काठमाडौं - कक्षा ११ को परीक्षाको तयारीमा रहेका विमल परियारलाई खुब झोंक चलेछ एडुखबरमा प्रतिकृया पठाए - 'यो देशका नेताहरुलाई भविष्यको चिन्ता छैन ? युवा विद्यार्थी भनेका भविष्यका कर्णधार भनेर भाषण त ठोक्छन् तर हाम्रो परीक्षा नै अन्यौलमा पार्ने गरी किन निर्णय बदलिरहन्छन् ?'
बुधबार बसेको कामचलाउ सरकारको मन्त्रीपरिषद् बैठकले यस अघि असार ९ गतेका लागि तोकिएको दोश्रो चरणको निर्वाचनको मिति फेरी सारेर असार १४ गते गर्ने निर्णय गरे पछि परियार झोक्किएका हुन् । यो निर्णयसँगै सोही समयमा पर्ने कक्षा ११ को परीक्षाको तयारी गरिरहेका परियार जस्ता करिव चार लाख विद्यार्थी अन्यौलमा परेका छन् ।
मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले असार १४ गते चुनाव सार्ने निर्णय गरेको हो । जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ मा सारेको थियो । मुस्लिम समुदायका अगुवाहरूले मंगलबार प्रधानमन्त्रीलाई भेटी रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव राख्न आग्रह गरेका थिए ।
राजनीतिक दलहरु बिच सहमती नबन्दा सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । जसका कारण यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले उक्त मिति परिवर्तन गरेर असार ८ गते तय गरिएको थियो ।
तर असार ९ गतेको निर्वाचनै सारिएपछि कक्षा ११ को परीक्षा कहिले गर्ने भन्ने अन्यौल यथावत छ ।
यस अघिनै मदतान केन्द्र नभएका विद्यालयमा परीक्षा केन्द्र पार्ने गरी विकल्प छनौट गर्न सरोकारवालाले सुझाव दिए पनि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै सार्ने निर्णय गरेको थियो ।
सामान्य अवस्थामा त निर्णयमा तदारुकता नदेखाई ढिलाई गर्ने बोर्डले यसपटक राजनीतिक निर्णय नै स्थायित्व हुने खालको नभएको भन्दै आफ्नो बचाउ गरिरहेको छ । यद्यपी निर्वाचनको मिति सँगै देखिएको अन्यौलका बारेमा बोर्डका तर्फबाट कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।
प्रतिक्रिया