काठमाडौं १८ जेठ/प्राध्यापक डाक्टर गोविन्द केसीले सुदूरपश्चिमबाटै राजनीति सुरु गरेर शीर्ष भएका नेताहरूले नै गेटामा मेडिकल कलेज बन्न नदिएको बताउनुभएको छ । गेटा मेडिकल कलेजको निर्माणको अवस्था हेर्न धनगढी आउनुभएका प्राध्यापक डाक्टर केसीले बुधबार पत्रकारसँग कुराकानी गर्दै सुदूरपश्चिम जन्मथलो भएका शीर्ष नेताहरूले नै स्वास्थ्य क्षेत्रका माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्न गेटा मेडिकल कलेजको निर्माण रोकेको आरोप लगाउनुभएको हो ।
‘दुई वर्षअघि सरकारले प्रत्येक विकास क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्ने सहमति गरेको थियो, त्यसैअन्तर्गत गेटामा पनि घोषणा भएको मेडिकल कलेजको निर्माण अघि बढाइए पनि शीर्ष नेताहरूले रोकेको थाहा पाएँ', डाक्टर केसीले भन्नुभयो । उहाँले कांग्रेसका नेता शेरबहादुर देउवाको घरमै गएर मेडिकल कजेल निर्माण रोकेमा सत्याग्रह गर्ने चेतावनी दिएको खुलासा पनि गर्नुभयो ।
‘म उहाँको घरमै गएँ, मैले सत्योग्रह गर्छु भनें तर उहाँले त्यसो नगरिहाल्नुस् भन्नुभयो, फलस्वरूप अहिले मेडिकल कलेजको शिलान्यास भएको छ', उहाँले भन्नुभयो, गेटा मेडिकल कलेजको वैशाखमा शिलान्यास भएको छ । मेडिकल कलेज प्रवद्र्धन विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले शिलान्यास गर्नुभएको हो ।
डाक्टर केसीले अबको तीन वर्षभित्र गेटा मेडिकल कलेजमा चिकित्सा विज्ञानको पढाइ गराएरै छाड्ने पनि बताउनुभयो । ‘अबको तीन वर्षभित्र गेटा मेडिकल कलेजमा चिकित्साको पढाइ हुन्छ, कसैले निजी मेडिकल कलेज सञ्चालन गरेर सरकारी मेडिकल कलेज रोकिराख्छु भने त्यो उसको दिवास्वप्न हो', उहाँले भन्नुभयो, ‘म त्यसका लागि फेरि सत्याग्रह गर्छु ।'
गेटा मेडिकल कलेजका लागि यसै आर्थिक वर्षमा तीन सय शड्ढयाको अस्पताल भवन र तीनतले कलेज भवनको ठेक्का भइसकेको छ । यद्यपि, सरकारले त्यसलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने वा मेडिकल कलेज बनाउने भन्ने कुराको टुंगो भने अझै लागाएको छैन ।
कलेज भवन निर्माणका लागि लुम्बिनी-रमन-केएस जेभीले ५८ करोड १४ लाखमा ठेक्का पाएको छ भने तीन सय शड्ढयाको अस्पताल भवनको एक अर्ब ३ करोडमा शर्मा, राजेन्द्र, कुमार जेभीले ठेक्का पाएको छ । दुई ठूला ठेक्का एक महिनाको अन्तरालमै भएपछि मेडिकल बन्ने आशा पलाएको डक्टर केसीले बताउनुभयो ।
निर्माण व्यवसायीसँग मार्च २०१७ देखि निर्माण सुरु गरी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । निर्माण कम्पनीले पनि सम्झौतामा तोकिएको समयदेखि निर्माणको काम सुरु गरिसकेको छ । तीन सय शड्ढयाको अस्पताल भवनको पनि सम्झौता भएर निर्माण सुरु गरिएको छ । अस्पताल भवनको ठेक्का पाएका कुमार निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठले तोकिएको समयमा निर्माण सक्ने लक्ष्य लिएको बताए ।
कैलालीको गेटामा २०५६ सालमा जगतगुरु शंकराचार्य आर्युविज्ञान प्रतिष्ठानबाट मेडिकल कलेजको पहल थालिएको हो । शंकराचार्यले सानो भवन मात्रै बनाएपछि त्यो काम अलपत्र परेको थियो । त्यसपछि २०६३ देखि नेपाल सरकारको लगानीमा सहिद दरशथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका नामले मेडिकल कलेज बनाउने सरकारले निर्णय गरेको थियो । २०६६ सालदेखि निर्माणका लागि बजेट विनियोजन हुन थालेपनि पाँच÷छ वर्षसम्मको बजेट फ्रिज हुँदै आएको थियो । तीन वर्षअघि १३ करोडमा प्रशासनिक भवनको ठेक्का पाएको रविना कन्स्ट्रक्सनले पनि काम सुरु नगरेपछि मेडिकल कलेजको निर्माणमा ढिलाइ भइरहेको थियो ।
सुदूरपश्चिमका आधाभन्दा बढी मानिस उपचारका लागि भारत जाने गरेका छन् । मेडिकल बनेसँगै चिकित्साको पढाइ र उपचार पाउनेमा यस क्षेत्रका बासिन्दा आशावादी बनेका छन् । ‘अब जेहेन्दार विद्यार्थी पढ्न पाउनुपर्छ, यो पेसा ट्यालेन्टले पढ्ने हो न कि पैसा हुनेले', डाकटर केसीले भन्नुभयो । उहाँले गेटामा सरकारी लगानीको मेडिकल कलेज बनेपछि सुदूरपश्चिमका जनताले स्वास्थ्य सेवा र शिक्षा पाउने बताउनुभयो ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया