घटना : १
निर्मल लामा (परिवर्तित नाम) भक्तपुरको राम मन्दिर स्थित शान्ति निकेतन माविको कक्षा ९ मा पढ्छन् । चार बजे स्कुल छुट्टी हुन्छ । छुट्टि भएपछि निर्मल आमा फूलमायासँग सूर्यविनायक चोकमा जान्छन्, ‘अरु साथीहरु होमवर्क गर्न जान्छन् म भने तरकारी बेच्न जान्छु ।’ उनले निन्याउरो मुख लाउँदै भने । बुबा सँधै जाँड खाएर आउने र घरमा साह्रै दुःख दिने गुनासो गर्दै निर्मलले आमाले नै घरका सम्पूर्ण जिम्मेवारी सम्हालिरहेको व्यथा पोखे । ‘आमा कालिमाटीबाट तरकारी ल्याउनु हुन्छ । उहाँको दुःख देख्न नसकेर सघाउन जान्छु’ उनले त्यसो भनिरहँदा उनको आँखाको डिलबाट आँसु खस्नै लागेको थियो ।
‘आमालाई सघाउँदा, सघाउँदै कहिलेकाहिँ त होमवर्क नै गर्न भ्याउँदिन ।’ उनी भन्छन् ।
उनलाई निक्कै पढ्ने मन छ तर पढ्ने भए पनि समयको अभाव, बुवाको ‘त्यो पारा’ ले पढ्न सकेका छैनन् उनले । ‘टेन्सन बोकेर स्कुल जान्छु, कक्षामा बस्दा पनि घरी बुवाको, घरी आमाको याद आउँछ, पढाइतिर चाहेर पनि ध्यान जाँदैन,’ उनले आफ्नो पीडा सुनाए, ‘ त्यही भएर धेरैजसो शिक्षकहरूको कक्षामै गाली पनि खानुपर्छ मैले ।’
घटना : २
हतारिँदै ११ बजे सुभा बराल (परिवर्तित नाम) स्कुलको गेटभित्र छिरिन् । उनको मुटु जोडले ढुकढुक गर्दै थियो । उनी दौडेर आएकीले ढुकढुक भएको त थाहा हुन्थ्यो तर ऊ भित्रको पीडा बेग्लै थियो । डराई– डराई गेटभित्र छिरिन् चोरजस्तै कसैले देख्लान् भनेर । भित्र छिरेर जानमात्र के लागेकी थिइन् पछाडिबाट कोही कराएको आवाज आयो, ‘ए नानु पख त !’
सुभा त्यहीँ रोकिइन् ।
पछाडि हेर्ने उनले आँट नै गरिनन् । मुटुको ढुकढुकीलाई समाल्ने प्रयास गर्दै उनी पछाडी फर्किन् र निहुरिएर बसिन् ।
परको व्यक्ति उनको सामुन्ने भएपछि मात्र उनले चिनिन् उनी त हेडसर पो रहेछन् !
‘किन ढिला आएको ? तिम्रो कक्षा ९ बजेबाट सुरु हुन्छ भन्ने कुरा बिर्सियौ ? कक्षा १० मा पढ्नेले पनि यसरी ढिला विद्यालय आउने हो ?’
सरको प्रश्नले उनले आफ्नो मन थाम्न सकिनन् र आँखाबाट आँसु झार्दै भनिन्, ‘सर मालिकले १० बजेसम्म काम गरेन भने जानै दिँदैनन् अनि कसरी विद्यालय आउनु त । आज त खाना पनि खान भ्याइन, त्यसै हतारमा आएँ ।’
त्यति भनिसकेर उनी रुन थाली । उनको व्यथा सुनेर उनका प्रधानाध्यापकको अनुहार पनि अमिलो देखियो ।
कोटेश्वर स्थित कोटेश्वर सरस्वती माविका प्रधानाध्यापक पुष्पलाल कुंवर भन्छन्, ‘विद्यार्थी समयमा आउँदैनन्,सामुदायिक विद्यालयको नतिजा खस्किनुको मुख्य कारण यही हो ।’
........................................
राजधानीकै दुईवटा सामुदायिक विद्यालयका यी घटना देशभरका सामुदायिक विद्यालयमा भेटिने विद्यार्थीको प्रतिनिधि भोगाइ र वास्तविकता हुन् ।
‘पराइको घरमा काम गर्दै पढ्न निक्कै समस्या छ, कहिले के, कहिले के भनेर दुःख दिन्छन् ।’ आफूलाई दिक्क लागेको बताउँछिन् आरोही ।
अरुको घरमा घरेलु मजदुर भएर बाँच्नुपर्दा, त्यो परिचयबाट विद्यालयमा आउनुपर्दाको पीडा सुनाउन समस्या छ ।
यो पृष्ठभूमिबाट आएका विद्यार्थीले आफूलाई परेको समस्या पनि खासै खुलेर बताउन नसक्ने अनुभव छ, प्रअ कुँवरको । सोही कारण विद्यालयले त्यस्ता विद्यार्थीको लागि भनेर छुट्टै मनोपरामर्श पनि दिने गरे पनि समस्यामा खासै कमी भने भएको छैन ।
निजी विद्यालयमा जस्तो चिटिक्क परेको सफा ड्रेस र टिलिक्क टल्काइएका जुत्तामा आउँदैनन् सामुदायिक स्कुलमा आउने विद्यार्थी ।
अधिकांश सामुदायिक विद्यालयहरुमा त गृहकार्य नगर्ने, कापी कलम नै नहुने, एसेम्ब्लीमा नबस्ने, विद्यालय आउन पनि घरको सबै काम सकाएर आउनुपर्ने, गाला फुस्रो, कपाल जिङ्ग्रिङ्ग परेको, नाकभरी सिंगानको पाप्रा भएका’ वा भनौं गरिबीले उठ्नै नसकेका पारिवारिक पृष्ठभूमिका बालबालिकाहरु पढ्न आउँछन् ।
‘अभावै–अभावमा बाँँचेका परिवारका सन्तानलाई हामी पढाइरहेका छौं ।’ हामी कस्ता विद्यार्थीलाई पढाइरहेका छौं भन्ने प्रश्न भुइँमा खस्न नपाउँदै शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले एकै वाक्यमा भने ।
यस्ता थुपै्र उदाहरणहरु सामुदायिक विद्यालयहरुका प्रत्येक कक्षाकक्षामा भेटिन्छन् । सामुदायिक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी आर्थिक समस्यामा पर्ने गरेका छन् ।
‘कोही शिक्षकको अाँखा छल्दै चप्पलमा नै विद्यालय आउँछन्, कोही भने विभिन्न बहाना गर्दै ड्रेस नै नलगाई विद्यालय आउँछन्’, प्रअ कुँवरले भने ।
उनले आफ्नो विद्यालयमा पढिरहेका धेरै विद्यार्थीका बुबाआमा बालुवा चाल्ने, गिट्टि कुट्ने, भारी बोक्ने, गलैचा बुन्ने, इँटा बनाउने पृष्ठभूमिका भएको बताए । ‘आफ्नो रोजीरोटीमै बढी समय दिनुपर्ने कारणले छोराछोरीलाई समय दिन पाउँदैनन् अभिभावकहरु ।’ उनको भनाइ छ ।
घरायसी समस्याले गर्दा धेरैले पढाइलाई दोस्रो प्राथमिकतामा राख्ने गरेको शिक्षकहरु बताउँछन् ।
देशको संरचनानै परिवर्तन हुने गरी राजनीतिक परिवर्तन भयो । तर सामुदायिक विद्यालयको अवस्था दिन दिनै खस्कदोँ छ । अर्थात् देशमा सामुदायिक र निजीशिक्षा भनेर दूई वर्गको शैक्षिक वातावरण सञ्चालन भईरहेको छ । समाजशास्त्री डा. मुक्ति रिजाल यसले सामाजिक रुपमै विभेद सृजना गरेको बताउँछन् । मेरा सन्तान सामुदायिक विद्यालयमा पढ्छन् भन्दा अभिभावकमा हिन भाव विकास हुने वातावरण भन्दै गरेको उनको विश्लेषण छ ।
‘शिक्षा किनबेच गर्ने बस्तु हो की, सार्वजनिक मूल्यका रुपमा राख्ने हो ? यी दुईवटा कुरामै आधारभूत रुपमा ब्याख्या र ब्यवस्था गर्नु पर्यो, उनी भन्छन्, जब सम्म यस्ता कुरा स्पष्ट हुँदैन यसले धनी र गरीवका रुपमा विद्यार्थीको मानसिकतामै प्रभाव परेको छ ।’
सामुदायिक विद्यालयमा हुने लगानी भौतिक सँरचनामा केन्द्रित हुने तर सामाजिक मूल्य मान्यता र सार्वजनिक शिक्षाका बारेमा विस्तृत जानकारी दिन नसक्दा अहिलेको अवस्था आएको विश्लेषण छ बालबालिका र शिक्षाको क्षेत्रमा कृयाशिल डा. सुमन कोमल तुलाधरको । यस्ता सामाजिक मान्यता अहिलेको चुनौती भएकोले यसलाई कसरी चिर्ने भन्ने कुराबाट सामुदायिक शिक्षा सुधारको काम शुरु गर्नु पर्ने उनको ठहर छ ।
नयाँ संविधानले शिक्षालाई अधिकारका रुपमा ब्यवस्था गरेको छ । नीतिगत कुरा त एउटा मुख्य पक्ष हो नै । तर बदलिदोँ सामाजिक परिवेशलाई ध्यान नदिने हो भने सामुदायिक शिक्षाको सुदृढिकरणको काम थप जटिल मोडमा पुग्ने पक्का छ ।
(रेडियो कार्यक्रम हाम्रो शिक्षामा समाबेश भएका विषय बस्तुका आधारमा तयार : सार्वजनिक शिक्षाको अवस्था, यसका चुनौती र देशको संरचना परिवर्तनसँगै अघिल्तिर आएका अवसरका बारेमा चर्चा गर्न रेडियो कार्यक्रम हाम्रो शिक्षा शुरु गरिएको हो । एक्सन एड नेपालको सहयोगमा भमगपजबदबच।अयm ले तयार पारेको यो कार्यक्रम हरेक मंगलबार विहान साढे सात बजे प्रदेश नम्बर ७ मा कैलाली स्थित रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्ज धनगढी, र डोटी स्थित रेडियो डोटी ९८.५ मेघाहर्ज तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्जबाट हरेक मंगलबार विहान ८ बजे प्रशारण हुन्छ । यसका साथै www.edukhabar.com तथा एण्ड्रेईड एप Edunepal बाट पनि यो कार्यक्रम सुन्न सकिन्छ ।)
कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : Episode 003_Hamro Sikshya
प्रतिक्रिया