- बद्रीबहादुर पाठक / ०७१ सालको एसएलसी परीक्षा आउन अब तीन हप्ता पनि छैन । २०७० को नतिजा आएको करिब एक महिना जति मोफसल र राजधानीका सञ्चार माध्यममा नतिजाको बारेमा धेरै टिकाटिप्पणीहरु भए । विज्ञहरुले शिक्षा क्षेत्रमा भएको वा गरिएको लगानी अनुसार प्रतिफल आउन नसकेको र शिक्षाको गुणस्तर खस्केको भनी आलोचना गरे । वास्तवमा हाम्रा तथ्याङ्कहरूले के देखाउछन भने शैक्षिक सत्र २०७० को एसएलसीमा नियमित र एक्जाम्टेड गरी कूल ५२८५५६ परीक्षार्थी सम्मिलित भएकोमा २२१४७९ मात्र परीक्षार्थी अर्थात ४२.९२ प्रतिशत उतीर्ण भएका थिए भने ३४०५२९ जना विद्यार्थी अनुतीर्ण भएका थिए । विगत ५ वर्षको नतिजालाई हेर्दा २०६६ देखि क्रमश ओरालो लागेको अवस्था छ । २०६६ मा ६६.३१ प्रतिशत रहेको नतिजा २०६७ मा ५१.४४ रहेको र त्यसपछिका तीनवर्ष औषत ४५ प्रतिशत नतिजा पारगर्न सकेको देखिदैन ।
गतवर्षमात्र एसएलसी परीक्षामा सम्मिलित ८ हजार विद्यालयमध्ये ३३१ विद्यालयले शुन्य नतिजा प्राप्त गरेको अवस्था, अनुतीर्ण भएका विद्यार्थीमध्ये ९० प्रतिशत विद्यार्थी विज्ञान, गणित र अंग्रेजीमा असफल हुनु र सामुदायिक विद्यालयहरुको मात्र २८ प्रतिशत तथा संस्थागत विद्यालयको नतिजा ९३ प्रतिशत हुनुले सामुदायिक विद्यालयको पठनपाठनको गिर्दो अवस्थालाई स्पष्टरुपमा चित्रण गर्दछ ।
वर्षेनी नतिजा घट्दै जाने तर सरकारी र जनस्तरबाट लगानी थपिदै जाने अवस्थाले कतै शिक्षा क्षेत्रमा अझै ठुलो संकट त आउने होइन रु शिक्षाका सरोकारवाला विशेष गरी शिक्षक, प्रधानाध्यापक, व्यवस्थापक, कर्मचारी र शिक्षा प्रशासकहरुले गम्भीर भएर सोच्नुपर्ने र नतिजा सुधारका लागि आ(आफ्नो क्षेत्रबाट सक्रियता पूर्वक लाग्नुपर्ने बेला बित्न लागिसकेको छ । गतवर्ष अर्थात २०७०को नतिजापश्चात हामीले शिक्षामा के के गर्यौ, नतिजा सुधारका लागि कस्ता कस्ता प्रयास गर्यौ, पाठ्यक्रमले तोकेको शिक्षण घण्टा कति पढायौ वा सिकायौं, व्यवस्थापनमा कति सुधार गर्यौ, शिक्षक नभएका विद्यालयमा के कति शिक्षक व्यवस्थापन गर्यौ, पेशागत संघसंस्थाले नतिजाबारे कति बहस गर्यौ र तल्लो तहदेखि पठनपाठन सुधार गर्न कति प्रयत्न गर्यौ यी प्रश्नहरुमा हामी गम्मीर हुनै पर्दछ । केवल एसएलसी नतिजा प्रकाशनको समय र त्यसको एकमहिना जति सञ्चार माध्यममा बहस र शिक्षक कर्मचारीलाई मात्र गाली गरेर मात्र समस्याको समाधान हुने स्थिति छैन र हुदैन पनि ।
यसकालागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन गर्नुपर्ने कार्यहरुको कार्ययोजना बनाउनु जरूरी पर्दछ । तल्ला कक्षामा सिकाउनु पर्ने विषयबस्तु राम्रोसंग नसिकाउने अनि माथिल्लो कक्षामा कोचिङ वा थप कक्षा चलाएर मात्र कसरी सुधार हुन्छ नतिजा । सर्वप्रथम विद्यालय खुल्नुपर्ने कम्तीमा २२० दिन विद्यालय सञ्चालन अनिवार्य गरौ, विद्यार्थी नियमित गराऔं, अभिभावकले घरको पढाईमा ध्यान दिने काम गरौं, समयसमयमा विद्यालयमा गएर आफ्ना छोराछोरीको पठनपाठन अवस्था बुझौं, शिक्षकले पाठ्यक्रम अनुसार शिक्षण समय पुरा गरौ, व्यवस्थापन समितिले विद्यालयमा निगरानी राखौ, कमजोर विद्यार्थीलाई थप कक्षा सञ्चालन गरौ, परीक्षालाई डर र त्रासमय वातावरण नबनाऔं। हाम्रा सामुदायिक विद्यालयमा विदा धेरै हुने गरेका छन् सर्वप्रथम हामीले विद्यालय सकेसम्म बढी दिन खुलाउने र खुलेको दिनमा कक्षामा पठनपाठनको व्यवस्था अनिवार्य मिलाउने कार्य गर्नुपर्दछ ।
विद्यालय सञ्चालन भएको दिनमा पनि पुरै घण्टी पढाइ भएको दिन सायदै विरलै हुने गर्दछन् । यो मामिलामा हामीले संस्थागत विद्यालयबाट सिक्नुपर्ने हुन्छ । ती विद्यालयको पढाइ समय, परिश्रम र शिक्षक,विद्यार्थी अनुशासन सामुदायिक विद्यालयले शैक्षिक सुधारका लागि अनिवार्य सिक्नुपर्ने कुरा हुन् त्यस्तै गरी प्रधानाध्यापकको उद्देश्यमूलक नेतृत्व र व्यवस्थापकीयकुशलता शिक्षण सिकाइ र नतिजा वृद्धि गराउने महत्वपूर्ण कडि हो जुन जुन विद्यालयमा नेतृत्वले फरक भूमिका देखाएको छ अवश्य नै ती विद्यालयको नतिजा सुधार भएको नै देखिएको छ । नतिजा सुधारका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच नियमित अन्तरक्रिया गर्ने, लामो छुट्टी वा वर्षेविदामा अतिरिक्त कक्षा सञ्चालन गर्ने, नतिजाप्रति शिक्षक जिम्मेवार बन्ने, राम्रो नतिजा ल्याएका जिल्लाभित्रका अन्य विद्यालयका शिक्षकसंग अन्तरक्रिया गर्ने, कक्षामा जान्ने वा सिपालु विद्यार्थीका उत्तरपुस्तिका नमुनाको रुपमा अरु विद्यार्थीलाई वितरण गरी छलफल गराउने जस्ता कार्यहरू गर्न सकिन्छ ।
एसएससी नतिजा सुधारका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी मात्र जिम्मेवार हैनन् होला शिक्षाको व्यवस्थापन गर्ने शिक्षाका प्रशासक यसबाट पन्छिन कदापि मिल्दैन । हाम्रा धेरै विद्यालय विना पूर्वाधार खुलेका छन् । भौतिक अवस्था कमजोर हुनु, निमावि र मावि तहमा शिक्षक दरवन्दी नभइ केवल प्राथमिक तहको दरवन्दीले मात्र माध्यमिक कक्षा सञ्चालन गर्नु,नीजि श्रोतबाट राखिएका शिक्षक क्षमतावान र योग्यता पुगेका नहुनु र दरवन्दीको समान न्यायोचित वितरण गर्नरगराउन नसक्नु, अनुगमन मुल्याङ्कन फितलो हुनु,विज्ञान,गणित र अंग्रेजी विषयमा शिक्षकलाई राम्रोसंग परामर्श दिन नसक्नु तथा लामो समयदेखि अनुमति प्राप्त सामुदायिक माध्यमिक विद्यालयलाई शिक्षक दरवन्दी उपलव्ध गराउन नसक्नु जस्ता पक्षले पनि नतिजा कमजोर भएको अवश्य नै हो ।
एसएलसी नतिजाले के देखाएको छ भने कम्तीमा ५ दरवन्दी भएका अंधिकास सामुदायिक विद्यालयमा दरवन्दी नभएका विद्यालयको भन्दा पनि न्यून नतिजा देखिएको छ । यसको अर्थ शिक्षक दरवन्दी मात्रै सबै होइन रहेछ नत्र किन तोकिएको दरवन्दी भएका वा पुगेका विद्यालयको नतिजा ५० प्रतिशत भन्दा कम प्राप्त भएको छ रु विद्यालय शिक्षामा दलिय राजनीतिको गलत प्रयोगले शिक्षाको नतिजा सुधार गर्न बाधा पुगेको अवस्था छ सही राजनीति भएको भए शिक्षाको वर्तमान अवस्थामा सुधार आउने पक्कै थियो । हामीले पेशागत कर्म र धर्म भुल्यौ अनि पार्टीको इमानदार सिपाहीको भूमिका बढी पो खेल्यौ कि रु यसतर्फ पनि शिक्षकका पेशागत मित्रहरुले गम्भीर भएर समीक्षा गर्नु उपयुक्त होला । त्यस्तै गरी पाठ्यक्रमको उद्देश्य अनुसार प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका परीक्षणमा होसियारी अपनाउनु जरूरी छ ।
केही जिल्लाका परीक्षा केन्द्रमा परीक्षार्थी भन्दा ज्यादा अन्य मानिसहरूको उपस्थिति, होहल्ला र जात्रामात्राको अवस्थाले गर्दा पठनपाठनको वातावरण नराम्ररी बिग्रिएको र वाध्य भएर शिक्षकले लहलहैमा लाग्नुपर्ने स्थितिलाई अव अन्त्य गर्नै पर्दछ । वर्षभरीमा एकदिन पनि विद्यालयमा आफ्ना छोराछोरीको पठनपाठन अवस्था बुझ्न र सुधारका लागि नजाने अभिभावक एसएलसी परीक्षा केन्द्रमा गएर के सहयोग होला रुनतिजा सुधारमा अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्दछ विद्यालयमा नियमित पठाउने, शैक्षिक सामग्री उपलव्ध गराउने,समयसमयमा शिक्षक र प्रधानाध्यापकसंग पढाइ सुधारका लागि छलफल गर्ने, छोराछोरीको सिकाइसम्बन्धी समस्या बुझ्ने जस्ताकार्य अभिभावकले गर्नुपर्ने हुन्छ तर हाम्रो सन्दर्भमा त्यस्तो अवस्था पाइदैन ।जहाँ पढ्ने, पढाउने र सिक्ने सिकाउने वातावरण बिग्रन्छ अनि कहाँबाट प्राप्त हुन्छ त सफल नतिजा । यसतर्फ शिक्षाका सरोकारवालाले आत्मबोध गर्नैपर्ने हुन्छ । अर्कोतर्फ नतिजा कमजोर प्राप्त गर्ने र विद्यालयप्रति जिम्मेवार नहुनेलाई दण्ड र उच्च नतिजा र कार्यसम्पादन राम्रो गर्नेलाई पुरस्कार दिने परिपाटीलाई व्यवहारमा कडाइका साथ लागु गर्नुपर्दछ ।
नतिजा सुधारमा सञ्चार माध्यमको भरपुर प्रयोग गर्न सकेमा अभिभावक सचेतना र शैक्षिक सुशासनमा समेत सहयोग पुग्न जान्छ भने राम्रो सिकाइ वातावरण र नतिजा उच्च भएको विद्यालयले अपनाएका असल अभ्यासहरू सरोकारवाला माझ जानकारी गराउदा पक्कै पनि फाइदा नै पुग्छ । एसएलसी नतिजा सुधारका लागि धेरै उपायहरू हुन्छन् र हुनसक्छन मात्रै जस जसको जे भूमिका छ त्यही भूमिका मात्र निर्वाह गर्न भरपुर कोसिस गर्नुपर्यो । दीर्घकालिन रुपमा नतिजा सुधारका लागि विगतमा जस्तो राष्ट्रिय विकास सेवामार्फत शिक्षक नपुगेका स्थानमा व्यवस्था गर्न पनि सकिएला । मूल कुरो समस्याको सही पहिचान गर्नु र त्यसको समाधानका लागि वास्तविक तथा सम्भाव्य उपायहरू भित्रैदेखि खोजेर लागिपर्नु नै अहिलेको टड्कारो आवश्यक्ता रहेको छ ।
शिक्षा सबैको सरोकारको विषय बनेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा धेरै थरि समस्या देखिएका छन् । विद्यालय शिक्षामा हाल देखिएका वा भोगिएका समस्या, कमजोर नतिजा र शिक्षाक्षेत्रमा भएका अनियमितताले आम मानिसलाई निरासा बनाएको अवस्था छ । शिक्षा सुध्रिएको देख्न चाहने जो कसैलाइ पनि हालको अवस्थाले हितकर गर्दैन । सार्वजनिक शिक्षा कमजोर हुनु भनेको देशले दुर्गति भोग्नु हो हालको शिक्षाको मापो एसएलसी नतिजाले गरेको र त्यसैको आधारमा मूल्याङ्कन गर्ने परिपाटि बनेको अवस्थामा विद्यालयस्तरको नतिजा सुधार राष्ट्रिय बहसको विषय बन्नुपर्दछ ।
एसएलसी नतिजा प्रकाशनको केही दिनसम्म मात्र गरिने चर्चाले पक्कै पनि नतिजामा सुधार आउन सक्दैन । यसलाई जिम्मेवार अभिभावक, शिक्षक, पेशागत संस्था, नेतृत्वकर्ता,शैक्षिक प्रशासक,शिक्षामा कार्य गर्ने गैरसरकारी संस्था, सञ्चार माध्यम, स्थानीय निकाय र राजनीतिक दलले आफ्नो एजेण्डा बनाउनु आवश्यक छ । तवमात्र सामुदायिक विद्यालयको नतिजामा सुधार ल्याउन सकिन्छ र आम सर्वसाधरणले विश्वास गर्ने वातावरण सिर्जना हुन्छ ।
(पाठक शिक्षा मन्त्रालयका उप सचिव हुन्)
प्रतिक्रिया