Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

विद्यालयमा ‘स्कूल सेफ्टी’ कार्यक्रम

आइतबार, २८ जेठ २०७४

काठमाडौं -  ‘दायाँ प्लेट, बायाँ प्लेट

ठोक्किएर कम्पन भयो

भूकम्प आयो ।’

भूकम्पीय जोखिममा रहेको नेपालमा कसरी भूकम्प आउँछ ? भन्ने जिज्ञासालाई गीतबाट बुझाउँदै थिए, टाउकोमा हरियो रुमाल बाँधेर बसेका एकहुल मानिसहरु ।

ती मानिसहरुले भूकम्पमा मात्र नभएर अन्य प्राकृतिक विपद्को समयमा के गर्ने ? भन्ने उपाय पनि गीतमार्फतै सिकाइरहेका थिए । उनीहरुले गीतमार्फत् त्यस्ता विपद्मा ज्यान कसरी जोगाउने भन्ने तरिका खुलेको गीत भने यस्तो थियो–

दायाँ खुट्टा–बायाँ हात

बायाँ खुट्टा– दायाँ हात

आगो निभाऔं– साथसाथ !

ती मानिसहरु अर्थात् काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न सार्वजनिक र संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षक, जाइकाका प्रतिनीधि र नगरपालिकाका कर्मचारीहरु हुन् । उनीहरुले विद्यार्थीलाई भूकम्प, आगलागी, बाढी,पहिरो जस्तो विपद्का बेलामा सर्तक रहनुपर्ने भन्दै सो बारेमा पूर्व तयारी आवश्यक रहेको बताएका थिए । कसरी पूर्व तयारी गर्ने भन्ने विषयमा विभिन्न खेलविधिबाट सिकाएका उनीहरुले विद्यार्थीले सम्झन सक्ने खालका शब्दहरुको प्रयोग गरेका थिए । उनीहरुले ‘आगो लग्यो, आगो लाग्यो, पहिरो गयो, बाढी पस्यो, भागौं’ भनेर गीत मात्र सिकाएनन्, विद्यार्थीलाई त्यसको अभ्यास (ड्रिल) पनि मज्जैले गराए ।

२०७२ सालको बैशाख १२ को विनासकारी भूकम्पको कारण विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकहरु प्नि प्रभावित भए । सोही प्रभावका कारण शिक्षा क्षेत्रमा परेको असरलाई भविष्यमा कम गर्ने ध्येयले विभिन्न संस्थाहरुको सहकार्यमा अहिले काठमाडौं उपत्यकामा रहेका पाँच नगरपालिकाका १० विद्यालयमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण शिक्षा र शैक्षिक सामग्री निर्माण परियोजना लागू गरिएको छ । ।

‘यो परियोजनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी(जाइका), प्लस आर्टस् र सिटीनेटको सहकार्य रहेको छ , यसले काठमाडौं उपत्यकाका पाँच नपाका १० विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई विपद् जोखिम न्यूनीकरणबारे जानकारी र तालिम दिन्छ ।’ सो परियोजनाका संयोजक दीपक मरहट्टाले भने ।

उनले सोही परियोजना अन्तर्गत विभिन्न विद्यालयमा पुगेर तालिम दिने, अनि तालिममा सिकेका विषयलाई प्रयोगात्मक अभ्यास गराउने बताए । उनका अनुसार सो परियोजना लागू भएका विद्यालयहरुमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी, शंखरापुर र भक्तपुर नगरपालिका रहेका छन् । ‘ती नगरपालिकाका एक सरकारी र एक प्राइभेट स्कुलमा यो प्रोजेक्ट चालू छ ।’ उनले भने ।

काठमाडौं डल्लुस्थित स्वर्णिम इंग्लिस स्कुल, सरस्वती मावि, ललितपुुरका हिन्दू विद्यापीठ र श्रमजीत मावि, शंखरापुरको बज्रयोगिनी स्कुल र भाग्योदय मावि, चन्द्रा गिरी नपाको सुप्रिम एकेडेमी र नारायण जन मावि तथा भक्तपुरको बासु मावि र हिमालयन ग्लोरीमा पाइलट प्राजेक्टको रुपमा सुरु गरिएको सो कार्यक्रम अन्तर्गत विद्यार्थी तथा शिक्षकलाई प्राथमिक उपचार तालिम, विपद्को समयका लागि आवश्यक सामानको जोहोको तरिका लगायतका सीप सिकाइने छ ।

सो कार्यक्रममा कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई सहभागी गराइएको छ । त्यसको लागि जाइकाले १८ लाख रुपैंया सहयोग गरेको छ ।

प्रतिक्रिया