Edukhabar
बुधबार, ०५ मंसिर २०८१
विचार / विमर्श

नयाँ शिक्षण कला : सिकाइमा नयाँ आयाम - २

विहीबार, ११ जेठ २०७४

- प्रा. डा. मनप्रसाद वाग्ले, शैक्षिक मुद्धा र नीति निर्माणका लागि आवश्यक वकालतमा सुझवुझ साथ विचार प्रवाह र खरो टिप्पणी गर्ने शिक्षाविद् हुन् । उनी सामाजिक सञ्जाल मार्फत् पनि आफ्ना विचार र शैक्षिक मुद्धाहरुलाई सार्वजनिक गरिरहेका हुन्छन् । यस अघि फेसबुक मार्फत् सार्वजनिक उनको थेसिस लेख्ने कला निकै रुचाईएको थियो । जुन एडुखबरले श्रृखलावद्ध रुपमा साभार गरेको थियो ।

वाग्लेले यस पटक नयाँ शिक्षण कला (पेडागोजी) का बारेमा बहस सार्वजनिक गरेका छन् : यस अघिका पाठ यहाँ क्लिक गरेर पढ्न सक्नु हुन्छ । आज थप ३ वटा पाठ  :

(अवको शृंखलाहरु Michael Fullan र Maria Langworthy द्वारा लिखित “A Rich Seam” नामक प्रतिवेदनको आधारमा)

New pedagogy (4)

शिक्षामा खर्च बढेपनि यसले दिने प्रतिफल साँघुरो हुँदा शैक्षिक संस्थाप्रति नै बितृष्णा उत्पन्न भएको छ । अर्कोतिर विद्यालय बाहिरको संसारमा डिजिटल क्रान्तिले गर्दा हाम्रा युवाहरुले पाएको ज्ञान असान्दर्भिक हुँदै गैरहेको छ । विश्वका शक्तिशाली मुलुकहरुमा पनि यो व्यथा यस्तै छ ।

स्कूल कलेजबाट मात्र ज्ञानले बजार पाउन हम्मे छ । त्यसैले ग्राजुएटहरु बजारको माग अनुसार छुट्टै पेशागत तालिममा सरिक हुन्छन काम पाउनाका लागि । अमेरिका, अष्ट्रेलिया, बेलायत, सवैतिर यस्तै छ । धेरै यस्ता मुलुकहरुको अध्ययनवाट के पत्ता लागेको छ भने विद्यालय र कलेजमा विद्यार्थीहरुको बौद्धिक संलग्नता ४० प्रतिशत भन्दा पनि कम छ । यसरी एकातर्फ औपचारिक शिक्षण संस्थाहरुले प्रदान गर्दै आएका ज्ञान बजारको लागि काम लागिरहेको छैन भने अर्को तिर आफ्नो इच्छा र रुचिअनुसार लिएका तालिम अत्यन्तै लाभदायक बनेका छन् ।

यसो हुनुमा डिजिटल क्रान्तिनै प्रमुख कारक बनेको छ । जसले सवैलाई एउटा स्वतन्त्र सिकाईको अवसर प्रदान गरेको छ । नयाँ शिक्षण (new pedagogy) यसैको परिप्रेक्षमा अगाडि बढ्दैछ । विद्यार्थीलाई अर्थपूर्ण सिकाई तर्फ उन्मुख गराउने मुख्य एजेन्डा new pedagogy को हो न कि काम नलाग्ने डिग्री मात्र लिने । विद्यार्थीलाई आवश्यक सक्षमता विकास गर्न उनिहरुमा सृजनात्मक प्रतिभा विकास गर्ने, र सहकार्यको आधारमा जीवनपर्यन्त समस्या समाधान गर्न सक्षम बनाउनुनै यसको मूल लक्ष हो । साथै उनीहरुलाई स्वस्थ रहन र सर्वांगीण मानवका रूपमा विकास गरी समाजमा योगदानमूलक कार्य गर्न र बढ्दो ज्ञानमा थप ज्ञान सिर्जना गर्न सम्म सहयोग पुर्याउनु new pedagogy को मर्म हो ।

Old pedagogy मा शिक्षकले विषयवस्तु विद्यार्थीसम्म पुर्याउन सके ठिक मानिन्थ्यो । तर अव त्यतिले मात्र पुग्दैन । जवसम्म विद्यार्थीमा पुग्नुपर्ने ज्ञान आवश्यक गहिराइमा पुग्दैन तवसम्म विषयवस्तुको व्याख्याले मात्र केहि काम गर्दैन । अहिलेको २१सौ सताब्दिमा त्यहि विषयवस्तुको साथमा प्रविधि टाँस्सिएको हुनुपर्नेछ र विद्यार्थीलाई त्यही प्रविधिको प्रयोगवाट स्वतन्त्र सिकारूको रूपमा स्वीकार्नु पर्दछ । सिकाइको दौरान विद्यार्थीसंग शिक्षकले कत्तिको सहकार्य गर्दछ र उसलाई अर्थपूर्ण रूपमा सिक्न सघाउँछ भन्ने कुरामा नै अवका शिक्षकको क्षमता मूल्यांकन गरिन्छ/ सिकेका कुरामा विद्यार्थीको क्षमता छैन भने उनीहरुलाई पढाउने शिक्षकको पनि क्षमता छ भनेर मानिंदैन । किनभने new pedagogy को लक्ष नै नयाँ ज्ञानको सिर्जना गर्नु र त्यसलाई यथार्थ रूपमा उपयोगमा ल्याउनु हो ।

दोश्रो, यसको लागि सिकाई प्रक्रिया महत्वपूर्ण हुन्छ र त्यसमा शिक्षक-विद्यार्थी र विद्यार्थी-विद्यार्थी विच सहकार्य र सहभागिता आवश्यक हुन्छ/ तेश्रो, यी कार्य गर्न शिक्षक र विद्यार्थीलाई विद्यालय भित्र र विद्यालय बाहिर डिजिटल प्रविधिले निरन्तर सघाउ पुर्याइरहेको हुन्छ ।

New pedagogy (5)

डिजिटल युगले शिक्षाको मूलभूत पक्षनै परिवर्तन गरिदिएको छ/ शिक्षकका पुराना भूमिका परिवर्तन भएको छ, पाठ्यपुस्तकका पुराना ढर्रा अव काम नलाग्ने भएका छन् । ज्ञानको स्रोत नै पाठ्यपुस्तक हो भन्ने जमाना सकिएको छ । जवकी प्रविधिले विद्यार्थीको लागि सम्भावित सवै ढोका खुला गरेको हुन्छ, उसलाई नयाँ कुरा पत्ता लगाउन सक्षम गराउँछ, नयाँ ज्ञानको सिर्जना गर्न र त्यसलाई वास्तविक संसारमा उपयोग गर्न सिकाउँछ।

विगतमा ज्ञानको उपयोग गर्नु भनेको कुनै विषयवस्तुमा निपुणता हासिल गर्नु र दिईएको समस्या समाधान गर्नु मात्र थियो । तर ती समाधान भनेका उही पाठ्यपुस्तक, कक्षाकोठा, र स्कूलले तय गरेका ज्ञानकै परिधि भित्र मात्र सिमित हुन्थे । तर अवको जमाना त्यस्तो छैन जहाँ विद्यार्थीलाई कक्षाको चार दिवार भित्र कैद गरेर वास्तविक संसारको ज्ञान दिन सकियोस । अवको ज्ञान भनेको शैक्षिक संस्था र पाठ्यपुस्तक भन्दा माथि संसारमा उपलब्ध कुनै पनि किसिमको ज्ञान हो जसले विद्यार्थीलाई वास्तविक जगतको समस्या संग परिचित हुन र त्यसलाई समाधान गरेर जीवनपर्यन्त बाँच्न सिकाउँछ । डिजिटल क्रान्तिले शिक्षामा पारेको सकारात्मक प्रभाव हो यो । ज्ञान भण्डार गर्ने, कण्ठस्थ गर्ने र उपयोगमा काम नलाग्ने बन्नु हुँदैन, यो त दैनन्दिन परिस्थितिमा उपयोग गर्दै अगाडि आएका समस्या समाधान गर्दै जाने साधन बन्नु पर्छ ।

यसका साथै डिजिटल युगले संस्थाहरुले काम गर्नु पर्ने ढाँचामा पनि परिवर्तन गरेको छ । २०सौ सताब्दीको करिव अन्ततिर आईपुग्दा सम्म पनि hierarchy को आधारमा माथिको निर्देशनमा तलकाले काम गर्ने (Top-down approach) उद्योगको उत्पादन जस्तो सवैलाई यौटै साँचोमा ढाल्ने प्रकारले व्यवस्थापन गर्ने गरिन्थ्यो/ शिक्षा पनि त्यसवाट अछुतो रहन सकेन जसले विद्यार्थीलाई यौटै पाठ्यपुस्तक, एकै प्रकारको संरचना, एकै प्रकारको पठन पाठन र एकै प्रकारको मूल्यांकनको आधारमा कारखानाको उत्पादन भन्दा भिन्न बनाउन सकेन । अहिले विश्व अर्थतन्त्रमा परिवर्तन भएको छ, सिकाई र प्रवर्तनका नयाँ ढांचा तयार भएका छन्, सिर्जना, स्वरोजगार र विश्व नागरिकताको अवधारणा शुरु भैसकेको छ ।

यिनै कारणले गर्दा शिक्षक र विद्यार्थी दुवैलाई अनि शिक्षा व्यवस्थापकलाई समेत नयाँ चुनौतिको सामना गर्नु अपरिहार्य बनेको छ । यदि सिकाईलाई यसै अनुसार अगाडि बढाउन सकिएन भने हामीले दिएको शिक्षाको कुनै अर्थ रहन्न । अहिले शैक्षिक संस्थाहरु सवैभन्दा बढी बाहिरी संसारवाट अलग गरिएका छन् र तिनलाई बाह्य संसार संग नजोडी सिकाई सम्भव छैन ।

New pedagogy (6)

Michael Fullan ले लेखेको पुस्तक Stratosphere मा पनि अर्थपूर्ण सिकाईको लागि तीन महत्वपूर्ण पक्षलाई केलाउने प्रयास गरिएको छ । पहिलो प्रविधि हो जुन शिक्षकले मात्र नभई विद्यार्थीले पनि आफ्नो सिकाइको लागि उपयोग गर्छन, जुन करिव २ दसक यता सर्वसुलभ पहूँच भएको हो । दोश्रो हो पेडागोजी, जुन सन् १९९० यता “विद्यार्थीले कसरी सिक्छन” भन्ने अभियानका रूपमा परिचित छ । र तेश्रो भनेको परिवर्तित ज्ञान हो, जुन सन् १९७० देखि प्रणाली परिवर्तनको अभियान संगै सिकाइ परिवर्तनको मुख्य एजेन्डा बनेर आइरहेछ ।

यसरी हेर्दा झन्डै ५ दसक भित्र आ-आफ्नै तरिकाले विकास भएका यी तीन पक्षहरु शिक्षण सिकाईका लागि उत्तिकै काम लाग्ने छन् । फरक यत्ति हो कि पहिला यी तिन छुट्टा छुट्टै किसिमले अगि बढेका थिए भने अहिले आएर यी तीनवटाको संयोजनमा न्यू पेडागोजी सम्भव छ भनेर अगाडि बढेको अवस्था हो । यस अर्थमा न्यू पेडागोजी आफैंमा नयाँ नभएर प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानलाई यौटै एकीकृत स्वरूप प्रदान गरी सिकाइलाई दिगो बनाउने एउटा नौलो अभ्यास मान्न सकिन्छ । यदि पेडागोजीलाई जग मान्ने हो र प्रविधिलाई त्यसको enabler मान्ने हो भने मात्र पनि केहि नयाँ र बलियो उर्जा प्राप्त गर्न सकिन्छ । सिकाइको लागि सहकार्य गरिरहेका सरोकारवालाहरुको सक्षमता वृद्धि गर्न त्यहि उर्जालाई परिवर्तित ज्ञान संग सफलतापूर्वक समायोजन गर्न सकिन्छ । यदि यस्तो समायोजन गर्न सक्ने हो भने पूरै शिक्षण प्रणालीमा अर्थपूर्ण परिवर्तन सम्भव छ ।

जवसम्म हामी संरचनात्मक रूपमा परम्परागत शिक्षण प्रणालीमा परिवर्तन गर्न सक्दैनौं तवसम्म अर्थपूर्ण सिकाइ सम्भव छैन । त्यसैले न्यू पेडागोजीको लक्ष प्रणालीमै आमूल सुधार ल्याउनु हो । यो कार्य त्यति जटिल नभएपनि बिल्कुलै सजिलो पनि छैन । किनभने शिक्षाका नीति निर्माताका आफ्नै सोच र भनाई हुन्छन, त्यस्तै सर्वसाधारण मान्छेका पनि, अनि राज्य प्रणालीको आर्थिक पक्ष आफ्नै ठाउँमा हुन्छन ।

यी सवैलाई चित्त बुझाएर एउटा मान्यता प्राप्त शिक्षण प्रणाली बसाल्न सके मात्र सान्दर्भिक सिकाइ उपलब्धि सम्भव छ । यसको अर्थ के बुझ्नुपर्छ भने प्रणाली भित्र काम गरिरहेका जति पनि सरोकारवाला छन् उनीहरुको मतैक्यतामा मात्र हामीले खोजेको न्यू पेडागोजी सम्भव छ । त्यसैले उनिहरुलाई पनि सोच परिवर्तनको बाटोमा ल्याउनु जरुरी छ ।

प्रविधि विकासमा संलग्नहरु, प्रणाली विकासमा संलग्नहरु र शिक्षण विकासमा संलग्नहरुको एकीकृत प्रयास भए भोलिको सिकाइको लागि आज हामी वातावरण तयार पार्न सक्छौं र यो सम्भव पनि छ । त्यसैले अर्थपूर्ण, सान्दर्भिक र दिगो सिकाइका लागि न्यू पेडागोजी, न्यू चेन्ज्ड लिडरसिप र न्यू सिस्टम इकोनोमीक्स सवै उत्तिकै महत्वपूर्ण छन् ।

प्रतिक्रिया