Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

विद्यार्थीको मृत्युमा सांसद विरुद्ध किटानी, अनुसन्धान ढिलो भएकोमा आपत्ति

विहीबार, २५ जेठ २०७४

ललितपुर - लिटिल एञ्जल्स स्कुल (एलए) को पौडी पोखरीमा निधन भएका विद्यार्थी राहुल साहका अभिभावकले सांसद समेत रहेका सञ्चालक उमेश श्रेष्ठ सहित सात जना विरुद्ध किटानी दर्ता गरेका छन् । होस्टेलमा बसेर अध्ययन गर्ने आफ्नो भतिजाको हत्या भएको राहुलका काका सत्यनारायण साहले दावी गरे ।  राहुलको शरीरमा चोटपटकको दाग भएकोले पनि हत्या नै भएको उनको तर्क छ । सोही अनुसार अभिभावकले अर्का सञ्चालक विद्या लिम्बु, निर्देशक राजेश श्रेष्ठ, प्रिन्सिपल मुकुन्दराज शर्मा र लाईफ गार्ड जेनिफर लामा, श्याम जिसी र चन्द्र सिंह महतोका विरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।

विद्यार्थीको सम्पूर्ण जिम्मा विद्यालयलाई लगाए पनि यो हद सम्मको लापरवाही गरेर आफ्नो  सन्तानको हत्या भएको भन्दै परिवार विद्यालय प्रशासन विरुद्ध आक्रोसित बनेको छ ।

'अहिले त दुख हामीलाई मात्रै भएको छ, तर आफ्ना सन्तानलाई कसरी विद्यालय पठाउने भनेर आम अभिभावकले सोच्नु पर्ने अवस्था आएको छ' साहले भने, 'देशकै नाम चलेको विद्यालय, त्यस माथि निजी विद्यालयहरुको सञ्चालक संस्थाका पूर्व अध्यक्ष अझै देशकै कानून बनाउने ठाउँको प्रतिनिधित्व गर्ने सांसदको विद्यालयमा सन्तान पढाउँदा हामी कति खुसी थियौं तर आज यस्तो दिन भोग्नु पर्यो ।'

यो घटना कुनै एक ब्यक्तिमाथि परेको रुपमा नभई आम अभिभावकले भोग्नु पर्ने रुपमा राज्यले गम्भिरता पूर्वक अनुसन्धान गरेर आफूले किटानी गरेका दोषि विरुद्ध कारवाही गर्न उनको माग छ ।

घटना भएको ४ दिन वितिसक्दा पनि अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै अभिभावकले प्रहरीको कार्यशैली प्रति पनि आशंका गरेका छन् ।

'कतै पावर र पैसाको भरमा घटनालाई मोड्न खोजिएको त हैन ?' साहले शँका गरेका छन् ।

विद्यालय सञ्चालक श्रेष्ठ नेपाली काँग्रेसको समानुपातिक कोटाका सांसद हुन् ।

तर, पोष्टमार्टम रिपोर्ट प्राप्त नभएकाले अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

'घटना ज्यादै दुखदायी र सम्बेदनशील हो, तर कसैले किटानी जाहेरी दियो भन्ने वित्तिकै अनुसन्धान सकिँदैन, हामी पोष्टमार्टम रिपोर्ट कुरेर बसेका छौं' प्रहरी निरिक्षक श्यामल सुव्बाले भने, 'न्याय दिदाँ हतारमा काम गर्नु हुन्न, हतार गर्दा निर्दोषले सजायँ पाउन सक्छ, अहिले हामी अन्य कोणबाट अनुसन्धान गरिरहेका छौं ।'

विद्यालयको होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत १४ वर्षिय राहुल साहको गत सोमबार बेलुकी पौडी पोखरीमा डुवेर निधन भएको थियो ।

सोमबार साँझ साढे ५ बजे तिर पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुविरहेको अवस्थामा फेला पारेर विद्यालयले अस्पताल पुर्याएको र अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषित गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साहको बुधबार आफ्नै गृहनगर धनुषाको शहिदनगर नगरपालिका - ३ (साविकको यदुकुवा -१) मा अन्त्येष्टि गरिएको छ ।

यो पनि पढ्नुहोस् : एलएको पौडी पोखरीमा डुबेर विद्यार्थीको मृत्यु, हत्या भएको अभिभावकको दावी

प्रतिक्रिया