स्थानीय निकायको निर्वाचन हुँदै गर्दा सत्ता राजनीतिमा भएको फेरबदलले शिक्षा मन्त्रालयको नेतृत्व माओवादीबाट कांग्रेसमा सरेको छ । सामाजिक सञ्जाल र पत्रपत्रिकाहरूमा नयाँ मन्त्रीका विषयले स्थान पाएका छन् । कसैले नयाँ शिक्षा मन्त्रीबाट सामुदायिक शिक्षाको सुधार हुन्छ भन्दै तर्क गरेका छन् त कसैले व्यापारीकरण झनै बढ्ने छ भन्ने अड्कलबाजी पनि गरिरहेका छन् । नयाँ मन्त्रीसँगै पुराना मन्त्रीको पनि चर्चाको कमी छैन, बजारमा खासगरी शिक्षा नियमावलीसँग जोडेर ।
बहस र चर्चाको विषय फेरिएका नयाँ र पुराना मन्त्रीको मात्र होइन, शिक्षाको बजेटले पनि शैक्षिक जगतमा त्यतिकै चर्चा पाएको छ । घट्दो बजेटको मात्राले शिक्षामा सुधार हुँदैन भन्ने तर्कहरू पेस भईरहँदा विगतमा बढेका बजेटले पनि सुधार गरेको थिएन है भन्ने विपरित विचारहरू पनि सुन्न र पढ्न पाइन्छ । बजेटको मात्रा भन्दा बजेटको दक्षतापूर्वक गरिने कार्यान्वयन महत्वपूर्ण विषय भएको विर्सनु पनि हुँदैन । एकातिर संविधानको अनुसूची ८ अनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको भएकाले अब शिक्षामा केन्द्रीकरण सकियो भन्ने विषय त्यसैगरी उठेका छन् भने अर्कातिर यो साझा अधिकारमा पनि भएकाले स्थानीयमा मात्र छोड्नु हुँदैन भन्ने पनि छ । स्थानीयलाई मात्र दियो भने त झनै विग्रन्छ । नियन्त्रण र नियमन त केन्द्रीय चाहिन्छ भन्ने आवाजहरू बलियो गरी उठेका छन् र त्यतातिरै जाँदै गरेको हो कि भन्ने आभास मिल्दैछ ।
शिक्षा कार्यालय रहने कि नरहने ? रहने भए अब त्यसको काम के हुन्छ ? भन्दै गर्दा शिक्षा कार्यालय रहने भन्ने समाचार आएको छ । शिक्षकको तलब भत्ता त स्थानीय तहमा गएपछि शिक्षा कार्यालयको काम के हुने रहेछ खै ? भन्ने पनि चिया गफको विषयमा सुनिन्छ । अन्तिम जिशिअ भन्ने फेसबुकका स्टाटस पनि पढ्न पाइन्छ । नगरपालिकामा नगर शिक्षा अधिकारी र गाउँपालिकामा गाउँ शिक्षा अधिकारी रहने भन्ने पनि सुनिन्छ । शिक्षाका अधिकारीसँग प्रशासनका कार्यकारी अधिकृतको वरिष्ठता के हुने भन्ने पनि सवाल उठेको छ । शिक्षाको अलग्गै कार्यालय÷शाखा के रहने हो भन्ने पनि अन्यौलमा रहेको देखिन्छ । चासो र चिन्ताका विभिन्न क्षेत्र हेर्दा शिक्षामन्त्री, शिक्षा सचिव र कतिपय शिक्षाविद्लाई कक्षाकोठामा पढाई नभएको चिन्ता छ तर कक्षाका शिक्षकलाई नियमावली पारीत नभएको चिन्ता देखिन्छ ।
यस्ता चर्चाका र छलफलका विषय त धेरै होलान । दिनदिनै नयाँ नयाँ पनि आउलान तर कक्षाकोठाको सिकाइ, विद्यालयको प्रभावकारीता, शिक्षण सिकाइको सुधार, शैक्षिक सेवाप्रवाहको प्रभावकारीता र समग्र सामुदायिक शिक्षाको अवस्थाले यी सधैँ चर्चामा आइरहने विषयलाई जिस्काइरहेको अनभूति हुन्छ मलाई । सहरमा यस्ता ठूला ठूला विषयको चर्चा भइरहँदा पङ्तिकार भने गाउँतिर विभिन्न विद्यालयको भ्रमणमा निस्केको छु । अनि गन्थन मन्थन गर्दैछु, यी विषय कसरी सम्बोधन गर्ने ? यस्ता विषय स्थानीय सरकारको प्राथमिकतामा पर्लान कि नर्पलान खैँ ? स्थानीय सरकारका प्राथमिकता के हुने होलान ? सामुदायिक शिक्षाको सुधार कहिले होला ? कसले गरिदेला ? आदि आदि । मैले यसरी नै लेखेर पनि के हुने होला र ? फेरी नलेखेरै पनि त केही नहोला ? यस्तै अलमलमा पर्दै जस्तो देखे त्यस्तै लेखेको छु ।
सदरमुकामबाट आधा घण्टाको पैदल दुरीमा छ विद्यालय । अधिकांश शिक्षकहरूको बसाइ सदरमुकाममै छ । तैपनि म एक्लै विद्यालय गए । म सिधै कार्यालय कक्षमा पसे । कार्यालय सहयोगीसँग परिचय गरे । विद्यालयमा को को हुनुहुन्छ सोधे । प्रधानाध्यापक विद्यालयकै कामले सदरमुकाम जानुभएको छ । दुई जना शिक्षक तालिममा जानुभएको छ । एकजना शिक्षक काठमाण्डौ जानुभएको छ । एकजना विरामी हुनुहुन्छ । कार्यालय सहयोगीले सासै नरोकी मलाई सुनाउनुभयो । मैले सबै कक्षा देखाइदिन आग्रह गरे । बालकक्षादेखि कक्षा दशसम्म वहाँले देखाउनुभयो ।
(क) म नमस्कार भन्दै बालकक्षामा गए । सहयोगी कार्यकर्ता भुईँमा बसेर केही मिलाउँदै हुनुहुन्छ । कति जना बालबालिका ? छ जना थिए, आज एकजना मात्र आएको थियो वाहिर गएको छ । म कक्षा एकमा जादैछु । अनि किन कक्षा एकमा जान लाग्नुभएको ? दोस्रो घण्टी कक्षा १ खाली हुने भएकाले म जान लागेको । बालकक्षादेखि कक्षा एकमा जाँदै गर्दा बाटैमा सोधे बालकक्षामा के के गराउनुहुन्छ ? क, ख, १, २, A, B, C, D कहिलेकाँही गीत, कथा सुनाउँछु । सिकाइ कुना, थेमाटिक सिकाइका कुरा पनि हुन्छन् होइन र ? हुन त हुन्छन्, तालिममा पनि सिकेको तर यहाँ त त्यस्तो खासै गरिदैन, पढाउने, खेलाउने गर्छु ।
(ख) हामी सँगै कक्षा एकमा गयौँ । कक्षा १ मा शिक्षिकाले ३ जना विद्यार्थीलाई पढाउँदै हुनुहुन्छ । जम्मा कतिजना विद्यार्थी हुन ? छ जना हुन् आज तीन जना मात्र छन् । के पढाउँदै हुनुहुन्छ ? नेपाली । अनि क, ख चिनेका छन् ? क मात्र चिनेका छन् । बालकक्षामा पनि क, ख पढाउने गरेको भन्नुभयो । अनि शैक्षिक सत्र शुरु भएको पनि २ महिना भयो क बाहेक अरु जान्दैनन् ? नियमित आउँदैनन, आएर पनि ध्यान दिदैनन् । गृहकार्य पनि गर्दैनन् । जानेको छैनन् । साना बालबालिकाले गृहकार्य नगरे पनि के भयो र ? क, ख चिनाउने त हामीले नै हो नि ? होइन र ? सामग्री केही छैन, अभिभावकले ध्यानै दिदैनन् । म धेरै सवाल जवाफ गर्न चाहिन, कक्षा एकबाट बाहिरिए ।
