Edukhabar
आइतबार, २३ भदौ २०८१
विचार / विमर्श

बूढो मास्टर

शनिबार, १४ चैत्र २०७१

- विप्लव ढकाल / ढकाल पछिल्लो समयका शक्तिशाली कवि हुन् । शिक्षण पेशामा संलग्न उनका कविता, लघुकथा, समीक्षा र एकांकी गरेर ८ कृति प्रकाशित छन् । समसामयिक विषयमाथि प्रभावकारी प्रस्तुती दिन सक्ने उनको विशेषता हो । नेपलको शिक्षा–शिक्षण प्रवृत्ति माथि लेखिएको ‘प्रोफेसर शर्माको डायरी‘ उनको चर्चित कृति हो । नेपालको शिक्षा पद्यती माथि प्रहार गरिएको यो कविता उनको पछिल्लो कृति ‘च्याउको जंगल’ बाट लिइएको हो – सं)

यो बुढो मास्टर
किन कान समातेर
उठबस गराउँछ मलाई ?
किन यसरी घुँडा टेकाउँछ पृथ्वीमा
र, मन्त्र पढेझैँ हरेक दिन
पृथ्वी गोलो छ भन्ने
पुरानो गीतमात्र गाउन लगाउँछ ?

यसको अनुहारमा
डाइनोसरको सिंग उम्रिएको छ ।
संसार हेर्ने रंगीन चस्मा
आहाल जस्तै धमिलो छ ।
कि यसको मस्तिस्कमा
पलाएको छ जलकुम्भी ?
नत्र किन यो पुरानो मान्छे
मलाई मात्र
फेरि मलाई मात्र !
डस्टरले, चकले, लट्ठीले ताकेर देखाउँछ
र आफू भन्दा पुराना पुराना
प्रश्नहरु सोधि रहन्छ ?

मलाई टेन्सन भयो
केको दाग लागेको हो यसको दाह्रीमा ?
यो रगतको दाग हो कि मसीको दाग हो ?
म पुरानो प्रश्नको
नयाँ उत्तर खोज्न चाहन्छु–
यसको शरीरबाट
किन एसिडको गन्ध आइरहेको छ ?
किन निधार भरि
कुदिरेका छन् कमिलाहरु ?
र यो किन ब्ल्याक बोर्डतिर फर्केर
बारम्बार आँसु पुछिरहेको छ ?

यो पुरानो रिक्सा जस्तो मास्टर
किन आफूमात्र आवाज निकाल्छ
र मलाई चूप लगाउँछ ?
किन आफूमात्र प्रश्न सोधिरहन्छ
र मेरा प्रश्नहरु सुन्दैन ?
यो ब्ल्याक बोर्डमा बारम्बार के लेखिरहन्छ
र फेरि अचानक किन मेटिरहन्छ ?

कि यसले मेरो मस्तिस्कमा
नयाँ सपनाहरु काटिरहेको हुनु पर्छ ।
कि मलाई
मारिरहेको हुनु पर्छ – मेरो समयबाट ।
मलाई थाहा छ–
यसको जुत्ताबाट उदाउँदैन चन्द्रमा ।

तर मलाई थाहा छैन
म स्कुलमा छु कि पोल्ट्रीफर्ममा छु ?
म कक्षाकोठामा छु कि कारगारमा छु ?
म यही संसारमा छु कि बध शालामा छु ?

नत्र किन आफै सित रुँदै
साँझमा घर फर्किँदा पनि
मेरो बाबु यही मास्टरको गीत सुनेर
हरेक रात मलाई नै तीर हानिरहेको हुन्छ ?
किन आँसुले मुछेर भात खाँदा पनि
मेरी आमा हरेक दिन
मलाई नै हेरेर रोइरहेकी हुन्छे ?

साथी हो !
म अब होमवर्क गर्दिनँ !
म अब फर्मुला घोक्दिनँ !
म अब बुढो मास्टरका
कुनै पनि प्रश्नको उत्तर दिन्नँ !
म अब कान समातेर उठ बस गर्दिनँ !
यो पुरानो मानिसका
कुनै आदेश र अनुशासन पालना गर्दिनँ !
मलाई टेन्सन भयो–
म अब बाहिर जान्छु !

मेरो ठीक अगाडि उभिएको
एउटा अन्धकार जस्तो ब्ल्याकबोर्ड भत्काएर
म अब त्यहीँबाट बाहिर जान्छु !
मलाई गेट आउट भन–
म बाहिर जान्छु !!

 

प्रतिक्रिया