- प्रा. डा. मनप्रसाद वाग्ले, शैक्षिक मुद्धा र नीति निर्माणका लागि आवश्यक वकालतमा सुझवुझ साथ विचार प्रवाह र खरो टिप्पणी गर्ने शिक्षाविद् हुन् । उनी सामाजिक सञ्जाल मार्फत् पनि आफ्ना विचार र शैक्षिक मुद्धाहरुलाई सार्वजनिक गरिरहेका हुन्छन् । यस अघि फेसबुक मार्फत् सार्वजनिक उनको थेसिस लेख्ने कला निकै रुचाईएको थियो । जुन एडुखबरले श्रृखलावद्ध रुपमा साभार गरेको थियो । वाग्लेले यस पटक नयाँ शिक्षण कला (पेडागोजी) का बारेमा बहस सार्वजनिक गरेका छन् :
New Pedagogy (1)
Michael Fullan र Maria Langworthy द्वारा तयार पारिएको “A Rich Seam” नामक प्रतिवेदनका बारेमा Sir Michael Barber ले लेख्नुभएको प्राक्कथनमा आधारित यो पोस्ट (New Pedagogy 1-3) सवैका लागि फाइदा होस् भन्ने हेतुले नेपालीमा अर्थ्याउने यौटा प्रयास मात्र हो । त्यसपछिका अंकहरुमा new pedagogy लाई विस्तृतिकरण गर्ने योजना छ ।
अहिलेको डिजिटल क्रान्तिले हाम्रो जीवन, हाम्रा क्रियाकलाप र हाम्रै संस्थाहरु रूपान्तरण भएका छन् । उदाहरणको लागि मोबाइल फोन बाटै तपाईं बैंकको रकम स्थानान्तरण गर्न, बील तिर्न र अन्य आर्थिक कारोवार गर्न सक्नुहुन्छ । अब तपाईं आफ्नो खल्तीमा राखेको एप बाट मुटुको चाल नाप्न सक्नुहुन्छ । त्यस्तै चालक विनाको गाडी सडकमा गुडेको पनि देख्न सक्नुहुन्छ ।
यो विकसित मुलुकवाट शुरु भएको भएता पनि पत्तै नपाई विकासोन्मुख मुलुकमा समेत समाज रूपान्तरणको माध्यम बनिसकेको छ । इन्टरनेट विना जीवन असहज हुन थालिसकेको छ । केटाकेटीले खेल्ने साधनको रूपमा होस् ,वा सूचनाको पहूँचको माध्यमको रूपमा होस्, वा अन्तरक्रियाको माध्यम होस् वा ठुला कम्पनीका बहुदेशीय महत्वपूर्ण बैठक होस् सब रूपान्तरण भएका छन् २१औ शताब्दीको डिजिटल क्रान्तिले । तर दुखको कुरा कति विद्यालय र विश्वविद्यालय यसैको उपयोग वाट रूपान्तरित भएका छन् त ?
हामीले चाहेर पनि किन यो हुन सकिरहेको छैन ? र हामी उही पुरानो भाषण कलामै विद्यार्थीहरुलाई दीक्षित गर्ने काम गर्दैछौं ? किन शिक्षकलाई अझै ज्ञानदाता र विद्यार्थीलाई त्यसको प्रापक मान्दैछौँ ?
Rosalind Picard र उनका साथीहरुले अमेरिकाको म्यासाचुसेत्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको प्रयोगशालामा गरेका अध्ययनले के पत्ता लगाएको छ भने शिक्षकले लेक्चर मात्र दिंदा विद्यार्थीको दिमागी क्रियाकलाप करिव शून्य नै हुन्छ ।अझ उनीहरु निदाएको अवस्था भन्दा पनि कम्जोर हुन्छ । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर Eric Mazur को अनुभव पनि त्यस्तै छ । उनि भन्छन लेक्चरले दिमागलाई समथर गराउँछ कुनै प्रगति हुँदैन । उनी अझ अगाडि थप्छन “Students are more asleep during lectures than when they are in bed!” त्यसैले नयाँ शिक्षणको निकै खाँचो भैसकेको छ ।
New pedagogy (2)
को विश्वविद्यालय जान योग्य को जान अयोग्य ? को प्रोफेसनल को नन -प्रोफेसनल ? कसले प्राविधिक काम गर्ने कसले नगर्ने ? कसले कति पढ्यो भने कुन तहको काम पाउँछ ? जस्ता कुरामा २०सौ सताब्दी अल्झियो । जसका कारण सिकाइको केन्द्र भनेको स्कूल, कलेज र विश्वविद्यालय नै मुख्य ठानिए । अनि विश्वविद्यालयवाट डिग्री लिएकाहरुनै सर्वत्र हावी हुने र सिकाइका अन्य वैकल्पिक मार्ग कम्जोर बन्न पुग्यो । अब २१औ सताब्दी यो भन्दा पृथक धारणा राख्दछ । सामाजिक, आर्थिक र नैतिक हिसावले नितान्त पृथक । अवको जमानामा मान्छेले भन्दा मेसीनले बढी काम गर्ने भएको छ भलै यसैका कारण धेरै यूवाले रोजगारी नपाएको अवस्था किन नहोस्; यो यथार्थ हो र यसलाई नस्वीकारी धर छैन ।
२१औ सताब्दीको सिकाइ शैक्षिक संस्थाको ४ पर्खाल भित्र मात्र सिमित छैन । यो व्यापक छ र जहाँ पनि सम्भव छ । अव छनिएकाहरुले मात्र हैन प्रत्येक मान्छेले पढ्न पाउने वातावरण हुनुपर्छ, प्रत्येकले आफ्नो करिअर बनाउन सक्ने हुनुपर्छ । एकले अर्कोवाट सिक्ने क्रम शुरु भएको छ र यो अगाडि बढ्दैछ । शैक्षिक संस्थाको बढ्दो क्षमता र सिक्ने प्रवृत्तिले गर्दा एउटा संस्था र अर्को संस्थाविच सिकाइ आदानप्रदानको सम्भावना पनि बढेर गएको छ ।
यी सव भूमण्डलीकरणका सम्भावित उपलब्धिका सूचक हुन् । त्यसैले नयाँ शिक्षण अव केवल कक्षाकोठामा मात्र सिमित छैन यो बाहिर संसारमा पुगिसकेको छ । त्यस्तै शिक्षक वा शैक्षिक प्रणालीका अगुवाहरुले पनि आफ्ना समकक्षीवाट जति धेरै र छिटो सिक्न सक्छन त्यति किताव पढेर वा कक्षामा बसेर सिक्न सक्दैनन् । यिनै कुरालाई ध्यानमा राखेर नयाँ शिक्षण तर्फ उन्मुख हुने हो भने निकै ठूलो उपलब्धि हात पार्न सकिन्छ ।
New pedagogy (3)
अवको शिक्षा भनेको लेख्न र पढ्न मात्र जान्ने साक्षर भन्दा निकै माथि सोच्नु पर्ने भैसकेको छ । समस्या समाधान, सिर्जनात्मक प्रतिभाको प्रस्फुटन, सिकाई समूह निर्माण, विचारको मन्थन, सह-कार्य जस्ता अति आवश्यक सीपहरु अव पनि विद्यार्थीले नपाउने हो भने सिकाइको अर्थ रहन्न । विद्यार्थी-विद्यार्थी विच, विद्यार्थी-शिक्षक विच र शिक्षक-शिक्षक विच अव सिकाइ सहभागिता अनिवार्य भै सकेको छ । यसले मात्र शिक्षक र विद्यार्थीलाई भित्रैदेखि सिक्ने र सिकाउने समान उत्प्रेरणा प्रदान गर्दछ । एकांगी पढाईले २१ औं शताब्दिको भूमण्डलीकरणको माग र आवश्यकता धान्न सक्दैन । अरुसंगको सहकार्यमा प्रत्येक विद्यार्थीलाई आफ्नो सिकाइको नेतृत्व आफैं लिने अवसर प्रदान गर्नु नयाँ शिक्षण (New Pedagogy) को मूल मर्म हो । अनि मात्र शिक्षालाई जगत संग जोड्न सकिन्छ र सिकाइको अभिवृद्धि हुन्छ । यस्तो नयाँ सिकाइ खासगरी वास्तविक संसार र समस्या समाधान गर्ने सीपमा आधारित हुन्छन् जसलाई डिजिटल प्रविधिमा भएको प्रवर्तनले ह्वात्तै अगाडि बढाउँछ । नयाँ शिक्षणको यो क्रम पियाजे, भिगोत्सकी र अन्य सिद्धान्तविदकै अवाधारणामा टेकेर अगाडि बढ्दैछ र सिकाइमा यौटा नयाँ आयाम थप्दैछ ।
नयाँ शिक्षण कुनै प्रयोगशाला वा कुनै विश्वविद्यालयमा परिक्षण गरेर नतिजा सार्वजनिक भएको विषय हैन । यो त प्रत्यक्ष कक्षाकोठा भित्र नै विकास गरिएको यौटा नविन प्रयोग हो (Frontline). बिभिन्न मुलुकको अनुभवको आधारमा यो नयाँ शिक्षण विद्यार्थीको सिकाइ प्रतिको नैराश्यपन र अरुचि घटाउन तथा आफ्नो पेशाप्रति सकारात्मक सोच राख्न नसक्ने शिक्षकका लागि सकारात्मक उर्जा प्रदान गर्न अगाडि बढेको छ ।
यस्ता कुरामा देशको शिक्षा प्रणालीले ध्यान दिनु पर्छ र ज्ञान सर्वसुलभ हुनुपर्दछ (ubiquitous)/ ज्ञान नियन्त्रण गर्ने बस्तु होइन र राज्यले यस्तो गर्नु पनि हुँदैन ।
खासगरी अहिलेको २१ औं शताब्दिमा इन्टरनेटको पहूँच अल्प विकसित मुलुकमा समेत भएकोले शिक्षण सिकाई लाई रूपान्तरण गर्न प्रविधिको प्रयोग गर्नु पर्छ, गर्न सकिन्छ । यसैले शैक्षिक प्रणालिमा सुधार गरेर ज्ञान, शिक्षण कला, र प्रविधिलाई (knowledge, pedagogy, and technology) एकीकृत गर्न सकिन्छ र चमत्कारिक उपलब्धि हासिल गर्न सकिन्छ । पाठ्यक्रम निर्माण प्रक्रिया देखि विद्यार्थीको मूल्यांकन नतिजा सम्मको यात्रा (Pedagogy) हो । यदि new pedagogy को अवधारणा अगाडि बढाउने हो भने उही खर्चमा सिकाइको मात्रा दोब्बर बनाउन सकिन्छ ।
प्रतिक्रिया