Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

शिक्षक संघ, अब कता ?

विहीबार, १९ चैत्र २०७१

- केशवराज घिमिरे / नेपाली पेशागत आन्दोलनको मै हूँ भन्ने धेरै पण्डितहरुको भविष्यवाणीलाई झूटो सावित गर्दै अन्ततः नेपाल शिक्षक महासंघ गठन भैछाड्यो । देशभरका शिक्षकहरु एकजूट हौं भन्दै नेपालका शिक्षक संगठनहरु दुई दशकमा मूलतः राजनैतिक विचारधाराको आधारमा फूटेर दुई दर्जन वरीपरी पुगेका थिए। तिनै टुक्रा टुक्रा भएका शिक्षक संगठनहरु मिलेर हाललाई एउटै महासंघ बनाउने र सोहि महासंघले शिक्षकहरुको पेशागत मुद्दाहरुलाई वैधानिक तरिकाले सरकार र सम्बन्धित निकायहरुसंग सौदावाजी गर्ने सिध्दान्तमा टेकेर यिनीहरु बाँधिएका हुन्। प्रकृयागत रुपमा चाहीँ नेपाल शिक्षक युनियनले विशेष महाधिवेशनबाट आफ्ना आवध्द र बाहिर रहेका संगठनहरुद्वारा तयार गरिएको संसोधित विधान अनुमोदन गरेपछि, त्यो विधानको प्रस्तावना अनुरुपका शिक्षक संगठनहरु जूटेर महासंघ बन्न संभव भएको थियो ।

यो तदर्थ कालमा नेपाल शिक्षक संघको अध्यक्ष केशव निरौलाको नेतृत्वमा नेपाल शिक्षक महासंघ गठन भएको घटनालाई नेपाली शिक्षक आन्दोलनको अगुवा संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनले ऐतिहासिक उपलव्धि मानेको छ भने अन्य सबै संगठनहरुले पनि हार्दिकता पूर्वक स्वागत गरेका छन्। विधान सम्मत प्रकृया पुगेकाहरु सहभागी भैसकेका छन् भने प्रकृया नपुगेकाहरु पूरा गर्न लागेका छन्। तर महासंघको यसपटकको नेतृत्व गर्ने नेपाल शिक्षक संघले अध्यक्षको पदमा आफ्नो अध्यक्षलाई एक्लै पठाएर तमाशा हेरेर बसेको छ । नेपाल शिक्षक महासंघ गठन गर्न सुरु देखि नै अरु सरह खटेको नेपाल शिक्षक संघ अन्तमा के मा अड्कियो ? यसले स्वयम संघलाई र शिक्षकहरुको पेशागत आन्दोलनलाई के कस्तो असर गर्ला ? र अब शिक्षक संघ कता जाला भन्ने प्रश्न नेपाली शिक्षक जगत र अन्य सरोकारवालाहरुको बिचमा गम्भीर चासोको विषय बनेको छ। यो आलेखमा यिनै प्रश्नहरुको उत्तर केलाउने प्रयत्न गरिएको छ।

नेपाल शिक्षक संघले अध्यक्षलाई महासंघमा पठाउन गरेको निर्णय र अरु पदमा पठाउन नगरेको निर्णयको सार देखिएको रुप भन्दा धेरै गहिरो छ। मूलत, शिक्षक संघ सबै बिचार सहितका शिक्षकहरुको एकीकृत र सुदृढ पेशागत आन्दोलनको लागि गठित नेपाल राष्ट्रिय शिक्षक संगठनलाई बिभाजन गरेर, शिक्षक आन्दोलनलाई विचारधारात्मक रुपमा संगठित गर्नु पर्ने आग्रहबाट जन्मिएको संस्था हो। यो मान्यता भनेको शिक्षक संगठनहरुले राजनैतिक दलको सेवा गर्ने र ती दलहरु सरकारमा पुगे पछि सरकारले शिक्षकको एजेण्डालाई सम्बोधन गर्ने भन्ने नै हो। त्यसैले यसको जग दवावबाट सरकारलाई वाध्य पार्ने नभई नेताहरुलाई लबिङबाट खुसी पार्ने र निर्णय आफ्नो पक्षमा पार्ने भन्ने नै हो ।

तर यो मान्यताले नेपालमा काम नगर्ने आधार पटक पटक पूष्टी भएको छ। शिक्षक संघको विगतलाई हेर्दा सबै त्यही मान्यताबाट आएका नेताहरु मूल नेतृत्वमा रहेका थिए। पहिलो पटक संस्थापन पक्षलाई जितेर वर्तमान अध्यक्ष निर्वाचित भएका हुन् जो प्रष्टै भन्छन कि पेशागत आन्दोलन “एक पेशा (एक संगठन) को मान्यतामा नै आधारित हुनुपर्छ। साझा र शक्तिशाली शिक्षक संगठनले मात्र शिक्षा र शिक्षकको समस्या हल गर्न सक्छ, फूटको बिचमा हुर्केको आफ्नै पेशागत आन्दोलनको उनको अनुभवले पनि त्यहि भन्छ ।

नेपालमा यो मान्यतालाई पुष्टी गर्ने थुप्रै उदाहरणहरु छन् । तर संघको सम्पूर्ण केमेष्ट्रि उनको यो अनुभव जन्य निष्कर्षको पक्षमा छैन। उनकै टिमका कतिपय व्यक्तिहरु उनको यो शिक्षक एकताको अडानको अगाडि टिक्न सक्दैनन् र कार्यक्रमहरुमा सहभागी हुन्छन तर गूटका गुरुहरुले दिक्षित गरे पछि फेरि बटारिने गरेका छन् । गुटका गुरुहरुको पूर्ववत धारणा के हो भने राजनैतिक दलको सेवा प्रथम कर्तव्य हो शिक्षकको हित गौण कुरा हुन् र शिक्षकहरु बिच एकता हुने हो भने राजनैतिक विचारधारात्मक काम गौण हुन्छ, त्यसैले राजनैतिक दलको हित हुन्न ।

फेरि यो एकताको एजेण्डा संगठनको एजेण्डा हो, त्यसो हुँदा संघ कमजोर हुन्छ। युनियन कालमा पनि अस्थायी, राहत र उच्च मावि लगायतका शिक्षकहरु रहन नसक्ने युनियन बनाउनेमा संघ कै अडान थियो । शिक्षण पेशा भित्रका पिडित शिक्षकहरुको पंक्तीबाट शिक्षक संगठनको सम्बन्ध टूट्यो र कमजोर भयो । जसले गर्दा शिक्षक युनियन नै तत्कालिन आवश्यकता आम शिक्षकहरु समेटेर गरिने एकताको वाधक बन्यो जसले गर्दा गणतान्त्रिक र मधेसी समूह जन्मन र विस्तार हुनलाई मलजल ग¥यो । त्यसकारण अहिले शिक्षक संघ आम शिक्षक एकताको बाटोमा जाने कि नजाने भन्ने नै हो, र संघको हलो यतै कतै अड्केको छ।

बिगतमा देशव्यापी रुपमा द्वन्दरत रहे पनि शिक्षक युनियन कालदेखि एक दशकसम्म सहकार्य र प्रतिस्पर्धा गर्दै आएको नेपाल राष्ट्रिय शिक्षक संगठन फेरि एकपटक सबै शिक्षकहरुको माझमा महासंघ बनाउने कार्यमा देखाएको तत्परता, परिपक्वता र विचार निष्ठाको कारणले स्थापित हुन पुगेको छ । कार्य नैतिक रुपमा सबै शिक्षक संस्थाहरुको विलय वा ‘मर्जर’ हुनुपर्छ  भन्ने उसको लाइन राजनैतिक अस्थिरता र संक्रमणकालमा सबै खालका विचार समूह र दलका नेताहरु शिक्षा मन्त्री भैसक्दा पनि शिक्षकका समस्याहरु ज्यूँ का त्यूँ रहनुले पनि पुष्टी भएको छ।

