Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

पढाउनुको सट्टा ‘तास’ खेलाउँछन् शिक्षक !

आइतबार, १४ जेठ २०७४

भक्तपुर - के माथिको शिर्षकलाई पत्याउन सकिन्छ ? हतपत्त त अवश्य पनि पत्याउन गाह्रो हुन्छ । शिक्षकको काम त विद्यार्थीलाई पढाउनु, सिकाउनु पो हो, तास खेल्नु र खेलाउनु हो र !

तर, सूर्यविनायकस्थित आशापुरी प्रावि (आधारभूत) मा मध्यान्ह पुग्दा सो स्कुलका एक शिक्षक कक्षा २ का तीन जना विद्यार्थीलाई तासको पत्ती बाँडिरहेको भेटिए । शिक्षकले स्कुलको कक्षालाई नै ‘खाल’ बनाइरहेका थिए ।

कक्षामा पस्ने बित्तिक्कै विद्यार्थी र शिक्षकले मुख रातो पारे । विद्यार्थीको हातमा मात्र नभएर शिक्षकको हातमा पनि तासका पत्ती थिए ।

कक्षाकोठालाई नै ‘खाल’ बनाएर विद्यार्थीसँगै तास खेलिरहेका शिक्षकले विद्यार्थीलाई गणित विषय पठाउने क्रममा तासको प्रयोग गरेको बताए । ‘विद्यार्थीलाई हिसाब सिकाउनका लागि तास बाँडेको हुँ ।’ शिक्षक बसन्त बस्नेतले भने ।  

सो कक्षामा रहेका तीन विद्यार्थीले भने शिक्षकले तास दिएर उस्तै–उस्तै तासको पत्ती मिलाउन भनेको बताए । सो सन्दर्भका सो विद्यालयका प्रअ गणेशलाल ख्याजुले आफूलाई थाहा नभएको बताए ।
सो विद्यालयमा अहिले २६ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । उनले ईसिडीमा ६, युकेजी ५, कक्षा १ मा ६, दुईमा ६ जना, चारमा २ र पाँच कक्षामा १ जना विद्यार्थी रहेको बताए पनि कक्षा २ मा भने तीन जना विद्यार्थी मात्र उपस्थित थिए । एक जना विद्यार्थीको काखमा भने सानो बच्चा पनि थियो ।

तास खेलाइरहेका शिक्षकले भने विद्यार्थी कम हुन्छन्, कम भएका विद्यार्थीलाई भुलाउन र स्कुल आउँ–आउँ भन्ने बनाउनका लािग तासको सहारा लिएको बताए ।

प्रअ ख्याजुले सो विद्यालयमा स्थानीय विद्यार्थी नभएको र २६ जना विद्यार्थीमध्ये अधिकांश दैनिक ज्यालादारीमा मजदुरी गर्ने अभिभावकका सन्तान रहेको बताए । ‘यहाँका अधिकांश विद्यार्थी  निम्न आयका भएका कारण शनिबार तथा अन्य बिदाको दिनमा विद्यार्थी पनि तास खेलेरै बिताउने स्वभावका छन् ।’

प्रतिक्रिया