(ग) म कक्षा २ मा गए । हिन्दु अरेविक र रोमन सङ्ख्याको पढाइ हुँदै थियो । कक्षामा ७ जनामध्ये ३ जना विद्यार्थी उपस्थित छन् । सेतो पाटीमा शिक्षकले १ देखि ५ सम्मको तालिका बनाउनु भएको छ । कक्षा सकिएको घण्टी लाग्यो । मैले शिक्षकसँग अनुमति लिएर वहाँले बोर्डमा लेखेको कुरा हटाए र IV भनेको कति हो भनेर सोधे, तीनजनामध्ये एकजनाले मात्र मिलाए । शिक्षकले ती नजानेका दुवैजना स्कुलै नआउने भन्दै हाँजिरी देखाउन थाल्नुभयो । उनीहरू नियमित नआएका होलान तर आज आएको दिन तपाईँले पढाएको कुरा त जान्नु प¥यो नि ? मैले प्रश्न गरे । यिनीहरू नियमित आउँदैनन्, बुझ्दैनन् । दश वाह्र दिनपछि हिजो र आजमात्र आएका शिक्षकको थप प्रष्टोक्ति थियो । मैले फेरी त्यही कुरा दोहोराए, ठिकै छ, नियमित आउँदैनन तर आएको दिन पढाएको कुरा त जान्नु पर्ला नि । यति कुरा गर्दै गर्दा अर्को विषय पढाउन शिक्षिका आउनुभयो म पनि गणित शिक्षकसँगै कक्षा २ बाट बाहिरीए ।
(घ) म कक्षा ३ मा पुगेँ । शिक्षकको अनुमति लिएर भित्र पसे । कक्षा ३ मा शिक्षकले सेतो पाटीमा घटाउ गर्ने दुईओटा हिसाब लेख्दै हुनुहुँन्थ्यो ? वहाँले लेखेर सकेपछि मैले वहासँगै अनुमति लिएर विद्यार्थीमा सङ्ख्याको ज्ञान कति रहेछ भनेर परीक्षण गर्ने विचार गरे । कक्षामा ७ जना विद्यार्थी थिए । ४४, ६६, ३६, ८७ र २८ डायरीमा लेखे । शिक्षकलाई सँगै हेर्न लगाउँदै एक एक जनालाई पालैपालो सोधे । ४४ र २८ मिलाउने एकजना र ४४ मात्र मिलाउने एकजना थिए । अन्य पाँचजनाले यी संङ्ख्याको एउटा एउटा अङ्क पढ्न सके तर चौवालिस, अठ्ठाइस, भन्ने सकेनन् । एकजनाले छैसठ्ठीलाई छत्तीस भने ।
अङ्ग्रेजीको ६ र नेपालीको ७ मा उनीहरू प्रष्ट थिएनन् । यति गरेपछि शिक्षकलाई के थाहा पाउनु भयो भनेर सोधे । शिक्षकले यिनीहरूले अङ्क चिन्दा रहेनछन्, भन्नुभयो । अङ्क नै नचिन्नेलाई यो चार अङ्कको घटाउ कसरी सिकाउने ? कक्षा एक, दुईमा जान्नु पर्ने हो । तीनमा त सिधै किताबबाट हिसाब सिकाउँदै छु । अब त्यसरी हुँदैन । एक, दुईमा जान्नु पर्ने भनेर हुँदैन पहिले सङ्ख्याको ज्ञान सिकाउनुस अनि मात्र हिसाब सिकाउनेतिर लाग्नु पर्ला सर । तपाईँले वैशाखमा कक्षा सुरु गर्दाकै वखत उनीहरू कक्षा ३ मा आउँदा के के जानेका छन् के के जान्दैनन भन्ने थाहा पाउनु जरुरी थियो । तर पनि केही विग्रेको छैन । अब केही दिन उनीहरूलाई सङ्ख्याको आधारभूत ज्ञान सिकाउनुस र पाठ पढाउनुस । यसो गर्दा मात्र तपाईँले पढाएको सिक्छन्, मैले सुझाव दिए । शिक्षकले मेरो सल्लाहलाई टाउको हल्लाएर समर्थन गर्नुभयो । म कक्षा तीनबाट निस्किए ।
(ङ) म कक्षा चारमा पुगे । नेपाली विषयको “स्वस्थ बनौँ” भन्ने पाठ सेतो पाटीमा लेखिएको छ । हरेक कक्षामा के गर्ने म कुनै पूर्व योजना लिएर गएको छैन । त्यसैले नेपाली विषय भएकाले मैले कक्षाका ११ जना विद्यार्थीलाई व्यक्तिगत रुपमा दुई तीनवटाका दरले वाक्य पढ्न लगाए । मैले विद्यार्थीको पढाइ सिप परीक्षण गर्दै गर्दा शिक्षिकाको मोबाइल घण्टी बज्यो । उठाउने कि नउठाउने अलमल पर्दै फोन काट्नुभयो तर तुरुन्तै मोबाइल फेरी बज्यो, अनि मैले फोन उठाउनुस भने । एघार जनामध्ये जम्मा ३ जनाले मात्र नेपालीको अनुच्छेद पूर्णरुपमा शुद्धसँग पढ्न सकेको पाइयो । यो कुरा शिक्षिकालाई सुनाउँदा वहाँले के गर्ने त मैले, होमवर्क गर्दैनन् । कक्षा तीनबाट यस्तै आएका छन् भन्दै तर्कनुभयो । मैले तपाईँ नेपाली विषय पढाउने शिक्षिकाले कुन कुन विद्यार्थीले कुन कुन कुरा पढ्न सक्दैनन पत्ता लगाएर सहयोग गर्नुपर्छ भने । मैले एक्लै गरेर हुन्छ र ? मैले त पढाएकै छु नि । यिनीहरु जति गरेपनि जान्दैनन् । वहाँको यस्तो जवाफ सुनेपछि अनावश्यक तर्क गरेर कक्षामा बस्न चाहिन, हस् पढाउँदै गर्नुस भनेर म निस्किए ।
(च) म कक्षा ५ मा जाँदा कक्षा खाली थियो । विद्यार्थीहरु खासखुस गर्दै एकजना छात्राले केही लुकाएजस्तो गरिन, तर त्यो तल खस्यो । अनि यो तल खसेको लठ्ठी किन राखेको भनेर सोधे । सरहरूले राख्नुभएको हो, विद्यार्थीहरूले जवाफ दिए । अहिले कुन विषयको घण्टी हो भनेर सोधे सामाजिक हो, सर हुनुहुन्न भन्ने उत्तर आयो । अनि भर्खरै कुन विषय पढाई भयो ? अङ्ग्रेजी । मैले भर्खरै पढाइ भएको अङ्ग्रेजीबाट उनीहरूको सिकाइ कस्तो छ, सोध्ने विचार गरे । भर्खरै पढाइ भएको पाठ कुन हो ? विद्यार्थीले पाठ पल्टाएर देखाए । पाठ्यपुस्तकको पेज नं. २८ मा भएको word power (at the back of, in front of, next to, opposite, in the middle of) पढाइ भएको रहेछ । मैले कक्षाको वेञ्चमा अगाडि र पछाडि बसिरहेका विद्यार्थीलाई उदाहरण बनाई पछाडि बसेको छ भनेर सोध्दा के भन्नु पर्छ भनेर पुस्तक देखाई व्यक्तिगत रुपमै छनौट गर्न लगाएँ । कक्षाका २० जना विद्यार्थीमध्ये ३ जनाले मात्र सही विकल्प छनौट गरे । फेरी दुईजनाको बीचमा बसेको भन्दा के भन्नुपर्छ भनि सोध्दा ४ जनाले सही विकल्प छनौट गरे । अनि मैले तपाईँहरूलाई अङ्ग्रेजी विषय गा¥हो लाग्छ हो भनेर सोधे । करिब करिब सबैजनाले हो भने । त्यसो भए ल अङ्ग्रेजी गा¥हो लाग्नेहरूले हात उठाउनुस त भने । सबै २० जनाले नै अङ्ग्रेजी गा¥हो भनेर हात उठाए ।
(छ) अब मेरो कक्षा ६ मा जाने पालो थियो । कक्षा ६ को घण्टी खाली थियो । कोही पढ्दै र कोही चल्दै थिए । मैले हिजो पढाएको गणितको पाठ निकाल्न पठाए । पेज नं. १६० को अभ्यास २ । एक नम्बर प्रश्न : श्यामसँग ५ ओटा स्याउ थिए । उसले आफूसँग भएकोमध्ये X ओटा खायो । अब श्यामसँग जम्मा कति स्याउ छन् ? बीजगणीतीय अभिव्यञ्जकमा लेख । यो प्रश्नको उत्तर लेख्न सक्नेहरूले हात उठाउनुस त मैले भने । जम्मा ३ जनाले हात उठाए । यो त सजिलो छ त जम्मा ३ जना, अरुलाई आँउदैन, २ जना थपिए । अनि फेरी १ जना थपिए, उनले पहिले हिसाब लेखेर मिलेपछि मात्र हात उठाए । यसरी त्यो प्रश्न जानेको छु भन्नेहरु जम्मा ६ जना भए । अभ्यासमा भएका १० वटै हिसाब गर्न सक्ने को को हुनुहुन्छ ? मैले सोधे । एकछिन कोही बोलेनन तर अन्त्यमा १ जना मात्र भए सबै हिसाब गर्न सक्ने । दशवटामध्ये ८ वटा हिसाब गर्न सक्ने भनेर सोधे अरु २ जना भए । अनि अभ्यासका पाँच ओटा हिसाब गर्न सक्नेले हात उठाउनुस भन्दा ३ जना भए । यसरी चलेर बस्नुभन्दा सबै हिसाब मिलाउने भाईले वोर्डमा हिसाव गरेर अरुलाई सिकाइ हुन्थ्यो नि । मैले यसो भन्दा ती सबै हिसाब मिलाउन सक्ने भाई हाँसे मात्र ।
(ज) यसपछि म कक्षा ७ मा गए । कक्षा ७ गणित विषयकै घण्टी रहेछ, तर खाली । मैले हिजो के पढाई भएको थियो भनेर सोधे । पेज १८४ को अभ्यास २२.२ को गुणन गर भन्ने अभ्यास देखाए विद्यार्थीहरूले । अभ्यासको १ मा गुणन गर भन्ने चारवटा हिसाब थिए र त्यसको (क) मा a(3a-2b) भन्ने थियो । मैले यो क को हिसाब गर्न सक्नेले हात उठाउनुस भने, जम्मा ४ जनाले हात उठाए । एक नम्बरको चारओटै हिसाब गर्न सक्ने को को हुनुहुन्छ ? यसो भन्दा ती चारमध्येका २ जनाले हात उठाए । अनि मैले गणित पढाएको बुझिदैन हो भनेर सोधे । कक्षा ७ का २६ जनामध्ये २० जनाले गणित पढाएको बुझिदैन भनेर हात उठाए । अनि मैले फेरी गणित र अङग्रेजीमा कुन सजिलो लाग्छ भनेर सोधे ? यसो भन्दा २२ जनाले गणितभन्दा अङ्ग्रेजी सजिलो भने भने ४ जनाले मात्र अङग्रेजीभन्दा गणित सजिलो भने ।
