Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

घूससहित शिक्षा कर्मचारी पक्राउ

आइतबार, ०७ जेठ २०७४

काठमाडौं ७ जेठ/शिक्षक भर्ना गर्न भनेर अवैध रूपमा लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा कार्यालयका दुई उपसचिव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसमेत चार जनालाई नियन्त्रणमा लिएको छ ।
लालबन्दीस्थित नमस्ते होटलको कोठामा घूसको लेनदेन भइरहेका बेला उपसचिवद्वय (सहायक जिशिअ) वासुदेव तिमल्सिना र रामहरि रिजाल, जनज्योति उमावि लालबन्दी व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र प्रधानाध्यापक विष्णु पोखरेललाई प्रमाणसहित नियन्त्रणमा लिएको आयोगको बर्दिवास सम्पर्क कार्यालयले जनाएको छ । विद्यालयमा आएको शिक्षक दरबन्दीमा भर्ना गरिदिने भनेर निजी स्रोतमा जनज्योति उमाविमै कार्यरत शिक्षकसँग रकम लेनदेन भएको सूचनाका आधारमा आयोगको टोलीले घूस लेनदेन भएको होटलमा छापा मारेको थियो । एक जना भर्ना गर्न ५ लाख माग भएकोमा ४ लाखमा सहमति भएको सूचना पाएपछि लेनदेन हुने समय र स्थान पत्ता लगाई आयोगको टोलीले छापा मारेको हो । लामो समयदेखि विद्यालयमा निजी स्रोतमा काम गरेकालाई पनि पैसाका लागि सताइएपछि आयोगमा सूचना पुगेको थियो । पछिल्लो समय जनज्योतिमा बिनापैसा काम हुन छाडेको गुनासो बढेको थियो । होटलको कोठामा बसेर खाजा खाई रकम लेनदेन गर्ने सहमति भएको सूचना पाएर आयोगको टोली पुगेको एक अधिकृतले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया