Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
विचार / विमर्श

शिक्षक तयारी तथा विकास : मार्ग चित्र (Road Map) कि स्वैरकल्पना (Fantasy) ?

सोमबार, १८ फागुन २०७१

- खगराज बराल /

सारांश

शिक्षाले देश विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्दछ । शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरसँग सम्बन्धित हुन्छ । शिक्षकको गुणस्तरको मात्रा भने शिक्षक तयारी, विकास र व्यवस्थापनसँग प्रत्यक्ष रूपले सम्बन्धित हुन्छ । हाम्रो पूर्वीय दर्शनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ । नेपालमा आधुनिक शिक्षा पद्धतिको विकास भएसँगै शिक्षक व्यवस्थापनका विविध पक्षमा विभिन्न कार्यहरू गरिँदै आएको छ । शिक्षासम्बन्धी विभिन्न प्रतिवेदनहरूले शिक्षक व्यवस्थापनका सम्बन्धमा स्पष्ट धारणाहरू उल्लेख गरेका छन् ।

उक्त प्रतिवेदनहरूले शिक्षकको प्राज्ञिक योग्यता र तालिम दुबैलाई प्राथमिकता दिएका छन् । त्यस्तै, शिक्षक सेवा आयोग नियमावलीले शिक्षा विषय पढेर तोकिएका योग्यता प्राप्त गरेकालाई प्राज्ञिक योग्यता र तालिम प्राप्त दुबै मानेको छ । हाल कार्यान्वयनमा रहेको विद्यालय क्षेत्र सुधार योजनाले शिक्षक नियुक्ति, वृत्ति विकास, न्यूनतम् योग्यता, शिक्षक तयारी कोर्स र तालिम सम्बन्धमा गरिने कार्यहरू उल्लेख गरेका छ । सबै प्रतिवेदन र योजनाले शिक्षकको गुणस्तर सुनिश्चिततामा जोड दिएका छन् । तथापि उक्त दस्तावेजहरूमा सुझाइए बमोजिम शिक्षक व्यवस्थापन गर्दा पनि अपेक्षित स्तरका विद्यार्थी उत्पादन गर्न नसकिएको र नसकिने भएकाले शिक्षक व्यवस्थापनका विविध पक्षमा व्यापक परिवर्तन आवश्यक छ ।

समान तहको नोकरीमा भन्दा बढी तलब सुविधा प्रदान गर्ने, सबै सङ्कायका व्यक्तिहरूबाट शिक्षक छनौट गर्ने, अध्यापन अनुमति पत्र खारेज गर्ने, विषयगत विषयवस्तुमा आधारित मौलिक प्रश्न निर्माण गरी शिक्षक छनौट परीक्षा सञ्चालन गर्ने, सिफारिस भएका शिक्षकहरूलाई पदस्थापना गरी  बहुआयामिक एक वर्षे सघन तालिम सञ्चालन गर्ने, तालिमका विविध पक्षहरूलाई सुदृढीकरण गर्ने र तालिमपछि परीक्षासमेत सञ्चालन गर्ने आदि कार्यहरूको प्रभावकारी कार्यान्वयनबाट मात्र एक्काईसौं शताब्दीका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षक उत्पादन गर्न सकिन्छ । शिक्षक तयारी र विकासको वर्तमान अभ्यासले थप पछुताउनु पर्ने अवस्थामा मात्र पुर्याउँछ । यसका लागि शिक्षक तयारी तथा विकासमा आमूल परिवर्तन गर्नु पर्दछ ।

१.    विषय प्रवेश

शिक्षक तयारी र विकास विभिन्न समयमा विभिन्न किसिमबाट भएका पाइन्छन् । शिक्षकको तयारी, विकास र व्यवस्थापन सम्बन्धित देशको चासोको विषय हो । देशका लागि आवश्यक जनशक्ति उत्पादनको जिम्मा शिक्षाको हो । देशलाई कति र कस्ता किसिमका जनशक्ति आवश्यक हुन्छ र सो आवश्यकतालाई कसरी पूर्ति गर्ने भन्न जिम्मेवारी शिक्षाको हो । शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने जिम्मेवारी पनि शिक्षा क्षेत्रको नै हो । विद्यालयको कक्षा कोठाको तहमा यस्तो जिम्मेवारी निर्वाह गर्ने समूह शिक्षक हो ।

शिक्षकको गुणस्तरभन्दा माथि शिक्षाको गुणस्तर नहुने भएकाले देशको ध्यान शिक्षक तयारी, विकास तथा व्यवस्थापनमा केन्दिीत हुनु पर्छ । यस लेखमा शिक्षक तयारी तथा विकासका वर्तमान अभ्यासले एक्काईसाँै शताब्दीको आवश्यकता, अन्तरराष्ट्रिय परिवेशमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नदेखिएकाले आमूल परिवर्तनका लागि सङ्केत गर्न खोजिएको छ । सम्भावना भएमा यो लेख मार्ग चित्र (Road Map) हुने छ नत्र स्वैरकल्पना (Fantasy) मात्र हुने छ । यस लेखमा शिक्षक तयारी तथा विकास, विभिन्न आयोगका प्रतिवेदन र तिनको विश्लेषण, विद्यमान शिक्षक विकास तथा व्यवस्थापनसम्बन्धमा समीक्षा, भावी दिशा र अन्त्यमा निष्कर्ष निकालिएको छ ।

२.    शिक्षक तयारी तथा विकास

पूर्वीय सभ्यतामा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ । ज्ञान प्राप्त गर्ने सन्दर्भमा गुरु अर्थात शिक्षक मान्ने परम्परा पूर्र्वीय दर्शन र सभ्यतामा अधिक नै रहेको छ । पुराणमा वर्णित घटनाहरूमा ज्ञानका अथाह स्रोत भण्डारका रूपमा गुरुलाई लिइएको छ । देवताहरूले मात्र होइन दानवहरूले पनि ज्ञानका लागि गुरु राख्ने र गुरु मान्ने परम्परा भएको पौराणिक वर्णन पाइन्छ । पुराणमा वर्णन भए अनुसार देवाताहरूका गुरु वृहस्पति थिए । दावनहरूका गुरु शुक्राचार्य थिए । वाल्मीकि, व्यास, द्रोणाचार्य, कृपाचार्य विश्वामित्र, दुर्वासा, अष्ठबक्र, मार्कण्डेय, परशुराम जस्ता ऋषिमुनिहरू पौराणिक कालका विभिन्न कालखण्डमा ज्ञानका भण्डार थिए । पुरुष गुरुका साथै महिला विदुषीहरू पनि तत्कालीन कालखण्डका ज्ञान प्रदान गर्ने महर्षि थिए । ज्ञान दिने गुरुको महिमालाई संस्कृत भाषामा गुरुर्ब्रह्माः गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरु साक्षात्परब्रह्म तस्मै श्री गुरुवे नमः जस्ता श्लोकमा उल्लेख गरिएको छ ।

नेपालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ पश्चात शिक्षक नियुक्तिलाई व्यवस्थित गरिएको हो । यस योजनामा  विद्यालयको तह अनुसार शिक्षकको योग्यता, तालिम तथा नियुक्तिको प्रक्रिया तोकिएको थियो । राष्ट्रिय शिक्षा पद्धतिको योजना पूर्व शिक्षक नियुक्तिमा केही प्रावधान तोकिए पनि विद्यालय सहयोग समितिले विद्यालयको आवश्यकता अनुसार शिक्षक नियुक्त गथ्र्यो । कतिपय स्थानमा योग्यता प्राप्त शिक्षकको अभाव हुँदा थोरै योग्यता भएका व्यक्तिलाई पनि शिक्षकमा नियुक्ति गरिन्थ्यो । शिक्षक नियुक्ति गर्दा तोकिएको योग्यता वृद्धि गर्ने र तालिम लिने सर्त पनि राखिएको थियो ।

शिक्षक  विकास तथा व्यवस्थापनका दुई भिन्न दृष्टिकोण पाइन्छ । पहिलो दृष्टिकोण अनुसार विद्यालयमा शिक्षण कार्य गर्न आवश्यक पर्ने शिक्षकको योग्यता तथा तालिम पूर्व निधारित हुने गर्छ । तोकिएको योग्यता तथा तालिम हासिल गरेको प्रतियोगी मध्ये उत्कृष्टताका आधारमा आवश्यक सङ्ख्या अनुसार सम्बन्धित निकायले नियुक्त गर्दछ । अर्को दृष्टिकोण अनुसार बजारमा उपलब्ध निम्नतम् योग्यता हासिल भएका व्यक्तिहरूबाट प्रतिस्पर्धात्मक प्रतियोगिताबाट उत्कृष्टताका आधारमा छनौट गरी आवश्यकता अनुसार शिक्षक विकास गर्नका लागि सेवा प्रवेशपश्चात कम्तिमा ६ महिना वा १ वर्षको सघन तालिम उपलब्ध गराइन्छ । योग्यता र तालिम लिएका तयारी शिक्षक भित्र्याउने कि योग्यता हासिल गरेका नियुक्ति गरेर आवश्यकतानुसार तालिम दिएर अपेक्षित शिक्षक विकास गर्ने भन्ने दुई दृष्टिकोण नै बहुप्रचलित दृष्टिकोण हुन् ।

प्राज्ञिक योग्यता र शिक्षक तयारी कोर्स पुरा गरेका उम्मेदवारहरू मध्येबाट शिक्षक छनौट गर्ने कि प्राज्ञिक योग्यता हासिल गरेका उम्मेदवारहरू मध्येबाट शिक्षक छनौट गरी सघन रूपमा शिक्षक तयारी कोर्स उपलब्ध गराउने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ । शिक्षा शास्त्र अध्ययन गरी प्राज्ञिक योग्यता र तालिम सँगसँगै हासिल गरेका, अन्य सङ्काय र अध्ययन संस्थानबाट प्राज्ञिक योग्यता हासिल गरी शिक्षा शास्त्रमा एक वर्षे बीएड गरेका र अध्यापन अनुमति पत्र प्राप्त उम्मेदवारहरू र यस्तै उम्मेदवार मध्येबाट छनौट गरी शिक्षक नियुक्ति भएकाबाट गुणस्तरीय शिक्षण सिकाइ हुन सकेको छ वा छैन अध्ययन र अनुसन्धान गर्नु पर्छ ।

शिक्षा शास्त्र अध्ययन गरी प्राज्ञिक योग्यता र तालिम सँगसँगै हासिल गरेका उम्मेदवार भन्दा अन्य सङ्काय र अध्ययन संस्थानबाट प्राज्ञिक योग्यता हासिल गरी शिक्षा शास्त्रमा एक वर्षे बीएड गरेका उम्मेदवारमा विषयवस्तुमा दख्खलता बढी हुने गरेको अध्ययन, अनुसन्धान तथा अनुभवबाट प्राप्त भएको छ । हाम्रा विश्व विद्यालयहरूमा सञ्चालन भएका एक वर्षे बीएड कार्यक्रमले शिक्षक तयारी कोर्सको मर्मलाई आत्मसात नगरेको परिवेशमा एक वर्षे बीएड कार्यक्रमले शिक्षक तयारी कोर्स पुरा गरेको मान्न सक्ने र विश्वास गर्न सक्ने अवस्था देखिँदैन ।

३. विभिन्न आयोगका प्रतिवेदन र तिनको विश्लेषण

नेपालमा शिक्षा, नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११

नेपालमा शिक्षा, नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ : शिक्षक नै शिक्षाको जग हो । गुरुले जस्तो पढाउँछ त्यस्तै चेलाले सिक्दछ । शिक्षण एउटा कला र विज्ञान हो । हरेक मानिस योग्य शिक्षक हुन सक्दैन । योग्य शिक्षक जन्मछन्, बनाईँदैनन् भन्ने कथन छ । कुनै मानिसमा पढाउने गुणको विशेषता पाइन्छ । साथसाथै त्यस्तो विशेष गुणको विकास तालिमद्वारा हुँदै जान्छ । आजभोलि शिक्षकहरूले व्यावसायिक तालिम लिनै पर्दछ भन्ने सिद्धान्तले मान्यता पाएको छ । पढाउने व्यवसाय लिएको व्यक्तिहरूमध्येबाट योग्य उम्मेदवार छान्न जरुरी छ । तर तालिमबाट प्रभावशाली शिक्षकहरू बन्दछन् ।

शिक्षक नै शिक्षाको सफलता र असफलताको मुख्य कारण हो । उनले राम्रो शैक्षिक वातावरण उत्पन्न गरेको छ छैन, त्यस उपर नै शिक्षाको सफलता र असफलता निर्भर रहन्छ । शिक्षकले पढाउने व्यवसायमा पारङ्गत हुनु पर्दछ । शिक्षक आफैं आधार व्यवसायसम्बन्धी शिल्पमा योग्य र त्यस्ता शिल्प सिकाउनमा दक्ष हुनु पर्दछ । शिक्षक व्यक्तिगत रूपमा राम्ररी विकसित हुनु पर्दछ र अविछिन्न रूपले आफूलाई विकास गर्न जान्ने कार्यविधिमा दक्ष हुनु पर्दछ ।

सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, २०१८

सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, २०१८ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ ः तलब भत्ताको सन्तोषजनक स्केल र सामाजिक स्तर दिएर शिक्षण पेसाको उचित सम्मान, जसबाट यस पेसामा योग्य मानिसहरू प्राप्त हुन सकून् । उत्साहित नवयुवकहरूलाई शिक्षण व्यवसायमा लगाउन हाम्र हाइ स्कुलहरूमा शिक्षक वृद्धि आन्दोलन चलाउनु पर्दछ । भविष्यमा हाम्रा माध्यमिक विद्यालयहरूमा सिकाउन उत्सुक हुने सबैलाई बीएड उपाधि (डिग्री) को योग्यता अनिवार्य गराउनु पर्दछ ।

जबसम्म शिक्षकको आवश्यकता बढी मात्रामा रहिरहन्छ र राम्ररी तालिम पाएका शिक्षकहरूको आवश्यकता पुरा गर्न सकिन्न, तबसम्म तालिम नपाएका स्नातकहरू (ग्रयाजुएट) लाई आफू नियुक्त भएको मितिले ५ वर्षभित्र तालिम लिइसक्नुपर्ने सर्तमा काममा लगाउन सकिन्छ । पहिला तालिम प्राप्त शिक्षकहरूको निमित्त बराबर कार्यशाला अन्तर सेवा तालिम प्रसारको पाठ्यक्रमहरूको व्यवस्था गरिनु पर्दछ । कलेज अफ एजुकेसनमा प्रशिक्षार्थीहरूलाई बीएडको डिग्री प्राप्त गरेपछि शिक्षा सेवामा लिइने निश्चितता दिइनुपर्दछ । तिनीहरूको नियुक्तिको बन्दोबस्त पहिले नै गरिनु पर्दछ जसबाट निरुत्साहपूर्ण ढिलाइ नहोस् र तिनीहरू अरू व्यवसायमा तानिने सम्भावना पनि नहोस् । कलेज अफ एजुकेसन पाठ्यक्रमको विस्तारै विस्तारै नवीनीकरण गरिनु पर्दछ जसले कि मैथोडोलोजी (शिक्षण विधि) मा दिइएको ध्यानलाई कम नगरिकन विषयमा पनि ज्यादै जोड दिन सकियोस् ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८  मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ :

तालिम प्राप्त शिक्षकको सङ्ख्या बढाउने :

क) सबै विद्यालयहरूमा तालिम प्राप्त शिक्षक राख्न क्रमशः अनिवार्य गरिने छ र नयाँ योजना लागू भएका जिल्लाहरूमा यो नियम लागू गरिेने छ ।

ख) तत्कालै धेरै सङ्ख्यामा शिक्षकहरू तयार गर्न एसएलसी वा सो सरह पास भएका, आइ वा सो सरह पास भएका तथा बीए वा सो सरह भएका व्यक्तिहरूलाई एक एक वर्षको तालिम दिई क्रमशः प्राथमिक शिक्षक, निम्न माध्यमिक शिक्षक र माध्यमिक शिक्षकका लागि तयार गरिने छ ।

ग) हाल काम गरिरहेका अनुभवी शिक्षकहरूको पनि न्यूनतम् योग्यता पुग्छ भने सेवाकालीन तालिमको माध्यमबाट तालिम दिइनेछ ।

घ) प्रत्येक शिक्षकलाई शारीरिक अभ्यास र शारीरिक शिक्षाको तालिम अनिवार्य हुनेछ ।

तालिमको स्तर बढाउने व्यवस्था :

क) शिक्षक शिक्षणको पाठ्यक्रम वर्तमान आवश्यकता सुहाउँदो निर्धारण गर्न व्यवस्था गरिने छ ।

ख) प्रत्येक विषयमा नेपालको वास्तविक परिस्थिति र आवश्यकता सुहाउँदा पाठ्य पुस्तकहरू तयार गराउने व्यवस्था हुनेछ ।

ग) शिक्षण तरिकाको साथसाथै विषय शिक्षणमा पनि पर्याप्त जोड दिनु जरुरी भएकाले शिक्षक तालिम महाविद्यालयमा विभिन्न विषयमा उपयुक्त फेकल्टीहरूको विकास हुनु पर्दछ ।

घ) शिक्षक शिक्षण तरिकामा अनुसन्धानलाई प्रोत्साहन दिनु आवश्यक छ र शिक्षाशास्त्रलाई नेपालको परिस्थितिसँग मिल्ने गरी विकास गर्न प्रयास हुनु पर्दछ ।

ङ) शिक्षक शिक्षण विधिको तालिम लिन आउनेहरूको न्यूनतम् योग्यता बढाउनु जरुरी छ । तसर्थ दुर्गम क्षेत्रमा बाहेक अन्यत्र प्राथमिक शिक्षक हुन एसएलसी वा सो सरह निम्न माध्यमिक शिक्षक तालिम लिन आइए वा सो सरह र माध्यमिक शिक्षक तालिम पाउन बीए वा सो सरह भएमा उचित हुनेछ ।

च) शिक्षकहरूलाई नयाँ तरिकाले जाँच गर्ने विषयमा तालिम लिनु अनिवार्य हुने छ । 

सेवाकालीन विशेष तालिम : विज्ञान, गणित आदि सबै विषयमा शिक्षकहरूलाई विशेष तालिम दिनु पर्दछ । देशभरि शिक्षकहरूलाई यस्ता तालिम क्रमशः उपलब्ध गराउने व्यवस्था गरिने छ ।

तालिमपछि काममा खटाउने व्यवस्था :

क) तालिम प्राप्त शिक्षकहरूलाई शिक्षा मन्त्रालयले सम्बन्धित विद्यालयमा खटाउने छ । सम्बन्धित विद्यालयले उक्त शिक्षकलाई लिन अनिवार्य हुनेछ ।

ख) शिक्षकहरूले तालिम पाए बमोजिम ठिक तरिकाले सिकाउने गरेका छन् वा छैनन् शिक्षा निरीक्षकले मूल्याङ्कन गरी शिक्षा मन्त्रालय तथा शिक्षक तालिम केन्द्रमा प्रतिवेदन पठाउने छन् ।

ग) तालिम प्राप्त गरेको निश्चित अवधिपछि शिक्षकहरूले पुनः सेवाकालीन तालिमको व्यवस्था हुनु पर्दछ ।

व्यावसायिक शिक्षकहरू : व्यावसायिक शिक्षकहरूलाई तालिम दिने व्यापक कार्यक्रम हुनेछ । हालको भन्दा व्यावसायिक तालिमको स्तर क्रमशः बढाउँदै लैजाने व्यवस्था गरिने छ । व्यावसायिक शिक्षाको पढाइमा विशेष जोड दिने यस योजनाको उद्देश्य भएकाले व्यावसायिक शिक्षा विषयमा शिक्षक तालिममा पनि विशेष ध्यान दिइने छ । राज्यका प्रत्येक विद्यालयका शिक्षकहरूलाई व्यावसायिक शिक्षा सिकाउने स्तरयुक्त तालिम दिइने छ र सबै विद्यालयका शिक्षकहरूलाई पालैपालो गरेर तालिम उपलब्ध गराइनेछ । व्यावसायिक विषयहरूमा डिग्री वा डिप्लोमा प्राप्त गर्ने व्यक्तिहरूलाई शिक्षण तरिकाको तालिम दिई व्यावसायिक शिक्षक बनाउने व्यवस्था हुनेछ ।

शिक्षकहरूको सेवामा सुधार : शिक्षाको सुधार र उन्नति गर्न योग्य व्यक्तिहरूलाई शिक्षक बनाउनु र उनीहरूलाई शिक्षामा नै बस्न राजी गराउनु ज्यादै जरुरी छ । प्राथमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकको न्यूनतम् योग्यता एसएलसी वा सो सरह र तालिम प्राप्त, निम्न माध्यमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकको न्यूनतम् योग्यता आइएड वा आइए वा सो सरह र तालिम प्राप्त, माध्यमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकको न्यूनतम् योग्यता बीएड वा बीए वा सो सरह र तालिम प्राप्त हुनु पर्ने छ ।

राष्ट्रिय शिक्षा आयोग २०४९

राष्ट्रिय शिक्षा आयोग २०४९ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ :

विद्यालय तहको शिक्षण पेसामा प्रवेश गर्न शिक्षक प्रशिक्षण अनिवार्य गर्ने, हाल शिक्षण पेसामा प्रवेश गरिसकेका तर तालिम नपाएका शिक्षकहरूलाई अनिवार्य रूपले तालिम दिने व्यवस्था मिलाउने, तालिम प्राप्त शिक्षकहरूलाई दिने तलब तथा अन्य सुविधाहरू तालिमको तह अनुसार बढाउँदै लैजाने, पूर्वप्राथमिक प्रशिक्षण अन्तर्गत प्रवेशिका उत्तीर्ण गर्ने व्यक्तिलाई १० महिने प्रशिक्षण र प्रशिक्षण प्राप्त गरी अध्यापनमा संलग्न शिक्षकलाई प्रत्येक ५ वर्षमा छोटो अवधिको (कम्तिमा ६ हप्ता) को सेवाकालीन प्रशिक्षण दिने व्यवस्था गर्ने, प्रमाणपत्र तहमा प्राथमिक शिक्षामा विशिष्टीकरण गराउने गरी दुईवर्षे उपाधिमूलक कार्यक्रमको सञ्चालन गर्नु पर्ने, प्राथमिक शिक्षामा विशिष्टीकरण गरी प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेकालाई प्राथमिक शिक्षामा नै विशिष्टीकरण गर्ने गरी तिन वर्षे बीएडको कार्यक्रम सञ्चालन गर्नु पर्ने, अरु सङ्कायबाट प्रमाणपत्र तह उत्तीर्ण गरेकालाई १० महिने तालिम दिई ६, ७, ८ कक्षाका लागि तालिम प्राप्त शिक्षकको प्रमाणपत्र दिने, माध्यमिक शिक्षाका विभिन्न विषयमा विशिष्टीकरण गराउने गरी एक वर्षे बीएड कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्ने, माध्यमिक शिक्षाका विभिन्न विषयमा विशिष्टीकरण गरी बीएड उपाधिप्राप्त व्यक्तिलाई दुई वर्षे एमएड कार्यक्रममा सहभागी बनाउने र उच्च माध्यमिक स्तरमा अध्यापन गराइने कुनै एक विषयमा विशिष्टीकरण गर्न लगाउने, अन्य विषयमा स्नातकोत्तर गर्नेहरूका लागि ५ महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, विश्व विद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्ने र गर्न चाहनेका लागि विषयगत शिक्षण विधि, शैक्षिक प्रविधि, पाठ्यक्रम निर्माण तथा मूल्याङ्कन, अनुसन्धान विधि, मूल्याङ्कन विधि, शैक्षिक इतिहासका साथै शिक्षाका सामाजिक तथा दार्शनिक पक्षहरूको सम्बन्धमा परिचयात्मक जानकारी दिने उद्देश्यले छोटो अवधिको प्रशिक्षण दिने ।

शिक्षक सेवा आयोग नियमावली २०५७

शिक्षक सेवा आयोग नियमावली २०५७ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ :

प्राथमिक विद्यालयको शिक्षकको लागि माध्यमिक शिक्षा उत्तीर्ण वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दस महिने वा सोसरहको तालिम लिएको वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा चारसय पूर्णाङ्कको शिक्षा विषय लिई सो परीक्षा उत्तीर्ण गरेको, निम्न माध्यमिक विद्यालयको शिक्षकका लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दस महिने तालिम लिएको हुनु पर्ने तर कुनै व्यक्तिले दुई सय पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम आवश्यक पर्ने छैन ।

माध्यमिक विद्यालयका शिक्षकका लागि सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दस महिने तालिम लिएको हुनु पर्छ । कुनै व्यक्तिले शिक्षा शास्त्रतर्फ प्रवीणता प्रमाण पत्र वा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता प्राप्त गरेको भए तालिम प्रयोजनका लागि तालिम लिएको मानिने व्यवस्था छ । प्राथमिक वा निम्न माध्यमिक तहको शिक्षकका लागि माथिल्लो तहको तालिम लिएको भए पनि तालिम प्राप्त भएको मानिने प्रावधान छ । संवत् २०६८ साल श्रावण १ गतेदेखि प्राथमिक तहको शिक्षकका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण नगरेको व्यक्ति उम्मेदवार हुन सक्ने छैन ।

विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२

विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२ मा शिक्षकको तयारी तथा विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । शिक्षकहरूको गुणस्तर तथा सक्षमतामा नै शिक्षाको गुणस्तर निर्भर गर्छ । शिक्षकहरूको न्यूनतम् योग्यता र स्तरको वृद्धि हुनुपर्ने भनी प्रस्ताव गरिनुका साथै अनिवार्य तालिम तथा पुनर्ताजगी तालिमका प्रावधानहरूको योजना गरिएको छ ।

शिक्षक नियुक्ति : शिक्षक नियुक्ति प्रक्रिया स्थानीय स्तरमा विकेन्द्रित गरिनेछ र शिक्षा मन्त्रालयको निर्देशनअनुसार अध्यापन अनुमति पत्र लिएका व्यक्तिहरू मध्येबाट नियुक्त गरिनेछ । अध्यापन अनुमति पत्रको अभ्यासलाई अझ सुदृढ गरिनेछ ।

वृत्ति विकास : पेसागत वृत्ति विकासका दुई पाटा हुनेछन् : एउटा आधारभूत तहका शिक्षक र अर्को माध्यमिक शिक्षक । तर आधारभूत तहका उपयुक्त योग्यता भएका शिक्षक पनि माध्यमिक तहका लागि हुने खुला तथा आन्तरिक प्रतियोगितामा प्रतिस्पर्धी हुन पाउने छन् ।
न्यूनतम् योग्यता : शिक्षकका लागि न्यूनतम योग्यताः

(क) आधारभूत शिक्षाका लागि शिक्षक तयारी कोर्स लिएको (तालिम प्राप्त) उच्च माध्यमिक विद्यालय (मावि) वा सोसरहको

(ख) माध्यमिक तहका लागि शिक्षक तयारी कोर्स लिएको तालिम प्राप्त) एमएड् वा सोसरहको । तथापि कम योग्यता भएका हाल कार्यरत शिक्षकहरू सम्बन्धित तहका तल्ला कक्षामा पढाउन योग्य नै मानिने छन् । आधारभूत र माध्यमिक दुवै तहका शिक्षकको पेसागत वृत्ति विकासका चार चरण र तह हुनेछन् : नवप्रवेशी, अनुभवी, निपूर्ण, र विशेषज्ञ ।

विभिन्न सूचकहरू, जस्तैः पूरा समयभरि कार्य गर्ने, ज्येष्ठता, योग्यता, तालिम र विद्यार्थीहरूको उपलब्धिलाई आधार मानी शिक्षकहरूको बढुवा र स्तरोन्नति गर्ने प्रावधान राखिने छ । माथिल्लो वा थप योग्यता भएका शिक्षकहरू सम्बन्धित तहमा छिटो बढुवा हुन योग्य हुनेछन् । विद्यालय क्षेत्र सुधार योजनाले आधारभूत शिक्षाका लागि शिक्षकको न्यूनतम् योग्यता शिक्षाशास्त्रमा प्रमाणपत्र तह या शिक्षक तयारी कोर्ससँग सम्बन्धित उच्च माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्ने भनी तोकेको छ । शिक्षक हुनका लागि तोकिएको योग्यता र तालिम नभएको व्यक्ति योग्य मानिने छैनन् । तथापि एसएलसी वा सोभन्दा तलको शैक्षिक योग्यता भई हाल विद्यालयमा कार्यरत शिक्षकले पाँच वर्षभित्रमा तोकिएको न्यूनतम् योग्यता पुरा गरिसक्नु पर्नेछ ।

शिक्षक तयारी कोर्स : न्यूनतम शैक्षिक योग्यताका अतिरिक्त एक वर्षे शिक्षक विकास कोर्स हुनेछ ।

तालिम : शिक्षक विकासको कार्यका लागि सरकार जिम्मेवार हुनेछ । शिक्षण सिकाइका अभ्यासहरूमा आएका नयाँपनहरूसँग परिचित हुन शिक्षकहरूले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पल्ट एक महिने सेवाकालीन तालिम लिनुपर्छ । लामो तथा छोटो अवधिबाट प्राप्त तालिमलाई वृत्ति विकाससँग आबद्ध गरी शिक्षकको पेसागत विकास गरिनेछ ।  प्रधानाध्यापकले तयारी कोर्स लिनुका साथै न्यूनतम् योग्यता आधारभूत र माध्यमिक तहमा क्रमशः बीएड् र एमएड् प्राप्त गरेको हुने छ । आधारभूत शिक्षा तहको सबै उच्च प्राथमिक विद्यालयमा प्रधानाध्यापकका लागि एउटा छुट्टै पद हुनेछ । आधारभूत तहको प्रधानाध्यापक हुनका लागि न्यूनतम् शैक्षिक योग्यता शिक्षा शास्त्र सङ्कायमा स्नातक तह या सोसरहको शिक्षक तयारी कोर्स पुरा गरेको हुनेछ । विद्यालयको प्रधानाध्यापक हुनका लागि प्रधानाध्यापकका लागि सञ्चालन हुने व्यवस्थापन तालिम अनिवार्य रूपमा लिएको हुनुपर्नेछ । कार्यरत शिक्षकमध्येबाट प्रधानाध्यापक छानिने छन् ।

४.    विद्यमान शिक्षक विकास तथा व्यवस्थापनसम्बन्धी समीक्षा

नेपालमा शिक्षा, नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण, २०११  को प्रतिवेदनले शिक्षक व्यवस्थापनका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको थियो । यसमा शिक्षण कला र पढाउने गुणको विकास तालिमबाट हुने, शिक्षक हुन व्यावसायिक तालिम लिनै पर्ने, शिक्षक पढाउने कलामा पारङ्गत हुनै पर्ने, शिक्षक सिकाउन दक्ष हुनै पर्ने, पढाउने व्यवसाय लिएका मध्ये योग्य उम्मेदवार छानी तालिम दिनु पर्ने, शिक्षकले आफूलाई आफैँ विकास गर्नु पर्ने कुरा उल्लेख गरेको छ । प्रतिवेदनको आसय योग्यता प्राप्त व्यक्तिहरू मध्येबाट शिक्षक छनौट गरी तिनीहरूलाई तालिमबाट प्रभावशाली शिक्षक बनाउनु पर्छ भन्ने रहेको छ । विद्यार्थीको सिकाइ उपलब्धि बढ्नु वा घट्नुको मुख्य जिम्मेवार व्यक्ति शिक्षक नै भएको, शैक्षिक वातावरण राम्रो वा नराम्रो बनाउने जिम्मेवारी पनि शिक्षकको भएको दृष्टिकोण उल्लेख गर्दै शिक्षक तयारी, छनौट र विकासमा स्पष्ट दृष्टिकोण देखाएको छ ।
सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, २०१८ ले कुनै विषयमा स्नातकहरूलाई नियुक्त भएको मितिले ५ वर्षभित्र तालिम लिने सर्तमा काममा लगाउने, कलेज अफ एजुकेसनले शिक्षण विधि (मैथोडोलोजी) मा ध्यानलाई कम नगरिकन विषयमा जोड दिने उल्लेख गरी शिक्षक हुनाका लागि विषयवस्तुको ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ले शिक्षक हुनाका लागि सम्बन्धित तहको न्यूनतम् योग्यता तोक्ने, सेवाकालीन तालिमको व्यवस्था गर्नेे, गणित, विज्ञान लगायतका सबै विषयमा शिक्षकहरूलाई विशेष तालिम दिने, शारीरिक अभ्यास र शारीरिक शिक्षाको तालिमलाई अनिवार्य गर्ने, व्यावसायिक विषयमा डिग्री वा डिप्लोमा प्राप्त गर्ने व्यक्तिहरूलाई शिक्षण तरिकाको तालिम दिई व्यावसायिक शिक्षक बनाउने, योग्य व्यक्तिहरूलाई शिक्षकमा नै बस्न राजी गराउने जस्ता प्रावधान उल्लेख गरेको र शिक्षकका लागि विशेष तालिम दिने, शारीरिक अभ्यास र तालिम अनिवार्य गर्ने र व्यावसायिक शिक्षकलाई तालिम दिने आवश्यकता महसुस गरेको पाइन्छ ।

शिक्षक सेवा नियमावली २०५७ ले शिक्षा शास्त्रमा प्रवीणता, स्नातक र स्नातकोत्तर गरेकालाई तालिम लिएको मानिने, शिक्षा शास्त्रबाहेक अन्य सङ्काय वा अध्ययन संस्थानमा अध्ययन गरेकालाई सम्बन्धित योग्यता हासिल गरेपछि १० महिने तालिम लिनै पर्ने व्यवस्था गरेको छ । यसबाट शिक्षा शास्त्रका उत्पादनलाई तालिम र योग्यता दुवै मान्दा गुणस्तरमा सम्झौता हुन सक्ने र विषयवस्तुमा दक्ष शिक्षकको पूर्ति हुन कठिन देखिन्छ । २०६८ साल साउन १ देखि  प्राथमिक तहको शिक्षकका लागि प्रवीणता प्रमाण पत्र वा सो सरहको हुने गरी न्यूनतम् योग्यता वृद्धि गरिएको छ । यसबाट एसएलसीका तुलनामा बढी योग्यता भएका व्यक्ति प्राथमिक तहको शिक्षकका लागि आवश्यक हुने महसुस गरेको पाइन्छ ।

विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२ ले तोकिएको योग्यता र तालिम पुरा नभएका व्यक्तिलाई शिक्षक हुन योग्य नमान्ने, प्राथमिक तहमा शिक्षक उच्च माध्यमिक शिक्षा वा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण र तालिम प्राप्त हुनु पर्ने, एसएलसी उत्तीर्ण भई शिक्षक हुनेले ५ वर्षभित्र तोकिएको न्यूनतम् योग्यता पुरा गर्नु पर्ने, माध्यमिक तहको शिक्षक हुनाका लागि शिक्षक तयारी कोर्स लिएको र एमएड वा सो सरहको योग्यता हुनु पर्ने प्रावधानले हाल भईरहेको शिक्षक योग्यता न्यून भएको र शिक्षण सिकाइका लागि हालको योग्यताले विषयवस्तु अपुग भएको महसुस गरेको पाइन्छ । यस योजनाले एक वर्षको शिक्षक तयारी कोर्सको प्रावधान राखेर सबै तहका शिक्षकहरू र प्रधानाध्यापकका लागि शिक्षक तयारी कोर्स अनिवार्य गरेबाट हालको योग्यता र तालिम एकै उपाधिबाट पाइने व्यवस्थाप्रति विश्वास घटेको पुष्टि गरेको छ । साथसाथै बीएड र एमएडको प्रावधान उल्लेख गरेर यस्ता उपाधि हासिल भएकाले पनि १ वर्षको शिक्षक तयारी कोर्स लिनु पर्ने प्रावधान समेत उल्लेख गरेर हालका बीएड तथा एमएड उपाधि हासिल गरेका व्यक्तिलाई शिक्षा शास्त्रको अध्ययनबाट मात्र योग्यता र तालिमको उपाधि मिल्न नसक्ने सङ्केत गरेको छ । तर प्राज्ञिक योग्यता र शिक्षक तयारी कोर्सलाई न्यूनतम् योग्यता मान्ने कि प्राज्ञिक योग्यता हासिल भएका मध्ये शिक्षक छनौट गरेर शिक्षक तयारी कोर्स उपलब्ध गराउने विषयमा योजना आफैमा अन्यौलमा छ ।

योग्य शिक्षक भित्र्याउन तोकिएको नम्र्स अनुसारका शिक्षक भर्ना गर्ने कि शिक्षक भर्ना गरेर देशको आवश्यकता अनुसारको तालिम दिई शिक्षक तयार गर्ने भन्ने विषयमा विगतका आयोग तथा योजनामा अवधारणा स्पष्ट गरिएको छैन । बरु नियमावलीमा तोकिएको योग्यता र तालिम लिएका व्यक्तिलाई शिक्षक छनौटमा सहभागी गराएर प्रतिस्पर्धाबाट छनौट गर्ने स्पष्ट गरिएको छ । हालको प्रावधानबाट शिक्षक छनौट गर्दा देशले अपेक्षा गरे अनुसारका विद्यार्थी उत्पादन हुन नसकेको र अपेक्षित उत्पादन गर्ने मुख्य तत्त्व शिक्षक भएकाले शिक्षक विकास र व्यवस्थापन मा सुधार गर्नु पर्ने महसुस सबैले गर्नु पर्ने देखिन्छ । वर्तमान शिक्षक विकास र व्यवस्थापनका सम्बन्धमा विभिन्न प्रतिक्रिया आएको पाइन्छ :

वर्तमान शिक्षकहरूको विषयवस्तु दक्षता कमजोर छ, शिक्षा शास्त्रबाट उत्पादित जनशक्तिको विषयवस्तुको दक्षता अझै कमजोर छ, शिक्षा शास्त्रको अभ्यास शिक्षण नाम मात्रको भएको छ, बजारमा गुणस्तरीय शिक्षकका लागि उम्मेदवारका लागि दक्ष व्यक्तिको अभाव छ, शिक्षक भएका र हुन चाहनेमा सकारात्मक भावनाको अभाव छ, शिक्षण पेसालाई सबै भन्दा छोडिएको पेसा मानिएको छ, देशका विभिन्न स्थानमा खुलेका शिक्षा शास्त्रका स्नातकमा विषयवस्तु र सिपको अभाव छ, शिक्षण पेसाको मर्यादा कायम गराउन कठिन भएको छ, विश्व विद्यालयका अब्बल विद्यार्थीलाई शिक्षकमा आकर्षण गर्न नसकिएको अवस्था छ, विद्यार्थीको सिकाइ उपलब्धिप्रति जिम्मेवारी बोध गर्ने शिक्षकको अभाव छ, शिक्षण पेसामा समर्पित शिक्षकको अभाव छ, शिक्षकको पठन पाठनभन्दा अन्य क्षेत्रमा चासो बढेको छ, अध्यापन अनुमतिपत्रको व्यवस्थापन कमजोर छ, विषयगत अध्यापन अनुमति पत्रको व्यवस्था छैन, अध्यापन अनुमति पत्र प्राप्त व्यक्तिको ज्ञान, सिप र प्रवृत्तिमा न्यूनता छ, शिक्षक तयारी र विकासमा हालको पद्धतिले एक्काईसौं शताब्दी र विश्व परिवेशका ग्रयाजुएट उत्पादन गर्न नसक्ने अवस्था छ, गुणस्तरीय शिक्षा प्राप्त हुन सकेको छैन, उपयुक्त शिक्षकको व्यवस्थापन हुन नसकेको अवस्था छ, प्राथमिक तहका शिक्षक मात्र भएका विद्यालयले निम्न माध्यमिक र माध्यमिक तहको विद्यालय सञ्चालन गर्ने र नतिजा खस्कियो भनेर कोलाहाल गर्ने अवस्था छ, आदि । यी प्रतिक्रियाहरू यत्तिकै आएका होइनन् । यस्ता प्रतिक्रियाहरूमा सत्यता पनि छ । यी अनपेक्षित प्रतिक्रिया र शिक्षाको गुणस्तरमा आएको अनपेक्षित गिरावटको प्रमुख कारण शिक्षक तयारी र विकास नै हो भन्ने निष्कर्षमा पुग्न कुनै सङ्कोच मान्नु पर्दैन ।

५.    भावी दिशा

माथि उल्लिखित समस्याहरूको समाधान गरी गुणस्तरीय विद्यालय शिक्षा उपलब्ध गराउन निम्न बमोजिम कार्य गर्नु पर्ने देखिन्छ :

१.    विश्व विद्यालयका अब्बल विद्यार्थीलाई आकर्षण गर्न र शिक्षणलाई रोजाइको पेसा बनाउन समान तहका    नोकरीमा भन्दा बढी तलब भत्ता प्रदान गर्ने

२.    शिक्षा शास्त्र सङ्काय वा स्कुल अफ एजुकेसनबाट अध्ययन गर्ने र अन्य संकायमा अध्ययन गर्ने र     गरेका     ग्रयाजुयटका लागि एकै किसिमको शिक्षक छनौट प्रक्रिया अवलम्बन गर्ने

३.    हालको अध्यापन अनुमति पत्रको व्यवस्थालाई खारेज गर्ने

४.    शिक्षक छनौट प्रक्रियामा शिक्षण विधि र प्रविधिको विषयवस्तु नराख्ने, विषयगत विषयवस्तुको आधारमा शिक्षक छनौट गर्ने

५.    विषयगत विषयवस्तुमा कमजोर ग्रयाजुयट छनौट हुन नसक्ने गरी ज्ञान, सिप तथा प्रवृत्तिमा आधारित,     मौलिक     तथा सिर्जनात्मक उत्तर आउने प्रश्न पत्र तयार निर्माण गर्ने

६.    शिक्षक सेवा आयोगबाट छनौट भई सिफारिस भएका शिक्षकहरूलाई केन्द्रमा शिक्षा विभागले नियुक्ति प्रदान     गरेर १ वर्षको सघन सेवा प्रवेश तालिम उपलब्ध गराउने

७.    नवप्रवेशी शिक्षकहरूलाई सघन तालिम दिनका लागि हालको शैक्षिक जनशक्ति विकास केन्द्रको संरचनामा     परिवर्तन गरेर शिक्षक शिक्षा प्रतिष्ठान बनाउने, पूर्ण आवासिय तालिम सञ्चालन गर्न आवश्यक स्रोत  साधनले सम्पन्न गराउने

८.    १ वर्षे सेवा प्रवेश तालिम निम्नानुसार कार्यान्वयनको व्यवस्था गर्ने :

क)    पहिलो दुई महिना शारीरिक व्यायम, विभिन्न खेल (भलिबल, फुटबल, जिम्न्यास्टिक, मार्सल आर्ट, कपर्दी,     एथलेटिक्स आदि) को अभ्यास, चित्रकला, वाद्यवादन, नृत्य, डाइभिङ, पौडी, साँस्कृतिक कार्यक्रम, सह तथा     अतिरिक्त क्रियाकलाप, हाइकिङ, भूकम्प, प्राथमिक उपचार, वातावरण संरक्षण, अग्नि नियन्त्रण, दैवी प्रकोप     उद्धार, स्काउट,     योगा आदिमा प्रयोगात्मक     अभ्याससहित सघन तालिम उपलब्ध गराउने

ख)    दोस्रो तिन महिना शिक्षा मनोविज्ञान, शिक्षाको दर्शन, सिकाइ मनोविज्ञान, सिकाइ सिद्धान्त, पाठ्यक्रम, पाठ्य     पुस्तक,    परीक्षा, मूल्याङ्कन, निरन्तर मूल्याङ्कन प्रणाली, शिक्षण योजना, शैक्षिक सामग्री, शिक्षण विधि तथा     प्रविधि, शिक्षणमा सूचना     तथा सञ्चार प्रविधिको प्रयोग, विषयगत शिक्षण तरिका, उपचारात्मक शिक्षण,     मुख्य देशका शैक्षिक प्रणाली आदिको सैद्धान्तिक र प्रयोगात्मक अध्ययन अध्यापन गराउने

ग)    एक महिना उत्तम विद्यालयको अवलोकन भ्रमण, परियोजना कार्य, कार्यमूलक अनुसन्धान, मामला अध्ययन,     क्षेत्र भ्रमण आदि गरेर प्रतिवेदन तयारी र प्रस्तुतीकरण गर्न लगाउने

घ)    तिन महिना आफ्नो आफ्नो विषयमा विद्यालयमा गएर इन्टर्नसिप गर्ने, अध्यापन अभ्यास गर्ने, विद्यालयको     प्रधानाध्यापकको प्रत्यक्ष निगरानीमा पठनपाठन गर्ने, सुपरिवेक्षकको सुपरिवेक्षणमा अभ्यास गर्ने

ङ)    दुई महिना बाल अधिकार, बाल मैत्री सिकाइ, दण्डरहित सिकाइ, लैङ्गिक समता र समानता, समावेशीकरण,     सकारात्मक विभेद, बहुभाषिक शिक्षा, ग्लोबल वार्मिङ, विशेष आवश्यकता भएका बालबाालिकाको सिकाइ,     अपाङ्गता, साङ्केतिक भाषा, आचरण लगायतका अन्तरसम्बन्धित मुद्दाहरू लगायत विषयमा     अन्तरक्रियात्मक कार्यक्रम, प्रतिवेदन लेखन जस्ता क्रियाकलाप र क्षेत्र भ्रमण गराएर प्रशिक्षार्थीबाट एकओटा     कार्यमूलक अनुसन्धान र शिक्षण सिकाइसँग सम्बन्धित एकओटा शोध प्रबन्ध तयार गर्न लगाउने । यसरी     तयार भएका प्रतिवेदनको     सार्वजनिक सुनुवाई समेत गराउने

च)    शिक्षण अभ्यास, अनुसन्धान तथा ११ महिनाको तालिमबाट सिकेका कुराहरूको अनुभव आदानप्रदान गर्ने,      प्रदर्शनी गर्ने, प्रवचन दिने, विभिन्न ढाँचाबाट सार्वजनिकीकरण गर्ने

छ)    कार्यक्रमको समापनको १५ दिन पूर्व विस्तृत परीक्षा ९ऋयmउचभजभलकष्खभ भ्हबmष्लबतष्यल० सञ्चालन गर्ने,     उत्कृष्ट नतिजा ल्याउने शिक्षकका लागि स्वर्ण पदकको व्यवस्था गर्ने

९.    १ वर्ष अर्थात बार महिनाको सघन सेवा प्रवेश तालिम आवासिय रूपमा खाना, बस्न लगायतका सम्पूर्ण     व्यवस्था गरी सञ्चालन गर्नु पर्ने । सघन तालिम सहरी इलाकाभन्दा केही टाढा एकान्त स्थानमा हुनु पर्ने ।     विभिन्न सिकाइमा सहजीकरण गर्न र सिकाइमा सहयोग गर्न तालिम प्रदायक संस्थाको आफ्नै छात्रावास,     सवारी साधन, औषधि उपचार कक्ष, चिकित्साकर्मी हुनु पर्ने ।

१०.    प्रशिक्षार्थीको नियमित मूल्याङ्कन हुनु पर्छ । मूल्याङ्कन निर्माणात्क तथा निर्णयात्मक दुवै हुनु पर्ने । तालिम     उत्तीर्ण गर्न न्यूनतम् ६० प्रतिसत अङ्क हासिल गरेको हुनु पर्ने ।

११.    तालिम अवधिभर कुनै किसिमको बिदा नदिइने, सहभागीहरूको नियमित उपस्थिति अनिवार्य गर्नु पर्ने ।     तालिम     कडा अनुशासनमा सञ्चालन गर्नु पर्ने

१२.    तालिम सञ्चालन केन्द्रमा शारीरिक व्यायाम, सङ्गीत र खेलकुदको प्रशस्त अभ्यास गर्ने स्थान र सामग्री हुनु     पर्ने । तालिम सञ्चालन गर्दा बिहान ६ बजेबाट प्रारम्भ गर्नु पर्ने । बिहानमा कम्तिमा १ घण्टाको अनिवार्य     रूपमा शारीरिक व्यायम     गराउनु पर्ने । शारीरिक अभ्यास, खेलकुद र साँस्कृतिक तथा साङ्गीतिक     कार्यक्रममा भिन्न प्रशिक्षकको व्यवस्था गर्नु पर्ने । यस्ता प्रशिक्षकलाई सिक्ने सिकाउने कार्यको पूर्ण जिम्मेवारी     गराउनु पर्ने । आवासिय तालिममा बस्ने प्रशिक्षार्थी शिक्षकहरूबिच  खेलकुद तथा साँस्कृतिक कार्यक्रमका     प्रतिस्पर्धात्मक प्रतियोगिता     सञ्चालन गर्नु पर्ने

१३.    तालिमका लागि निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्नु पर्ने । निरन्तर     मूल्याङ्कनका साथसाथै अन्तिम परीक्षामा प्राप्त अङ्क र प्रयोगात्मक अङ्क जोडेर प्रशिक्षार्थीले प्राप्त गरेको     प्राप्ताङ्क उल्लेख गर्नु पर्ने । प्रशिक्षार्थीले प्राप्त गरेका उपलबिधलाई नतिजा प्रकाशन गरेर विद्यार्थीले प्राप्त     गरेको अङ्कका आधारमा स्तर निर्धारण गर्नु पर्ने । हरेक चरण (ब्याच) का तालिममा उत्कृष्ट नतिजा ल्याउने     प्रशिक्षार्थी शिक्षकलाई स्वर्ण पदक दिनु पर्ने । तालिममा प्रशिक्षार्थीले प्राप्त गरेको स्तरलाई जिल्ला शिक्षा     कार्यालय, शिक्षा विभाग, शिक्षा मन्त्रालय आदिले मान्यता दिएर उत्तम शिक्षकलाई पदस्थापना हुँदा प्रोत्साहन     दिनुपर्ने     । प्रशिक्षण समाप्तिपश्चात पदस्थापनाका लागि शिक्षा विभाग पठाउनु पर्ने । शिक्षा विभागले     आवश्यकताका आधारमा देशका विभिन्न जिल्ला शिक्षा कार्यालय अन्तर्गत पदस्थापनाका लागि पठाउनु पर्ने ।

६.    निष्कर्ष

विद्यमान शिक्षक तयारी र विकासले एक्काईसौं शताब्दीका लागि आवश्यक भएको शिक्षक उत्पादन हुनै सक्दैन । अहिलेको शिक्षक छनौटका लागि तोकिएका योग्यता, तालिम र शिक्षण अनुमति पत्रको व्यवस्थाले कुशल शिक्षकको अपेक्षा गर्न सकिँदैन । शिक्षामा सुधार गर्ने हो र विद्यार्थीको सिकाइको स्तरमा बढोत्तरी गर्ने हो भने अहिलेका प्रयासमा केही थप गरेर मात्र सुधार आउन सक्दैन । महत्त्वपूर्ण कुरा मनोवृत्तिको हो । जुन परिवेशमा, जुन मनोवृत्तिमा शिक्षक तयारी र विकास भएको छ, यसमा आमूल परिवर्तन नगरिकन शिक्षण सिकाइमा सुधार आउँदैन । देशका शिक्षकको गुणस्तरभन्दा माथि शिक्षण सिकाइको गुणस्तर हुनै सक्दैन ।

कमजोर तयारी र उत्साहहीन मनोवृत्तिका उत्पादित शिक्षकले गुणस्तर र उत्साही विद्यार्थी उत्पादन गर्नै सक्दैनन् । शिक्षामा सुधार गर्ने हो भने शिक्षक तयारी र विकासमा आमूल परिवर्तन गर्नु जरुरी छ । यसका लागि देश तयार हुनु आवश्यक छ । राजनीति तयार हुनु आवश्यक छ । अन्यथा हरेक वर्ष शिक्षाको गुणस्तर भएन भन्दै पछुताउनु बाहेक अर्को उपाय छैन । दुई तिन पुस्ता त गुणस्तरहीन शिक्षण सिकाइका शिकार भईसके ।

शिक्षक तयारी र विकासमा दह्रो ढङ्गबाट पाईला नचाल्ने हो भने अर्को दुई पुस्ता शिकार भएको आफ्नै आँखाले देख्ने अवस्था आउने छ । सामुदायिक विद्यालयहरू क्रमशः विद्यार्थी विहीन हुनेछन् । सार्वजनिक शिक्षाले समाजलाई पार्ने प्रभावहरू विस्तारै विलिन हुने छन् । यस लेखमा व्यक्त विचारलाई मार्ग चित्र मानेर शिक्षक तयारी र विकासमा लाग्ने हो भने परिवर्तनका सङ्केत देख्न पाइने छ, अन्यथा यो लेखका विचारहरू स्वैर कल्पना मात्र हुनेछन् ।

सन्दर्भ सामग्री

नेपालमा शिक्षा, नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण, २०११, कलेज अफ एजुकेसन, काठमाडौं, नेपाल

सर्वाङ्गीण राष्टिय शिक्षा समितिको रिपोर्ट, २०१८, श्री ५ को सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग, काठमाडौं, नेपाल

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९, श्री ५ को सरकार, शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय, केशरमहल, काठमाडौं, नेपाल

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, केशरमहल, काठमाडौं, नेपाल

शिक्षा ऐन, २०२८, शिक्षक सेवा आयोग नियमावली २०५७ र शिक्षा नियामाली, २०५९, कानुन किताब व्यवस्था समिति, बबरमहल, काठमाडौं

विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२, शिक्षा मन्त्रलाय, केशरमहल, काठमाडौं


बराल शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक हुन् । उनको यो आलेख केन्द्रले प्रकाशित गरेको शिक्षक शिक्षाबाट साभार गरिएको हो ।

प्रतिक्रिया