(झ) म यसपछि कक्षा ८ मा गए । भर्खरै विज्ञान विषयको पढाइ भएको थियो । विज्ञान विषयमा कन्केभ र कन्भेक्स लेन्सको चित्र सेतो पाटीमै थियो । मैले यी चित्र के हुन भनेर सोधे । विद्यार्थीहरूले माथिको दुईओटा कन्केभ र तल्लो एकओटा कन्भेक्स भने । मैले कन्केभ र कन्भेक्स लेन्सको भिन्नता के हो ? मैले त यी तीनवटै चित्रमा भिन्नता देखिन नि भनेर प्रश्न गरे । अब विद्यार्थी अलमलमा परे । चित्रमा लेन्स अनुसार वस्तु र प्रकाशको फोकस फरक फरक ठाउँमा थियो तर विद्यार्थीहरूमा वस्तुको स्थान र प्रकाशको फोकसले लेन्सको प्रकारमा फरक पर्छ भन्नेमा विश्वस्त थिएनन् र उनीहरूले प्रष्ट भन्न सकेनन् । एकजना विद्यार्थीले मात्र आफ्नो कापीमा लेखेको परिभाषा देखाइन तर यही नै फरक हो भनेर निर्धक्कसँग भन्न सकेको पाइएन् । कक्षा ८ मा यसो गर्दै गर्दा खाजा खाने छुट्टी भयो । म कक्षा ८ बाट निस्केर कार्यालयमा पुगे ।
कार्यालयमा सबैजना शिक्षकहरू आइपुग्नु भएको थियो । सदरमुकाम जानुभएका प्रधानाध्यापक पनि आइपुग्नु भएछ । एकअर्कामा परिचय भयो । मैले ८ ओटा कक्षा अवलोकन गरेको र सिकाइ अवस्था कमजोर भएको कुरा वताए । शिक्षकहरूले एकसेएक कारण निकाल्न थाल्नुभयो, जसरी कक्षा १ र ४ मा शिक्षिकाहरूले समस्या देखाउनु भएको थियो । सामग्री छैनन, विद्यार्थी नियमित छैनन, अभिभावकले ध्यान दिदैनन्, होमवर्क गर्दैनन्, पढाउँदा ध्यान दिदैनन, नियमित आउदैनन आदि आदि ।
मैले सकेजति शिक्षकको भूमिका प्रष्टाउने प्रयास गरे । सिकाइका लागि शिक्षकको भूमिका व्याख्या गरे । अभिभावकलाई सचेत बनाउने पनि हामीले हो भनेर बुझाउने प्रयास गरे । जे पढाउँछौ, त्यो मात्र भए पनि सिकाउ । साना कक्षामा नजानेर आए भनेर माथिल्ला कक्षामा ध्यान नदिएर हुँदैन, जसले जे जान्दैन त्यसलाई त्यही पढाइदिउ भने । शिक्षकहरू मेरा सल्लाह सुझाव सुन्दा निकै अप्ठ्यारो मान्नुभएको अनुभूत गरे मैले, तरपनि मैले मेरा केही सल्लाह सुझाव दिएरै छोडे । विद्यालयकै पुस्तकालयमा दिवास्वप्न भन्ने पुस्तक कसैले नपढेको थाहा भयो । मैले त्यहा पाँच थान किताब छ, एकपटक सबैले पढ्नुस भनेर आग्रह गरे (म कक्षा ५ बाट ६ मा जाँदा पुस्तकालय पनि हेरेको थिए) ।
शिक्षकको प्रयासले मात्र पनि विद्यालयमा ठूलो सुधार ल्याउन सकिन्छ भन्ने उदाहरण सुनाए । देशका विभिन्न स्थानका राम्रा सामुदायिक विद्यालयको नाम सुनाए । ती सबै शिक्षकको प्रयासले भएका हुन् । तपाईँहरू पनि गर्नुस सकिन्छ भने । धेरै उपदेश दिए जस्तो भयो तैपनि मैले वहाँहरूलाई गर्नुस हैँ भनेर आग्रह गरे । शिक्षकहरूसँग छलफल गर्दागर्दै पाँचौ घण्टी बज्यो । शिक्षकहरूलाई कक्षामा जान अनुरोध गरे र प्रधानाध्यापकसँग निरीक्षण पुस्तिका मगाए । सिकाइ अवस्था कमजोर भएकोले शिक्षक वैठक बसेर सामूहिक छलफल गर्ने तथा अभिभावकसँग अन्र्तव्रिmया समेत गर्नुहोला भन्ने सुझाव लेखे । यतिञ्जेलमा २ बजेछ । प्रधानाध्यापकलाई पनि कक्षामा जान आग्रह गर्दै म मेरो बाटो लागे ।
म विद्यालयबाट फर्कदै छु तर मेरो मनमा विभिन्न कुराहरु खेलिरहेका छन् । देशभरका करिब ७०÷७५ प्रतिशत सामुदायिक विद्यालयको अवस्था यस्तै होला कि ? अबका स्थानीय सरकारका प्राथमिकतामा सिकाइ पर्ला कि नर्पला ? स्थानीय निकायका जनप्रतिनिधिहरूले विद्यार्थीको सिकाइ अनुगमन गर्लान कि ? स्थानीय निकायमा निर्वाचित विभिन्न दलका प्रतिनिधिको खिचातानी पो हुने हो कि ? खै विश्वास गरौँ कि शंका गरौँ, तर जे भएपनि विद्यालयमा विद्यार्थीको सिकाइमा ध्यान दिन सके हुने । विद्यालयलाई दिइने अनुदानलाई विद्यार्थीको सिकाई र शिक्षकको कार्यसम्पादनसँग जोडन सके हुने । शिक्षकका लागि सञ्चालन हुने तालिम विद्यालयको वर्षे वा हिउँदे विदा र सार्वजनिक विदामा मात्र सञ्चालन गर्ने नियम बनाउँलान कि ? शिक्षक विद्यार्थीको सिकाइप्रति कसरी जवाफदेही होलान ? समस्या मात्र देखाउने रोग सकिएला कि ? उस्तै होला ? सार्वजनिक शिक्षा के सधै यसरी नै चल्ला ?
हुन त सबैका आआफ्नै तर्क होलान् तर मेरो बुझाईमा शिक्षकलाई विद्यार्थीको सिकाइप्रति जवाफदेही नबनाउँदासम्म सार्वजनिक शिक्षाको स्तर सुधार हुन सक्ने अवस्था छैन । माथी प्रस्तुत गरिएका सिकाइका सबै समस्यामा शिक्षकको जफावदेहिताको अभाव रहेको देख्छु मैले । गठन भई सकेका र हुँदै गरेका स्थानीय सरकारले विद्यार्थीको सिकाइमा ध्यान दिने हो भने ः
(क) शिक्षकलाई विद्यार्थीको सिकाइप्रति जवाफदेही बनाउनै पर्छ ।
(ख) सबै प्रकारका शिक्षक तालिम सार्वजनिक विदा र विद्यालयको वर्षे तथा हिउँदे विदामा मात्र सञ्चालन गर्ने व्यवस्था हुनै पर्छ । विद्यालयको वर्षे तथा हिउँदे विदा ४५ दिन हुन्छ । यी विदाकै दिनमा शिक्षक तालिम हुनुपर्छ । स्थानीय सरकारले कम्तीमा विद्यालयको पठनपाठन चलिरहेको बेला शिक्षकका लागि कुनै पनि तालिम सञ्चालन हुने छैनन् भन्ने कानुन नै तयार गरी कार्यान्वयन गर्नु जरुरी छ ।
(ग) विद्यालयको समग्र सिकाइ र विद्यालय प्रभावकारीतासँग प्रधानाध्यापकलाई जवाफदेही बनाउनु आवश्यक छ ।
(घ) साना कक्षा (खासगरी कक्षा १ देखि ५) विद्यालयको कम महत्व पाएर उपेक्षिता बनेका छन् । हरेक विद्यालयले साना कक्षाको सिकाइमा ज्यादा ध्यान दिनु आवश्यक छ ।
स्थानीय सरकारको प्राथमिकतामा विद्यार्थीको सिकाइ पर्न सकोस, शिक्षकको जवाफदेहिता बढ्न सकोस । शुभकामना ।
(प्रस्तुत आलेखमा विद्यालय तथा शिक्षकहरुको नाम गोप्य राखिएको छ- सं.)
प्रतिक्रिया