Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

एलएको पौडी पोखरीमा डुबेर विद्यार्थीको मृत्यु, हत्या भएको अभिभावकको दावी

मंगलबार, २३ जेठ २०७४

ललितपुर - लिटिल एञ्जल्स स्कुल (एलए) को पौडी पोखरीमा डुबेर कक्षा ८ मा अध्ययनरत १४ वर्षिय राहुल साहको मृत्यु भएको छ । जनकपुर निवासी बलदेव साहका छोरा राहुल विद्यालयको होस्टलमा बसेर अध्ययन गर्थे ।

होस्टेलमा बसेर अध्ययन गर्ने आफ्नो भतिजाको हत्या भएको राहुलका काका सत्यनारायण साहले दावी गरे ।  राहुलको शरीरमा चोटपटकको दाग भएकोले पनि हत्या नै भएको उनको तर्क छ ।

'काठमाडौंमै बस्ने लोकल प्यारेन्ट्सलाई पनि घटनाको २ घण्टा पछि मात्रै जानकारी दिनुले नै घटना सुनियोजित भएको पुष्टि हुन्छ' उनले भने, 'शरीरमा घाउ नै घाउ छ, हामीले फोटो नै खिचेर राखेका छौं, हामी विद्यालय सञ्चालक विरुद्ध हत्याको किटानी जाहेरी दिने तयारीमा छौं ।'

पौडी पोखरीमा जाने विद्यार्थीको सुरक्षाका बारेमा ध्यान नदिनुले विद्यालयको हेलचक्र्याई नै भएको उनको भनाई छ ।

सोमबार साँझ साढे ५ बजे तिर पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुविरहेको अवस्थामा फेला पारेर विद्यालयले अस्पताल पुर्याएको र अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषित गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस बारेमा विद्यालय प्रशासनको कुनै प्रतिकृया सार्वजनिक भएको छैन । साहको निधनको शोकमा मंगलबार विद्यालय बन्द गरिएको छ ।

'विद्यालय बन्द छ, यसबारेमा मिडियासँग कुरा गर्न हामीलाई स्विकृति छैन' विद्यालयको रिसेप्सनमा बस्ने युवतीले भनिन् ।

'ज्यादै दुखद् घटनाको अनुसन्धानमा छौं, अहिले हामी पोष्टमार्टम रिपोर्ट कुरीरहेका छौं' प्रहरी निरिक्षक श्यामल सुव्बाले भने, 'अन्त भन्दा विश्वसनीय हुने भएकोले पोष्टमार्टमका लागि टिचिङ् अस्पताल महाराजगञ्जमा लगिएको छ ।'

कक्षा ७ र ८ को पौडि पश्चात शुरु भएको कक्षा ९ र १० को समूहका विद्यार्थीले पौडि पोखरीमा केही धमिलो देखेपछि हेर्न जाँदा डुविरहेको अवस्थामा साहलाई फेला पारेको अनुसन्धानबाट पत्ता लागेको सुब्बाले बताए ।  

पौडि पोखरीमा खटिएका लाईफ गार्ड, विद्यालय प्रशासन र होस्टल वार्डेनसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

मृतकका अभिभावक जनकपुरबाट आइसकेको र आफूहरु विद्यालय प्रशासन सहित अभिभावकसँग छलफलमै रहेको सुब्बाले बताए ।

एलए प्याव्सनका पूर्व अध्यक्ष तथा काँग्रेस सांसद उमेश श्रेष्ठको विद्यालय हो ।  

 

प्रतिक्रिया