काठमाडौं ११ जेठ/फिल्म पढ्न चाहनेलाई अहिले वातावरण अनुकूल छ । राजधानीमा चारवटा फिल्म कलेज सञ्चालित छन् भने विभिन्न इन्स्टिच्युटले पनि यो सुविधा दिइरहेका छन् । तर, यिनमा महिला विद्यार्थीको संख्या भने निकै फितलो छ । कतिसम्म भने छात्राको संख्या बढाउन कलेजहरूले विशेष सहुलियत र छात्रवृत्तिको व्यवस्था गरिदिए पनि आँकडा बढ्न सकेको छैन ।
नयाँ बानेश्वरको एभरेस्ट फिल्म एकेडेमीका ३२ मध्ये तीन जना मात्रै महिला विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रका लागि अहिलेसम्म चार जना महिलाले भर्ना गरेका छन् भने पुरुषको उपस्थितिचाहिँ मनग्गे छ । सुकेधारामा रहेको ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजमा १ सय ७० मध्ये १५ जना र नेसनल फिल्म स्कुलमा ३ जना छात्रा अध्ययनरत छन् । मैतीदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको पहिलो ब्याचमा २८ पुरुष र २ महिला विद्यार्थी अध्ययनरत छन् ।
‘केटी मान्छे भएर फिल्मसिल्मतिर लाग्नुहुन्न भन्ने पुरानो विचारले गर्दा यस्तो भएको हो कि,’ एभरेस्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं कवि राजेन्द्र शलभ भन्छन्, ‘अझै पनि यस्ता विचार मत्थर भएका छैनन् ।’ उनको कलेजमा महिला विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्तिको सुविधा छ । यहाँ एक्टिङ, डाइरेक्सन, एडिटिङ र सिनेमाटोग्राफीको एकवर्षे डिप्लोपा कोर्स पढाइन्छ ।
झन्डै डेढ दशकदेखि सञ्चालित ओस्कार कलेजले पनि महिला विद्यार्थीको संख्या बढाउन ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको छ । यो सहुलियतले केही मात्रामा काम गरिरहेको कलेजका प्रबन्ध निर्देशक विनोद पौडेल बताउँछन् । ‘फिल्ममा काम गर्ने भन्नेबित्तिकै अलि नकारात्मक सोच्ने परिपाटी छ,’ उनी भन्छन्, ‘तैपनि अचेल सोचाइ फेरिन थालेको छ । फिल्म पढ्नुपर्ने विषय हो भन्ने बुझ्न थालेका छन् ।’
पौडेल आफैं ओस्कारको पहिलो ब्याचका उत्पादन हुन् । उनको ब्याचमा २६ मध्ये ५ जना महिला विद्यार्थी थिए, सबनम मुखिया, सम्झना उप्रेती रौनियार, निरा शर्मा, प्रशंसा वाइबा र विजया गिरी । यी महिलाहरू अहिले फिल्म निर्माण र अध्ययनमा संलग्न छन् । हाल खोलिएको कान्तिपुर कलेजका अध्यक्ष छविराज ओझा भने फिल्म पढ्नेहरू प्राय: काठमाडौंबाहिरका हुने भएकाले यस्तोमा छोरीभन्दा छोरा बढी हुनु स्वाभाविक भएको बताउँछन् । ‘बाहिरबाट आएर काठमाडौंमा बस्न, पढ्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर, अहिले महिलाहरूमा पनि फिल्म अध्ययनप्रति चासो बढ्न थालेको छ ।’ बाहिरकालाई होस्टलको व्यवस्था गरिने उनले सुनाए ।
कहाँ कस्तो सुविधा ?
फिल्म मेकिङमा तीनवर्षे स्नातक तहको पढाइ हुने ओस्कार इन्टरनेसनमा अहिले ९ औं ब्याचका विद्यार्थी अध्ययनरत छन् । यहाँ डाइरेक्सन, एक्टिङ, साउन्ड, क्यामेरा र एडिटिङ पढाइ हुन्छ । ‘पहिलो वर्ष सबै विषय पढ्नुपर्छ,’ पौडेलले भने, ‘दोस्रो वर्षदेखि विषय छान्न पाइन्छ ।’
सिंगापुरको इन्फिनिट स्टुडियोसँग जोडिएको हुनाले यहाँका विद्यार्थीले राम्रो एक्सपोजर पाउने पौडेलले दाबी गरे । ओस्कारले नै सञ्चालनमा ल्याएको नेसनल फिल्म स्कुलमा भने एकवर्षे कोर्स लिन पाइन्छ । एभरेस्ट फिल्म एकेडेमीका सीईओ शलभका अनुसार उनको कलेजको विशेषताचाहिँ के भने यहाँ ‘फिल्म इन्डस्ट्रीका क्रिम’ हरूले विद्यार्थीलाई ग्रुम गर्छन् । ‘सुनील थापा, तुलसी घिमिरे, निश्चल बस्नेत, राजन खतिवडाजस्ता फिल्मकर्मी/रंगकर्मी हामीसँग छन्,’ उनले भने, ‘विद्यार्थीसँग भएको प्रतिभा पोलिस गर्ने हाम्रो लक्ष्य हो ।’ कलेजले ३० प्रतिशत सैद्धान्तिक र बाँकी व्यावहारिक शिक्षामा जोड दिने गरेको उनले बताए । व्यावहारिक शिक्षाअन्तर्गत फिल्म मेकिङबाहेक बोलीवचन र हाउभाउका तौरतरिका पनि सिकाउन खोजिरहेको उनको भनाइ थियो ।
कान्तिपुर फिल्म एकेडेमीमा फिल्म मेकिङ र डाइरेक्सन पढाइ हुन्छ । मेकिङभित्र सिनेमाटोग्राफी, एक्टिङ, एडिटिङलगायत फिल्म निर्माणसम्बन्धी सम्पूर्ण चिजबिज पढाइने एकेडेमीका अध्यक्ष ओझाले बताए । ‘डिप्लोमा कोर्स हो,’ उनले भने, ‘कुनै एक विषय छानेर पढ्न सकिन्छ ।’
‘म्यानपावरकै खडेरी छ अहिले,’ ओस्कारका पौडेलले भने, ‘एक्सपर्टहरू नभेटेरै हामीले स्नातकोत्तर तह सञ्चालन गर्न सकिरहेका छैनौं ।’ आफूहरूले फिल्म पढ्ने बेलादेखि नै यो समस्या रहेको उनी सम्झिन्छन् ।
एभरेस्टका शलभले पनि भौतिक पूर्वाधार र अन्य सुविधा जुटाउन सकिए पनि राम्रा म्यानपावर भेला पार्न धेरै मुस्किल पर्ने बताए । ‘हामीले बल्लतल्ल जुटायौं,’ उनले भने, ‘अब हामीभन्दा राम्रो गर्ने प्रोडक्ट निकाल्ने विचार छ । त्यसमा पनि महिलाहरू तगडा भएर निस्किदिए अझ सुन्दर हुने थियो ।’
सजना बरालले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया