काठमाडौं– सरकारले शिक्षकलाई दिँदै आएको पोशाक भत्ताको विषयलाई लिएर शिक्षकहरुले अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।
दुर्गम जिल्लाका लागि भनी सरकारले दिँदै आएको पोशाक भत्तामा निजामति कर्मचारी र शिक्षकबीच भेद्भाव भएको भन्दै मनाङमा कार्यरत शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
‘निजामति कर्मचारी र शिक्षकलाई दिँदै आएको पोशाक भत्ता समान छैन, सो विषयमा हामीले सम्बन्धित निकायलाई पटकपटक जानकारी दिएर पोशाक भत्ता समान गर्न आग्रह गर्दा पनि उहाँहरुबाट हेलचक्र्याइँ भएपछि हामीले यहाँका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने र आन्दोलनमा उत्रिने निर्णय गरेका हौं ।’ मनाङको हिमज्योति आधारभूत विद्यालयका शिक्षक एवं शिक्षक महासंघ मनाङका सदस्य प्रकाशराज ढकालले भने । सरकारले निजामति कर्मचारीलाई प्रतिवर्ष पोशाक भत्ता बराबर रु. १५ हजार र शिक्षकलाई रु. सातहजार पाँचसय दिँदै आएको छ ।
उनले महासंघको बिहीबारको बैठकले उक्त निर्णय गरेको जानकारी दिँदै शुक्रबार प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएको र ती कार्यालयहरुमा धर्ना कार्यक्रम गरेको बताए । ‘यहाँका करिब अढाइ सय शिक्षकका समस्या साझा छन्, सोबारेमा सुनुवाइ नभएपछि विद्यालय बन्द गरेर आन्दोलन थालेका हौं ।’ उनले भने ।
शिक्षक ढकालले आर्थिक वर्ष २०७१/७२ मा दुर्गममा कार्यरत शिक्षक र निजामति कर्मचारीलाई समान भत्ता निकासा गरेको तर आव २०७२/७३ मा आएर रोकिएपछि यो वर्ष पनि रोक्ने सम्भावना देखेकोले आफूहरु विद्यालय बन्द गर्ने सम्मको कार्यक्रमका साथ अघि बढ्न बाध्य भएको बताए ।
उक्त माग लिएर आन्दोलनमा उत्रिएका शिक्षकको कारण सो ठाउँका २७ सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षक महासंघको नेतृत्वमा भएको बन्दले विद्यार्थीको पठनपाठनमा असर पुगेको छ । शिक्षक महासंघले बुझाएको ज्ञापन पत्र निमित्त जिशिअ खुलानाथ गौतमले बुझेका थिए ।
सो सन्दर्भमा मनाङका जिशिअ रमाकान्त शर्माले पोशाक भत्ताको विषयमा विगतमा पनि कुरा उठेको जानकारी दिँदै विद्यालय बन्द भएको बारेमा आफूलाई थाहा नभएको बताए । शुक्रबार उनी जिशिकामा नभएको उनको भनाइ छ ।
प्रतिक्रिया