Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

सत्यालले सुनाए वैज्ञानिक बन्ने लक्षण

विहीबार, ११ जेठ २०७४

काठमाडौं– ‘विद्यार्थीमा नयाँ कुरा खोजी गर्ने र अनुसन्धान गर्ने रुचि भएमा उसमा वैज्ञानिक बन्ने सम्भावना हुन्छ ।’ शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलको कक्षा ९ र १० का विद्यार्थीलाई सौर्यमण्डल र नयाँ ग्रहबारे जानकारी गराउँदै वैज्ञानिक बन्ने विद्यार्थीको लक्षण सुनाए, वैज्ञानिक एवं खगोलशास्त्री प्राध्यापक डा. सुमन सत्यालले । 
भौतिक शास्त्र अध्ययनका लागि १८ वर्षमै अमेरिकाको टेक्सासमा गएका उनी १४ वर्षपछि अर्थात ३२ वर्षको भएर नेपाल फर्के । उनी फर्कँदा खाली उमेर मात्र बढाएर फर्केनन् । उनले आफूँगै सौर्यमण्डलमा पृथ्वीजस्तै अर्काे ग्रह ‘ग्लिजा ए ३२’ पत्ता लगाएको सफलता र त्यो अनुभव पनि सँगै लिएर फर्के । जुन सफलताले उनलाई युवा वैज्ञानिकको दर्जा मिलिसकेको छ । केही दिनअघि नेपाल आएका तिनै वैज्ञानिक एवं प्रा.डा. सत्यालसँगसँग विद्यार्थीले पनि विज्ञान र खगोलशास्त्रका विभिन्न विषयमा अन्तरसंवाद गरे । युवा वैज्ञानिक प्रा.डा. सत्यालको वैज्ञानिक अनुसन्धानबारे ज्ञान, अनुभव सुनाएपछि कति विद्यार्थीले आफू पनि भविष्यमा वैज्ञानिक बन्ने सोच राखेको सुनाउँदा प्रा. डा. सत्यालले विद्यार्थीलाई हौस्याउँदै त्यसको लागि आफूले सहयोग गर्ने पनि  बताएका थिए ।
विद्यालयका प्रिन्सिपल राजु राईले उनलाई विद्यालयका तर्फबाट सम्मान गर्दै उपहार पनि दिएका थिए । भौतिक शास्त्र (फिजिक्स) मा स्नातक र स्नातकोत्तर गर्दै खगोल विज्ञानमा पीएचडी गरेका पहिलो नेपाली वैज्ञानिक÷खगोलशास्त्री  सत्याल अमेरिकाको टेक्सास विश्वविद्यालय अर्लिंटनका प्राध्यापक हुन् । ‘अनुसन्धानका क्रममा गत वर्षको मार्चमा नयाँ ग्रह ग्लिजा ए ३२ पत्ता लगाएँ, सो ग्रहमा बस्ती बसाउन मिल्छ या मिल्दैन यसबारे भने उनी थप अनुसन्धान गरिरहेका छन् ।’ विद्यार्थीले सोधेको प्रश्नमा उनी जवाफिए । त्यतिमात्र नभएर उनले नेपालमै केही गर्ने योजना पनि सुनाए, ‘केही वर्ष अमेरिका बसी त्यसपछि नेपालमा अत्याधुनिक टेलिस्कोप बनाएर नेपालबाटै नयाँ ग्रह खोजी गर्नेछु ।’ 
नेपाल खगोलशास्त्री समाज नासाका सल्लाहकारसमेत रहेका वैज्ञानिक प्रा. सत्याललाई नवीनतम खोज गरेबापत उत्कृष्ट वैज्ञानिकका रूपमा सम्मान गर्दै संयुक्त राज्यअमेरिकाले उनलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिएको उनको भनाइ छ । विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान गरी नेपाल र नेपालीको शिर उँचो राख्न विशेष योगदान गरेका कारण गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले १ लाख रुपैयाँ राशिको राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएका थिए । डा. रामप्रसाद सत्याल र गोमादेवी सत्यालका जेठा छोरा वैज्ञानिक प्रा. सुमन सत्याल सन् २०१० अर्थात् सात वर्षअघिदेखि प्राध्यापनरत छन् । 
नेपाल बसाइका क्रममा उनले नेपाल खगोलशास्त्री समाजका दुई जना र त्रिभुवन विश्वविद्यालयका खगोलशास्त्रका दुई विद्यार्थीलाई पीएचडी शोधका लागि सघाउने छन् । उनी एक महिनाका लागि नेपाल आएका हुन् । 

 

प्रतिक्रिया