काठमाडौं - शिक्षा मन्त्रालय छाड्ने दिन कर्मचारीसितको बिदाइमा पनि प्राविधिक कमिटिले पारित नगरेको शिक्षा नियमावली पारित भएको भनेर निवर्तमान शिक्षा मन्त्री धनिराम पौडेलले ढाँटेका छन् । आफूले गरेको कामको ३६ बुँदे फेहरिस्तको बुँदा नं ४ मा जेठ १९ गते नियमावली पारित भएको उल्लेख गर्न उनले भ्याएका छन् ।
तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले त्यही दिन नियमावली पारित नभएकोल निर्देशिका बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यही दिन संघीय मामिला मन्त्रालयका सहसचिवको संयोजकत्वमा सात सदस्यीय शिक्षा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।
पढ्नुहोस् : धनिरामको झुटको थप प्रमाण फेला, नियमावली पारित नभएपछि निर्देशिका बनाउन मन्त्री परिषद्को निर्देशन
यो पनि पढ्नुहोस् : ‘नियमावली पारित भयो’ भन्दै किन ढाँटे शिक्षा मन्त्रीले ?
मन्त्री पौडेलले विदाइका क्रममा आफूले सकेसम्म इमानदार भएर काम गर्न खोजेको बताए । उनले भने, ‘कतिपय राम्रा काम गर्न खोज्दा पनि सकिएन होला, तर मेरो कार्यकालमा मन्त्रालयमा एउटा पनि गलत काम भएको छैन ।’
विद्यालय क्षेत्र विकास योजनाको कार्यान्वयन, खुल्ला विश्वविद्यालयको उपकुलपति तथा कुलसचिवको नियुक्ति, विद्यालय तहको पाठ्युस्तक तथा पाठ्यसामग्रीको मूल्य समायोजन, कक्षा २ सम्मको पाठ्यपुस्तक रंगिन रुपमा प्रकाशन, जनक शिक्षामा महाप्रवन्धक, सिटिइभिटीमा सदस्य सचिव तथा विश्वविद्यालय अनुदान आयोगमा सदस्य सचिव र सदस्यहरुको नियुक्ति, भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनः निर्माणको लागि २ अर्ब २८ करोड पचास लाख रुपैयाँ निकासा, द्वन्द्व पीडित शिक्षक कर्मचारीको छानविन गरी प्रतिवेदन तयार, राष्ट्रिय परीक्षा बोर्डको संरचना स्वीकृत, प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा प्राविधिक धारको विद्यालयको स्थापना, भूकम्प प्रभावित जिल्लामा भर्चुअल कक्षाको शुरुवात, देशका विभिन्न स्थानमा सरकारी तवरबाट १० वटा पोलिटेक्निक र १३ वटा कृषि क्याम्पसको स्थापना लगायतका कामलाई पौडेलले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामको रुपमा चर्चा गरे ।
तस्विर : पौडेलको नीजि सचिवालय
प्रतिक्रिया