्ने सामथ्र्यवान त्यहि पुस्तकले बनाउँछ । तर, पुस्तकालयको अभावमा यस्ता सारा सम्भावना भन्दा बाहिरबाट जीवनको उर्जाशिल समय वित्यो, मेरो मात्रै हैन मेरा गाउँ जस्ता गाउँमा पढ्ने नजाने कति पुस्ताले यो समस्या भोगे, अबका कति पुस्ताले भोग्छन् । 

स्कुले जीवनमा पढेका नैतिक शिक्षाका कथाहरु, राजकुमार दिक्पालका कथाहरु, कवि शिरोमणी लेखनाथ पौड्यालका कविताहरु सब कुराले जीवनमा अर्थ राखेका छन् । यस्ता कथा, कविता, निवन्ध, जीवनी, सफलताका कथाहरु कोर्समा राखिए जस्तो सीमित होईन असिमित रुपमा पढ्न पाएको भए मेरो जीवन कस्तो हुन्थ्यो होला ?

विदाका दिनभर तामाकोशीमा पौडी खेलेर विताईयो । यदि ति दिन पुस्तकालयमा विताउँन पाएको भए ? के हुन्थ्यो होला हाम्रो जीवन ? हामी कति ठुला सपना देख्थ्यौँ होला ? ति सपना पुरा गर्न हामी कति धेरै थप मेहनत गथ्र्यौँ होला ? सोच्दा मात्रै पनि मज्जा आउँछ ।

मन्थली छाडेपछि मैले आफ्नो पढाईलाई थप निरन्तरता दिईरहेँ । देश विदेशका विभिन्न कलेज तथा विश्वविद्यालयमा पुगेँ । देखेँ । शैक्षिक दुनियाँलाई नजिकबाट अनुभव गरेँ । जुन देशका जुन विश्वविद्यालयको शैक्षिक अवस्था राम्रो छ, त्यहाँ राम्रो पुस्तकालय छ । जहाँका विद्यार्थीहरु संसारभर प्रतिष्पर्धामा उत्रिन सक्छन् उनीहरुले आफ्नो विद्यार्थी जीवन राम्रो पुस्तकालयमा विताउन पाएका छन् । पुस्तक, पुस्तक अनि पुस्तककै साहारामा उनीहरुले आफ्नो जीवनलाई अरुको भन्दा फरक बनाए ।
जव मैले यस तथ्यलाई नजिकबाट देखेँ र अनुभव गरेँ त्यसपछि मैले पुस्तक पढ्न मात्र थालिन संकलन गर्न पनि थालेँ । जुन पुस्तक मलाई मन पर्छ वा आफ्नो विषयसँग सम्बन्धित हो जस्तो लाग्छ त्यसलाई पढ्ने मात्र होईन संकलन पनि गर्न थालेँ । अहिले मेरो कोठामा सानो तिनो पुस्तकालय बनेको छ । हरेक साँझ र विहान म तिनै पुस्तकहरुमा घेरीएर बस्दा आफुलाई सुरक्षित र शसक्त अनुभव गर्दछु । पुस्तकमा जादु छ भन्ने अनुभव गर्दछु ।

यो मेरो अनुभव मात्र हो । थोरै व्यक्तिले मात्र यस्तो अनुभव गरेर समग्र शिक्षाको रुपान्तरण र प्रगति हुन सक्दैन । यसको लागि त हाम्रा विद्यालय तहमा अध्ययन गर्ने साना साना भाईवहिनीहरुले पनि अनुभव गर्न पाउनु पर्दछ । त्यसको लागि विद्यालयहरुमा राम्रो पुस्तकालय आवश्यक छ । जोन उडले पनि यो अनुभव गरे र रुम टु रिड संस्था खोले । उनको पुस्तक लिभिंग माईक्रोसफ्ट पढ्दा यसलाइ नजिकबाट बुझ्न सकिन्छ । जसले पुस्तकमा शक्ति देखे तिनीहरुले आफ्नो जीवनलाई परिवर्तन गरे । रुपान्तरण गरे । र त रत्नाकर वाल्मिकी वने । सबै कुराको शक्ति पुस्तक नै हो ।

...

चन्द्र सर ! तपाईले भन्नु भएको समस्यामा मैले धेरै सोचेँ । र एउटा निष्कर्ष निकाले हाम्रो विद्यालयमा राम्रो पुस्तकालय ।

यो अभियान अब सुरु हुनेछ । यो अभियानले हाम्रो आउँदो पुस्ताका साना भाई वहिनीहरुको कोर्स भन्दा बाहिरका पुस्तकहरुमा पनि पहुँच बढाउन सकिनेछ । पुस्तककै कारणले हामी आज यहाँ छौ । त्यहि पुस्तकलाई संकलन गर्ने र अध्ययन गर्ने वातावरण दिने पुस्तकालय बनाउने जिम्मेवारी हाम्रै हो । यो जिम्मेवारी एक्लै होईन सामुहिक रुपमा पुरा गर्नेछौँ ।

खास कुनै श्रोतको जोगाड भएको त छैन, तर भोगाईले चिनाएको आवश्यकता र आवश्यकता पुरा गर्ने उर्जालाई सामुहिक पहलमा रुपान्तरण गर्ने सोच पुरा भयो भने, विद्यालयमा राम्रो पुस्तकालय बनाउने अभियान पक्कै पुरा हुने छ । 

[email protected]

 (घिमिरेले त्रिविबाट समाजशास्त्रमा एमफिल गरेका छन्) 

प्रतिक्रिया