भक्तपुर - अस्थायी शिक्षक ब्यवस्थापन गर्न शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा परेको दरखास्त माथि आयोगले छानविन शुरु गरेको छ । कतिपय उम्मेद्वार दोहोरिन सक्ने, अस्थायी शिक्षकहरुले पटक पटक हालेका मुद्धामा अदालतले गरेको आदेशको अध्ययन गर्नु पर्ने, शैक्षिक योग्यता लगायतका विषयलाई आधार मानेर छानविन शुरु गरेको आयोगका अध्यक्ष ताना गौतमले बताए । लाईसेन्स नभएको, तालिम पनि नलिएको र लियन शिक्षकका सन्दर्भमा अदालतबाट जारी आदेशलाई ख्याल गर्नु पर्ने भएकोले संकलित दरखास्त माथि छानविन शुरु गरिएको उनले बताए ।
'समयमै ब्यवस्थित नगर्ने हो भने, पछि भद्रगोल हुन्छ भनेर हामी मिहिन तरिकाले छानविन गरिरहेका छौं' गौतमले भने, 'सके सम्म त्रुटि हुनै नदिने गरी हामी गम्भिरता पूर्वक छानविनमा लागेका छौं ।'
अस्थायी शिक्षक ब्यवस्थापनका लागि शिक्षा ऐनमै तीनवटा बर्ग छुट्याईएको छ । २०४९ पुस २० भन्दा अघि, ०४९ पुस २१ देखि २०६१ साउन २१ सम्म र २०६१ साउन २२ देखि संविधान जारी भएको मिति २०७२ असोज २ गते सम्म नियुक्त अस्थायी शिक्षकलाई ब्यवस्थापन गर्ने ऐनमा ब्यवस्था छ ।
सोही अनुसार आयोगले पनि हरेक तहका लागि ३ वटा वर्गमा छुट्टा छुट्टै संकेत राखेर विज्ञापन गरेको छ । जस अनुसार प्राथमिक तहका लागि १०१, १०२ र १०३ विज्ञापन संकेत छ भने निमाविका लागि २०१, २०२, २०३ र माविका लागि ३०१, ३०२ र ३०३ विज्ञापन संकेत उल्लेख छ । अहिले सम्मको ट्रेण्ड हेर्दा ०१ बर्गमा ८० प्रतिशत, ०२ बर्गमा ५० देखि ६० प्रतिशतले सुविधा लिने अपेक्षा गरेर आवेदन नहालेको आयोगले प्रारम्भिक अनुमान गरेको छ । ०३ वर्गका भने लगभग पुरै अस्थायी शिक्षक आयोग लड्ने तयारीमा छन् । यो बर्गमा २०६१ साउन २२ देखि संविधान जारी भएको मिति २०७२ असोज २ गते सम्म नियुक्त अस्थायी शिक्षक पर्छन् ।
'उनीहरुको उमेर पनि बाँकी रहेको र पाउने सुविधा पनि कम भएकोले बरु स्थायी नै हुन रुचि गरेको जस्तो देखिन्छ' गौतमले भने ।
अस्थायी शिक्षक ब्यवस्थापनका लागि गत चैत १८ गते ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलिएको छ । आयोग लड्न कति अस्थायी शिक्षक राजि भए भन्ने यकिन तथ्याङ्क उतार गर्नै बाँकी रहेको गौतमले बताए । सबै दरखास्त संकलन भईसकेको छ, अब, हामी उनीहरुको आवेदन छानविन र तथ्याङ्कको काम एकै पटक सक्ने हिसावमा लागि रहेका छौं, एक दुई दिनमा यकिन विवरण आउँछ ।
अस्थायी शिक्षक ब्यवस्थापन गर्न शिक्षा ऐनमा ब्यवस्था भएपनि शिक्षा मन्त्रालयको ढिलासुस्तिका कारण आयोग खोल्ने काम अलमलमा परेको थियो । शिक्षा मन्त्री धनिराम पौडेलसँग भेटेरै आयोगका सदस्यहरुले असन्तुष्टि जनाए पछि बल्ल आयोग खोलिएको थियो ।
पढ्नुहोस् : मन्त्रालय र विभागसँग शिक्षक सेवा आयोगको असन्तुष्टि, आयोग खोल्न छलफल तिव्र
अस्थायी शिक्षक ब्यवस्थापन गर्न आयोग खुल्यो, परीक्षाको मिति भने पछि तोकिने
प्रतिक्रिया