विगतमा युनियनमा रहेको कारणले गर्दा सबै वामपक्षीय शिक्षकहरुसंगको दूरी बढेको र एकताको संभावना कम भएकोमा अब महासंघ मार्फत गाँठो फूकेको छ। माओवादीले विगतमा भातृसंगठन बनाएका शिक्षकका संस्थाहरु क्रमशः ट्रेड युनियनमा दर्ता गर्दै व्यवस्थित हुदै छन् । त्यसले नेपाल राष्ट्रिय शिक्षक संगठनमा तिनीहरुको विलयको संभावना बढेको छ । सरकारमा मन्त्री फेरिदै जाने अनि शिक्षकको माग जस्ताको तस्तै रहँदा शिक्षक संघको सरकारसंग लविङ मार्फत माग पूरा गराउने रणनीति अझ कमजोर हुनेछ र संयुक्त संघर्षको विकल्प रहँदैन । संयुक्त संघर्षको लागि उपयुक्त साधन भनेको एउटै शसक्त पेशागत र ट्रेड युनियनको खाँचो पर्नेछ। बलियो र एकीकृत शिक्षक आन्दोलनको आवश्यकताले शिक्षक संघको विचार अनुसार बनेको शिक्षक विभाजन गर्ने नाराको अवसान हुनेछ । आफ्नो विचार समूह मानिएको ने.क.पा. (एमाले) ले भातृ वा मोर्चा संगठन बनाउने निर्णय गर्दा पनि प्रतिवाद गरेर आफ्नो स्वतन्त्र हैसियत जोगाएर राखेको नेपाल राष्ट्रिय शिक्षक संगठन त्यो बेलामा नैतिक र राजनैतिक दुबै मोर्चामा बिजयी हुनेछ। नेपाली शिक्षक आन्दोलनको अहिलेको गोरेटोहरु जम्मा भएर ऐतिहासिक मूल बाटोबाट अघि जानेछ।

नेपालको शिक्षकहरुको अबको बाटो शिक्षक महासंघको वाटो हो। जन्मँदा सबै सजीवहरु सरल, सामान्य र संवेदनशील हुन्छ। अहिले स्वभाविक ढंगले यो नवजात छ, धेरै धक्का व्यहोर्न नसक्ला । तर यसमा जीवन छ, त्यसैले स्वभाविक ढंगले धेरै शिक्षकहरुले आशा गरेका छन् । शिक्षक बाहेक अन्य सरोकारवालाहरुले समेत महासंघको गठन र गतिविधिलाई सकारात्मक ढंगले हेरेका छन् ।

यसको विपक्षमा जानी नजानी लाग्नेहरुले पनि आज भोलि दिनदिनै भाषा फेर्न थालेको पाइन्छ । शिक्षक संघले तत्काल नै आफ्नो टिम त्यहाँ पठाउने संभावना छैन भनिन्छ । वर्तमान अध्यक्ष महासंघमा जाँदा एक व्यक्ति एक पद लागू हुने कि नहुने, संघको आगामी महाधिवेशनको लागि कसैलाई अध्यक्षमा अहिले नै प्रस्तावित गरेर गिभ एण्ड टेक गर्दै जाने कि नजाने, संघको राष्ट्रिय समितिले हालसम्म टुंगोमा पु¥याउन नसकेको यो मामिला राष्ट्रिय प्रतिनिधि सभामा लाने कि नलाने आदि रणनैतिक मुद्दाहरु रहेका छन् । अध्यक्ष निरौला यो मामिलामा धेरै दिएर सम्झौता गर्ने मूडमा छैनन् । किनकि उनको महासंघ प्रतिको प्रतिवध्दताको कारणले गर्दा अन्य समूहले समेत उनलाई साथ दिनेछन् । त्यहाँ उनको बार्गेनिङ पावर बढी छ, किनकि उनले पनि साथ नदिएमा शिक्षक संघ पनि सिंगै महासंघबाट बाहिरिने संभावना हुन्छ, जून शिक्षक एकताको पक्षमा हुँदैन । बरु अब लगत्तै महासंघले क्षेत्रीय स्तरमा भेला लगायतको कार्यक्रम लिएर जाने योजना बनाएको छ ।

त्यसरी जाँदा अब संघको निरौला बिरोधी समूहको अहिलेसम्म लुकाइएको अनुहार छ्यांगै देखिने छ । अहिले सम्मको व्यवहार हेर्दा संभावना के देखिन्छ भने सो कार्यक्रमहरुमा संघको असन्तुष्ट समूह घिसारिएर पनि संलग्न भई जानेछ। नगए एक्लै कता जानू ? घिसारिएर नै भए पनि एकताको बाटोको हिंडाई, शिक्षक संघ र आम नेपाली शिक्षकहरुको पनि हितमा हुनेछ ।   

प्रतिक्रिया