काठमाडौं ७ जेठ/कोल्टीको ढाडाकोटस्थित बुढीनन्दा प्रावि २ महिनादेखि सुनसानजस्तै छ । चैत दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन ।
सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यालयका शिक्षकहरूले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरे । परीक्षालगत्तै चैत १२ मा प्रधानाध्यापकसहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी हिँडे । कुनै पनि शिक्षक विद्यालयमा नफर्केपछि परिचर धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गरे ।
शिक्षकहरूको लापरबाही यत्तिमै सीमित रहेन । विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरु गर्नुपर्ने हो । साथै विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पुर्याउनुपर्ने हो । तर, यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर जुरेन । ‘सरहरू नफर्केपछि विद्यार्थीहरूको नाम मैले नै रजिस्टरमा टिपेको छु,’ धर्मले भने ।
सरकारी तलबभत्ता खाने ३ र निजी स्रोतका २ गरी ५ शिक्षक कार्यरत यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शंकर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् । नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ ।
शिक्षकहरूको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरे । तर, रेग्मी सम्पर्कमा आएनन् । अन्य शिक्षकहरूसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताए । ‘पटकपटक कुरा गर्न खोज्दा रेग्मीले वास्तै गर्दैनन्,’ अध्यक्ष बोहराले भने, ‘लामो समय विद्यालय बन्द भएर बालबालिकाको भविष्य अन्योलमा पर्ने देखेपछि जिल्ला शिक्षा कार्यालयमा खबर गरेको छु ।’ शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकहरूको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोत व्यक्तिको हो । त्यस क्षेत्रका स्रोत व्यक्ति प्रेमराज रेग्मीलाई उक्त विद्यालयका शिक्षकहरूको लापरबाहीबारे जानकारी छ । उनले पनि शिक्षकहरूको लापरबाहीलाई सामान्य रूपमा लिएको देखिएको छ । ‘हेडमास्टर मान्दैनन् त म के गरूँ ?’ ठटयौली पारामा स्रोतव्यक्ति रेग्मीले कान्तिपुरसँग भने ।
प्रअ रेग्मीले लापरबाही गरेको यो पहिलोपटक होइन । विगत १३ वर्षदेखि सोही विद्यालयमा कार्यरत उनको विगतदेखि नै यस्तै चाला रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा बताउँछन् । ‘गत वर्ष हामीले शिक्षा कार्यालयै पुगेर ज्ञापनपत्र बुझाएका थियौं तर वास्ता गरिएन,’ उनले भने, ‘अहिले त उनी कुरा गर्न खोज्नेबित्तिकै फोन स्विच्डअफ गर्छन् ।’ कक्षा ५ सम्म सञ्चालन हुने यो विद्यालयमा १ सय १० विद्यार्थी अध्ययनरत छन् । ‘अवस्था थाहा पाएपछि प्रअलाई तत्काल विद्यालय जान निर्देशन गरेको छु,’ विद्यालय निरीक्षक उमेश रेग्मीले भने । विद्यालयको सेवा क्षेत्रका अभिभावकहरू अप्ठयारोमा छन् । ढाडाकोट गाउँ सो विद्यालयको सेवा क्षेत्र हो । अर्को विद्यालय गाउँदेखि करिब डेढ घण्टा टाढा पर्छ । ‘स–साना बालबालिकालाई देवलडाँडा मावि कुरुमा पठाउन पनि समस्या छ । हाम्रो विद्यालयको हालत यस्तो भयो,’ अभिभावक गगन बोहराले भने ।
ढाडाकोटको बुढीनन्दा मात्रै होइन, जिल्लाका थुप्रै विद्यालयको अवस्था अस्तव्यस्त रहेको विद्यालय निरीक्षक धर्मराज जोशी स्विकार्छन् । कतिपय विद्यालयमा एउटै किताब पनि पुगेको छैन । कतिपयमा अपुरा किताब छन् । जिल्लाबाहिरका शिक्षकहरू धेरैजसो फर्केका छैनन् । ‘साँच्चै अस्तव्यस्त भएको छ,’ विद्यालय निरीक्षक जोशीले भने, ‘कतिपय विद्यालयबाट चैत सुरुमै हिँडेका शिक्षकहरू अझै फर्केका छैनन् ।’
जिशिकाका कर्मचारीहरूले नियमित अनुगमनमा ख्याल नगर्दा विद्यालय क्षेत्रमा अस्तव्यस्त बढेको आरोप विगतदेखि नै लाग्दै आएको हो । बुढीनन्दा प्राविकै अध्यक्ष बोहराले भने, ‘२ घण्टा टाढा घरमा बस्ने स्रोतव्यक्ति रेग्मीलाई एकपटक जबरजस्ती बोलाए पनि विद्यालयको पर्यवेक्षण तथा अनुगमनका लागि कहिल्यै आएनन् ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया