Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

शिक्षा स्थानीय निकायमा : नारफू गाउँपालिकाबाट शुरु भयो कार्यान्वयनको छलफल

आइतबार, ०७ जेठ २०७४

मनाङ् - संविधानले स्थानीय निकायमा शिक्षाका धेरै अधिकार प्रत्याभूत गरेको सन्दर्भमा जनप्रतिनिधिहरु त्यसबारेमा जानकार छन् त ? जानकार छन् भने पनि कार्यान्वयनमा उनीहरु कत्तिको सजग छन् ?

स्थानीय निकायको पहिलो चरणको चुनावको सबै मतपरिणाम आईसकेको छैन, दोश्रो चरणको चुनाव हुनै बाँकी छ, तर यो प्रश्नको उत्तर खोज्ने काम दुर्गम भनेर चिनिएको मनाङ्बाट शुरु भएको छ । जिल्ला शिक्षा कार्यालयले नारफू गाउँपालिकाका जनप्रतिनिधिहरुलाई नेपालको संविधानमा भएको शिक्षा सम्वन्धि व्यवस्था र गाउँपालिकको काम कर्तव्य र अधिकारको विषयमा अभिमूखीकरण गरेको हो ।  जिशिकाले गत बुधबार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सहित गाउँ सभाका पदाधिकारीहरुलाई संविधानले गरेको व्यवस्था सम्वन्धमा अभिमूखीकरण गरेको हो ।

अन्र्तक्रियामा जनप्रतिनिधिहरुले शिक्षाको महत्व बुझेको र आफ्नो  गाउँपालिकालाई विकास गर्न शिक्षालाई पहिलो प्रथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाका अध्यक्ष मिङमार छिरिङ लामाले सवै बालबालिका र युवालाई गुणस्तरीय र सीपयुक्त शिक्षाको व्यवस्था गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उपाध्यय कुञ्जो तेञ्जिङ लामाले नवनिर्वाचित गाउँपालिकाले समुदायका बालबालिका गुणस्तरीय शिक्षा प्राप्तिको लागि काठमाण्डौ, पोखरा र अन्य शहरहरुमा लैजान नपार्ने गरी गाउँपालिकामा रहेका विद्यालयहरुमा नै गुणस्तरीय शिक्षा दिलाउनको लागि योजनाबद्ध पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय गुम्वाका प्रमुख लामाले विद्यालयमा तिव्बती भाषा समेत पढाइ हुनु पर्ने र त्यसको लागि शिक्षकको व्यवस्था हुनु पर्ने माग गरे । त्यस्तै युवाक्लवका अध्यक्षले विद्यालयमा विद्यार्थी जाउँ जाउँ भन्ने हुनु पर्नेमा बालबालिकाहरु विद्यालयमा जान नमान्ने, विद्यालयमा सरसफाइ नभएको बालबालिका घरमा फर्कदा फोहर भएर फर्कने गरेको गुनासो राखे ।

जाडो समयमा तीन महिना पढाइ नहुने हुनाले विद्यार्थीले पढेको विर्सने समस्याका कारण बालबालिका कठामाण्डौ लागायतका अन्य शहरमा पठाउनु पर्ने बाध्यता रहेको समेत अन्र्तक्रियामा चर्चा भएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले संविधानमा व्यवस्था भएका मौलिक हकमा शिक्षा सम्वन्धि व्यवस्था, अनुसूचीमा गरिएको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने गाउँपालिकाको अधिकारको व्यवस्था, नारफु गाउँपालिकामा शिक्षाको अवस्था, देखिएका समस्याहरु, समाधानका उपायहरु, गाउँपालिकाले गर्न सक्ने सुधारहरु सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफल पछि पनि जिशिअ शर्माले विद्यमान व्यवस्था, अन्य जिल्लाका राम्रा विद्यालयहरुले गरेका अभ्यासहरु, स्थानीय तहले गर्न सक्ने कार्य र गाउँपालिकाले शिक्षामा छुट्टाउनु पर्ने बजेट सम्वन्धमा स्पष्ट गरेका थिए ।

गाउँपालिकाको शैक्षिक सुधारको विषयमा समेत केन्द्रित अन्र्तक्रियामा स्थानीय गुम्वाका लामाहरु, युवाक्लवका सदस्यहरु, आमासमुहका सदस्यहरु, गाउँका मिथेवा र स्थानीय समुदायका शिक्षासंग सम्वन्धित ब्यक्तिहरु समेतको उपस्थिति थियो ।

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत हरिवाहादुर ओलीले स्थानीय समुदायले शिक्षालाई ध्यान नदिएको, गुम्वापुजामा धेरै दिन समय खर्चहुने गरेको, अबका दिनहरुमा शिक्षाको सुधारकोलागि गाउँसभाका पदाधिकारी मात्र हैन सवै समुदाय लाग्नु पर्ने बताएका थिए ।  

सदरमुकाम चामेवाट  लगभग १५ घण्टाको पैदल यात्रा पछि पुगिने यस गाउँपालिकका सवै पदाधिकारीहरु निर्विरोध निर्बाचित भएका थिए ।

प्रतिक्रिया