काठमाडौं १८ जेठ/कर्णालीका छात्रालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको छात्रावास सञ्चालनमा समस्या भएको छ । दैनिक खर्च गर्ने रकमसमेत नभएपछि छात्रावासमा आश्रित छात्रालाई खाना खुवाउनसमेत समस्या भएको छ । जुम्लाको हिमाली छात्रावास डिल्ली चौर, हिमाली छात्रावास हाँकु र फिडर छात्रावासका ९० छात्राको रकम निकासा नभएपछि समस्या भएको हो । हिमाली छात्रावास डिल्लीचौरमा ५०, हिमाली छात्रावास हाँकु र फिडर छात्रावासमा २०-२० छात्राहरू बस्दै आएका छन् ।
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले बजेट नआउँदा छात्रावास सञ्चालनमा समस्या भएको बताए । ‘छात्रावासका लागि छुट्टाइएको रकम नआउँदा खाना खुवाउन र वार्डेनलाई पारिश्रमिक दिन कठिन भएको छ,’ जिशिअ फडेराले भने, ‘अरू कार्यक्रमको बजेटबाट छात्रालाई खाना खुवाउने गरेका छौँ । अब त्यसो गर्न पनि कठिन भएको छ ।’ छात्रावासको रकम नआउँदा जिल्लामा सञ्चालन हुने अन्य कार्यक्रमसमेत प्रभावित भएको उनले बताए । छात्रावास सञ्चालनका लागि करिब ४० लाख बजेट माग गरिएको छ ।
पैसा पठाउँदै छौँ : शिक्षा विभाग
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जुम्लाका छात्रावासका लागि रकम पठाउने तयारी भइरहेको बताए । महानिर्देशक पौडेलले भने, ‘जिल्ला शिक्षाले पहिले रकम माग नगरेका कारण समस्या भएको हो, हाम्रा कारणले ढिलाइ भएको होइन ।’ कार्यक्रम संशोधन गरी अर्थमन्त्रालयसँग रकम माग गरेको र छिट्टै निकासा हुने उनले बताए ।
प्रोत्साहन कार्यक्रमले बढ्दै छन् छात्रा
पछिल्लो समय जुम्लाका विद्यालयमा भर्ना हुने छात्राको संख्या बढ्दो छ । छात्रावास, छात्रावृत्तिलगायत सुविधाले छात्राहरूको संख्या बढ्दै गएको हो । अहिले जुम्लामा प्रारम्भिक बालविकासमा दुई हजार एक सय एक, आधारभूत तह (१–८) २८ हजार चार सय १८, माध्यमिक (९–१०)मा पाँच हजार एक सय ४८ र कक्षा ११, १२ मा एक हजार पाँच सय ५६ विद्यार्थी छन् । जिशिअ फडेरका अनुसार यसमध्ये ५० प्रतिशतभन्दा बढी छात्रा छन् । उनका अनुसार जुम्लामा सामाजिक, आर्थिक, लैंगिक र शैक्षिक असमानताका कारण माथिल्लो तहमा छात्रा भर्नादर कम छ । जिल्लामा शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग, कर्णाली अञ्चल दिवा खाजा कार्यक्रम, विद्यार्थी मूल्यांकन तथा निरन्तर विद्यार्थी मूल्यांक, निःशुल्क पाठ्यक्रमको व्यवस्था गरेको फडेराले बताए ।
यस्तो छ शैक्षिक अवस्था
कर्णाली अञ्चललाई दुर्गम मानिए पनि भर्नादरका हिसाबले शैक्षिक रूपमा अगाडि छ । बालविकास केन्द्रको खुद प्रवेश दर ८० प्रतिशत छ । प्राथमिक तहको खुद भर्ना दर ९७ प्रतिशत, निमावि तहको खुद भर्ना दर ६१ प्रतिशत, माध्यमिक तहको खुद भर्नादर ५७ प्रतिशत छ । कक्षा एकमा बीचैमा विद्यालय छोड्ने दर १२ प्रतिशत छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया