काठमाडौं २८ बैशाख/ स्थानीय तहको चुनावले सदरमुकाम चरिकोट गुल्जार देखिन्छ । विभिन्न दलका झन्डा बोकेका र पार्टीेको नाम अंकित टिसर्ट लगाएका कार्यकर्ताको लस्कर जताततै भेटिन्छ । भीमेश्वर नगरपालिकामा मेयर पदमा उठेका प्रमुख दलका उम्मेदवारका नारा उस्तै आकर्षक छन् ।
कसैले नि:शुल्क शिक्षाको नारा अघि सारेका छन् त कसैले भूकम्पपीडितका घरमा होमस्टे बसाउने अवधारणा ल्याएका छन् । जति आकर्षक नारा भए पनि नगरपालिकाकै वडा नम्बर १ मा रहेको बोसिम्पा प्राविको दुर्दशाले राजनीति र चुनावी नारालाई गिज्याइरहेको छ ।
गत आइतबार कान्तिपुरकर्मी पुग्दा उक्त स्कुलमा कार्यालय सहयोगी दानबहादुर थामी विद्यार्थीलाई एकै ठाउँमा भेला पारेर भुल्याइरहेका थिए । दुई वर्षअघिको भूकम्पमा भवन भत्किएपछि तीन कक्षासम्म पढाइ हुने यो स्कुलको दुर्दशा सुरु भयो । स्कुल क्षेत्र पहिरोको जोखिममा परेपछि पानीपोखरी सारियो । त्यसयता एक गैरसरकारी संस्थाले दिएको त्रिपालमुनि चलिरहेको छ । दुई हिउँद, दुई बर्खा धानेको त्यही पाल पनि ठाउँ–ठाउँमा च्यातिइसकेको छ । विद्यार्थी भुइँमा ओछ्याइएको पातलो प्लास्टिक फोममा बस्न बाध्य छन् । दुई शिक्षक, एक कार्यालय सहयोगी रहेको यो स्कुलमा जम्मा १३ जना विद्यार्थी छन् । अधिकांश विपन्न थामी समुदायका । आइतबार जम्मा ६ जना विधार्थी स्कुल आएका थिए ।
कक्षा १ मा सबैभन्दा धेरै अर्थात् ९ जना विद्यार्थी छन् भने कक्षा २ मा ३ र कक्षा ३ मा जम्मा १ जना छन् । कक्षाकोठा नहुँदा तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाइन्छ । अनि अफिस कहाँ छ त ? कान्तिपुरको प्रश्नमा कार्यालय सहयोगी दानबहादुर थामीले हाँस्दै भने, ‘अफिस त सधैं सरको झोलामै हो ।’
चर्को घाम लाग्दा विद्यार्थी आत्तिन्छन् । हुरीबतास र झरीमा पढाइ हुँदैन, उनीहरूलाई घर पठाइन्छ । थामीका अनुसार हावाहुरी चल्दा स्कुलछेवैको चिलाउनेको रूख कतिबेला ढलेर किच्ने हो भन्ने डरले सबैजना आत्तिन्छन् ।
स्थानीय तहको निर्वाचनका उम्मेदवार मत माग्दै स्कुलसँगै रहेको विस्थापित थामी समुदायको टहरासम्म धाइरहेका छन् । तर तीमध्ये अधिकांशले त्रिपालमुनि ‘बिजोग’ देखेका छैनन्, देख्नेले पनि स्कुलको स्तरोन्नति गर्ने वाचा गरेका छैनन् । थामीका अनुसार केही उम्मेदवारले स्कुलको भवन बनाइदिने भनेका छन् तर कसरी र कहिले बनाइदिने भनेका छैनन् ।
स्थानीय रामबहादुर थामीका अनुसार उम्मेदवारहरूले घरघरमा बाटो ल्याइदिने, विस्थापितलाई जग्गाको लालपुर्जा दिने, पानी ल्याइदिने जस्ता नारा दिएका छन् तर स्कुलको दुर्दशाबारे सबैजसो बेखबरझंै छन् । सदरमुकाममा विकास र समृद्धिका चर्का नारा सुनिन्छन् तर सदरमुकाम छेवैको स्कुल भने त्रिपालमुनि चलिरहेको छ । कार्यालय सहयोगी थामीले भने, ‘स्कुलको दुर्दशाले सबैलाई गिज्याइरहेको छ ।’
जनकराज सापकोटाले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया