Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

हाम्रो शिक्षा : गोरुलाई नून खुवाउने पाराको

सोमबार, २३ चैत्र २०७१

- खगेन्द्र संग्रौला / म बाबु या अभिभावक हुँ । मेरा छोरी र छोरा छन् । म शिक्षक हुँ अथवा शिक्षक थिएँ । अहिले शरच्चन्द्र जीले लेख्नु भएको 'हामी आमाबाबु' पुस्तक र यस्ता पुस्तकहरुको ऐनामा म कस्तो बाबु थिएँ भनेर हेर्दा या शिक्षकको रुपमा विद्यार्थीहरुसंग कस्तो ब्यवहार गरे भनेर हेर्दा म आफूंलाई धेरै लायक पाउँदिन । धेरै नालायकहरु मध्ये म अलिकति लायक थिएँ हुँला तर, म खासै लायक थिईन ।

बाबुको रुपमा आफ्नो भूमिका बारे म एउटा दृष्टान्त प्रस्तुत गर्छु । मेरो छोरोको सानै देखि त्यसको स्वभाव रुचि अरु बालबालिकाको भन्दा फरक थियो । त्यो लेफ्ट हेण्डेड थियो अथवा त्यो लेखनमा वामपन्थि । म चाँही शिक्षक भएको हुनाले बायोलोजिकल्लि कोही लेफ्ट हेण्डेड किन हुन्छन् मलाई थाह थियो । मेरी श्रीमतीले उसको देब्रे हातको लेखन प्रति ठूलो आपत्ति जनाईन् । मेरो श्रीमती र मेरो विचमा ठूलो विवाद भयो । दोश्रो मेरो छोरो मितभाषि वा अल्पभाषि थियो, अत्यन्त कम बोल्ने, पढाईमा पटक्कै ध्यान नदिने । परीक्षामा संधै राम्रो गर्ने । मेरो श्रीमतीको पनि मेरो पनि संधै चिन्ता के थियो भने – यो लठ्ठक हुन्छ र यसले गरीखाँदैन । यो आमाबाबुको लागि पनि बोझ हुन्छ समाजको लागि पनि बोझ हुन्छ । तर, जब परीक्षाको परिणाम आउँथ्यो, त्यसले सँधै चमत्कार गथ्र्यो ।

मेरो छोराको त्यो विशिष्ठ किसिमको चरित्र, स्वाभावको निजत्वलाई मैले बुझिन । म त शिक्षक थिएँ । मैले त शिक्षाका सिद्धान्तहरु, शास्त्रहरु पनि धेर थोर पढेको थिएँ । माक्सिजम र क्रिटिकल क्रियटिभ साईन्स पनि पढेको थिएँ । तर मैले आफ्नै छोरासंग बाबुको नाताले, परिवार भित्रको अभिभावक, गुरुको नाताले पनि खासै गतिलो ब्यवहार गरिन ।

शिक्षकको रुपमा कुरा गर्छु, मैले जुन बेला  पढें र पढाएँ त्यो बेला पञ्चायत थियो । राजाको शासन थियो । राजाको शासन भनेको त हुकुमी शासन हो । सत्तामा हुकुमी शासन हुन्छ । समग्र समाज र परिवारमा त्यसको छाप पर्छ । म चाँही अलिकति शिक्षाको सिद्धान्त पढेको हुनाले केटाकेटीसंग सकेसम्म समान आधारमा विनम्र भएर ब्यवहार गर्ने प्रयत्न गर्थें । केही शिक्षकहरु बेसरी पिट्थे पिट्नै पर्छ भन्ने सिद्धान्त थियो । पछि समस्या के भयो भने, मेरो कारणले अरु पिट्ने गुरुहरु, हप्काउने गुरुहरु कडा गुरुहरुलाई बडा कठिन भयो । म माथि प्रश्न गरियो कि त पिट्नु पर्यो कि त जागिर छोड्नु पर्यो । मैले के गरें होला त्यसको जवाफ म अहिले दिन्न ।

हामी सबैको अनुभव के हो भने, बाल्यकालमा तपाईलाई धेरै सानो देखि हाउगुजी देखाईन्छ । भूत, प्रेत, डंकिनि, बोक्सि, बन झाँक्रि, बाघ भालु ईत्यादि । केटाकेटीहरुले जव केही कुरा माग्छन्, जव आमाबाबुलाई असजिलो अनुभव हुन्छ कचकच गर्छन्, छुकछुके वा चञ्चल हुन्छन् उसलाई हाउगुजी देखाईन्छ । परिवारमा हाउगुजी हुन्छ, राज्यमा राजा हाउगुजी हुन्छ । र सारा समाज भरी हाम्रो सबै चिन्तनमा, संस्कारमा, शिक्षामा त्यसको प्रतिविम्बन सर्बत्र देखिन्छ ।

धेरै समय वितेको छ, सत्ताका धेरै स्वरुपहरु फेरिएका छन् । समाजमा बौद्धिक विमर्श पनि धेरै नै भएको छ । आधारभूत रुपमा अहिले पनि हाम्रो परिवार भित्रको अनौपचारिक शिक्षाको परिपाठि, विद्यालय भित्रको औपचारिक शिक्षाको परिपाठि र राजनीतिक दल भित्रको शिक्षाको परिपाठिमा खास्सै फरक छैन । जो बलियो छ, कमजोरलाई त्यसले हेप्छ । जो ठूलो छ, त्यसले तलको लाई अरन खटन गर्छ । जो बरिष्ठ छ, त्यसले कनिष्ठलाई मान्छे नै गन्दैन । अड्डा अदालतमा, विद्यार्थीमा, विद्यालयमा, आमसमाजमा, यो नेपाली समाजको चिन्तनको आम प्रबृत्ति हो । 
यो पुस्तक 'हामी आमाबाबु' शरच्चन्द्र जीले राम्रो लेख्नु भा छ । म एउटा कविता संग्रहको विमोचन गर्न हिजो चितवनमा थिएँ । बाटोमै पढ्छु भनेर पुस्तक बोकेर गएको थिएँ । मेरा केही ५–६ जना साथीहरुले त्यसका केही अँशहरु पढ्नु भो, उहाँहरुले के बचन दिनु भा छ भने, नारानघाटमा यो पुस्तक आउने वित्तिकै एक थान त म किन्छु । त्यो सुनेर मलाई खुसी लाग्यो, त्यतिले मात्रै मलाई के लाग्यो भने शरदचन्द्रजीको यो प्रयत्न सार्थक हुँदै छ ।

यो पुस्तक मूल ग्रन्थको हुबहु अनुवाद हैन । यसको स्थानीकरण वा अनुकुलन भन्न सकिन्छ । ती सन्दर्भहरु जो हाम्रो लागि प्रासंगिक छैनन् तीनलाई छोडिएको छ । जे कुरा प्रासंगिक छन् त्यसलाई पनि स्थानिक सन्दर्भमा, स्थानिक भाषामा र स्थानिक दृष्ठान्त्ले प्रस्तुत गरिएको छ । त्यसैले यो स्थानीकृत र अनुकुलित पुस्तक हो । त्यसो गर्दा खेरी पुस्तकलाई एकदमै मौलिक, सान्र्दभिक र उपयोगि बनाईएको छ ।

हामी सबैलाई थाह छ, बाल्यकालमा दुई थरी केटाकेटीहरु हुन्छन्, एउटा ज्ञानी हुन्छ एउटा छुच्चो । आमाबाबुले भनेको जसले खुरुखुरु मान्छ, जसले प्रश्न गर्दैन, जसले शन्देह गर्दैन, जसले विमती जनाउँदैन, जसले कचकच गर्दैन वा विद्रोह गर्दैन त्यो ज्ञानी हुन्छ । जो चञ्चल हुन्छ, जसले नयाँ कुरा सिक्ने प्रयोग प्रति रुचि देखाउँछ, आमाबाबुले भनेका कुरामा जसले शन्देह गर्छ, अवज्ञा गर्छ, त्यो छुचो, काम नलाग्ने उपध्य्राह हुन्छ ।

विद्यालय भित्रको कुरा पनि त्यहि हो । विद्यार्थीले आफ्नो शिक्षकलाई प्रश्न सोध्यो भने, प्रश्न सोध्ने विद्यार्थीलाई प्राय प्रीय मानिदैंन । अपवाद जन्य शिक्षकहरु बाहेक, सबै सरदर शिक्षकहरुले विद्यार्थीबाट चाहने वफादारी नै हो । जसरी राजाले प्रजाको वफादारी चाहन्छ, राजनीतिको नेताले कार्यकर्ता र जनताको वफादारी चाहन्छ । वास्तबमा यो परिवार भित्रको समाजको, शक्ति पिठहरुको राजनीतिक दलहरुको यो दासताको शिक्षा हो ।

बालक चुलबुले हुन्छ, जिज्ञासु हुन्छ, त्यो प्रयोगशिल हुन्छ । बामे सर्नु भन्दा अगाडी पनि बालकले हात खुट्टा चलाई रहन्छ । त्यसले मुक्ति खोजेको हो । स्थिर अवस्थाबाट त्यो गतिमा जान चाहन्छ । बामे सर्छ, त्यसमा धेरै ठूलो जोखिम हुन्छ । नाक ठोकिन्छ, कुहिनामा चोट लाग्न सक्छ । कतै लड्न पनि सक्छ । बालकले जोखिम उठाउँछ । किन भने त्यो स्थिर अवस्थाबाट गतिमा जान चाहन्छ, त्यसले आफूलाई विस्तार गर्न खोज्छ । उभिन्छ र टुकुटुकु हिड्छ । अनेकौं पटक लड्छ । जोखिम उठाउँछ, यो जम्मै प्रयत्न के हो भने, उ स्वाबलम्बि बन्न चाहन्छ । आफ्नो प्रयत्नबाट उसले आफ्नो शरीरमा पखेंटा पलाउन खोज्छ । सिमित ठाउँबाट त्यो विस्तृत ठाउँमा जान चाहन्छ, त्यो उड्न चाहन्छ । तर, हाम्रो परिवार भित्रको शिक्षाले, ब्यवहारले, विद्यालय भित्रको शिक्षा र ब्यवहारले यी सबै कुरालाई प्राय कुण्ठितनै गरिरहन्छ । यसो गर, उसो नगर, यसो भन, उसो नभन, यहाँ सम्म जाउ त्यहाँ सम्म नजाउ, पलपलमा उसको अगाडि बञ्देजहरु थुपरिन्छन् । सिमाहरु थुपरिन्छन् ।

वास्तबमा मानव सभ्यताको ईतिहासमा मानिस आफ्नै पुर्वजहरुले निर्माण गरेका जे जति बन्देजहरु थिए तिनलाई भत्काउँदै आएको हो । संस्कृतिले बन्देजहरुको निर्माण गर्छ । संस्कृति कृतिम कुरा हो, त्यसले बन्देजहरु बनाउँछ । जिवनको निम्ति ती बन्देजहरु अनूकूल हुँदैनन् मान्छेले त्यसलाई भत्काउँछ । त्यो भत्काउने सबै भन्दा बागि भनेको बालक नै हो । तर, हामीकहाँ सामन्तबाद चिन्तनमा, संस्कारमा, ब्यवहारमा अझै पनि बलियो छ । राजनीतिमा धेरै ठूलो आदर्शका कुराहरु गर्दा गर्दै पनि सारमा अझै पनि नेपाली समाज सामन्तबादमा छ । परिवारको अनौपचारिक शिक्षामा र विद्यालयको औपचारिक शिक्षामा त्यो कुरा अझै पनि हावि छ । 

यो पुस्तकले मार्ग दर्शन गरेको छ । यहाँ स – साना सम्बादहरु छन् । आमाबा र छोराछोरीको बिचमा, शिक्षक र विद्यार्थीको बिचमा स – साना सम्बादहरु छन्, ती सम्बादमा केटाकेटीसंग कसरी ब्यवहार गरिन्छ भन्ने दृष्टान्तहरु छन् । प्रेम पूर्वक ब्यवहार गर्ने, आग्रह पूर्वक ब्यवहार गर्ने, अथवा धृष्ट भाषामा, रुष्ट भाषामा बालकलाई चिढचिढाहट उत्पन्न हुने गरी अरन खटन गर्ने कुराहरु छन् । यी सबै कुरा गरेपछि पुस्तकमा सूत्र बचन राखिएको छ, माथिको मध्ये कुन चाँही ठिक होला ? जवाफ त त्यहि हो । किन भने शिक्षा भनेको समाज शास्त्र हो समाज शास्त्रको गणितीय जवाफ हुँदैन । यो भावनात्मक कुरा हो । यो पुस्तक कुनै औपचारिक समाजशास्त्रीय शोधको लेखन हैन । समाजशास्त्रीय शोधमा समस्याको पहिचान गरिसके पछि, त्यसको ब्याख्या गरिसकेपछि केही सिफारिसहरु हुन्छन् । यस्तो क्रियटिभ राईटिङ्ले सिफारिस गर्दैन । त्यसले समस्याको अबलोकन गर्छ, समस्या उत्खनन् गर्छ, समस्याको चरित्रको चित्रण गर्छ । त्यसपछि आफ्नो केही मन्तब्य राख्छ । त्यो नै पर्याप्त हो ।
शिक्षा के होला ? परिवारको पनि विद्यालयको पनि ? शिक्षा आनन्द हो की यातना ? शिक्षा हस्तक्षेप हो की प्रोत्साहन ? शिक्षा बालबालिकालाई अथवा विद्यार्थीलाई सिमाको पिञ्जराको कैदी बनाउने हो की पिञ्जराहरुलाई भत्काउँदै अगाडि विस्तारित हुनको निम्ति बाटो दिने हो ? शिक्षाको सार त्यहि हो ।

अहिले सम्मको हाम्रो शिक्षाको सार विल्कुलै प्रतिकूल छ । यो पुस्तकले ती प्रतिकूलताहरु के हुन् ? प्रष्ट पारेको छ । यसमा मलाई सब भन्दा रोचक लागेको कुरा के भने, केटाकेटीहरुलाई त्यहि कुरा भन्ने २ वटा तरिका हुन्छन् । नरम भाषामा प्रेम पूर्वक, बच्चाको मनमा ठेस नलाग्ने गरी त्यहि कुरा भनियो भने उसले ग्रहण गर्छ । त्यहि कुरा खरो भाषामा, रुष्ट भाषामा भन्नु भो भने, उसलाई चिढचिढाहट उत्पन्न हुन्छ । किन भने बालक आफैं एउटा स्वत्व हो आफैं अस्तित्व हो । तर ब्यवहार कसरी गरिन्छ भने, केटाकेटी भनेका बस्तुहरु हुन्, विद्यार्थी भनेका बस्तुहरु हुन्, त्यो बस्तुमा कुनै सम्बेदना हुँदैन । तिनीहरुसँग जसरी ब्यवहार गरेपनि हुन्छ । तर वयस्कहरु जस्तै, केटाकेटीहरु सम्बेदनशिल हुन्छन् । तीनमा स्वाभिमानको चेत हुन्छ, यद्यपी उसले त्यो अभिब्यक्त गर्न जान्दैन । अथवा अभिब्यक्त गर्ने उसको तरिका र शैली फरक हुन्छ । तपाईले पे्रम पूर्वक हेर्नु भो अथवा अर्को ढंगले, तपाईले प्रेम पूर्वक ब्यवहार गरिरहनु भएके छ अथवा अर्को ढंगले बालकले बुझ्छ । ईसारा बुझ्छ, संकेत बुझ्छ, हाउभाउ सबै कुरा बुझ्छ, खाली बयस्कहरुले जस्तो उसले मुखले भन्न नसक्ने मात्रै हो ।

लामो समय पढाए पछि मैले आफ्नो अध्यापनको बारेमा, त्यसको निचोडको बारेमा मैले केही सस्मरण लेखें । वास्तबमा हाम्रो शिक्षा गोरुलाई नून खुवाउने टाईपको छ । अचेल के गरिन्छ थाह छैन, म जव सम्म गाउँमा थिएँ, गोरुलाई स्वस्थ्य र दह्रो बनाउनको निम्ति, मुख च्यातेर नून कोचिन्थ्यो । खुट्टा बाँधिन्थ्यो, एउटा बलियो तिघ्रेले सिंङ समात्थ्यो, अर्को बलिष्ठले मुख च्यात्थ्यो, अर्कोले मुठिमा भएको नून मुख भित्र कोचिदिन्थ्यो । हाम्रो शिक्षाको चरित्र ठ्याक्कै त्यस्तै हो । शिक्षा भनेको बाहिरबाट भित्र ईम्पोज गर्ने कुरा हैन । बालक भित्रका जति प्रचुर सम्भावना छन्, त्यसको कल्पनाशिलतालाई जगाउने हो, त्यसको सृजनशिलतालाई जगाउने हो, त्यसमा आलोचनात्मक प्रबृत्ति भर्ने हो, त्यसको विकास गर्ने हो । बालकलाई भविष्यमा स्वाभिमानी, कल्पनाशिल, आलोचनाशिल, स्वतन्त्र ब्यक्ति बन्नको निम्ति पृष्ठभूमिको निर्माण गर्ने हो । यो पुस्तकले भन्न खोजेको त्यतिनै कुरा हो । मलाई यो पुस्तक मन पर्यो ।

यहाँ तपाई अभिभावक त सबै नै हुनुहुन्छ, सबैको विहा भएकै होला, जसको विहा भएको छैन निकट भविष्यमा तिनको पनि होला । तपाई जोजो शिक्षक हुनुहुन्छ म के निवेदन गर्छु भने तपाईको विद्यालयमा पढ्ने विद्यार्थीको प्रत्येक अभिभावकलाई एउटा पुस्तक तपाईले बेचिदिनु भो भने, धेरैको कल्याण हुन्छ । अभिभावकको कल्याण हुन्छ बालबालिकाको कल्याण हुन्छ, कालान्तरमा यो समाजको पनि कल्याण हुन्छ । मैले यो प्रकाशकको ब्यापार बढोस् भनेर, वस्तीसरलाई दुई चार रुपैंया ज्याला आओस् भनेर भनिराखेको हैन । पुस्तक धेरै राम्रो भएको हुनाले मैले यो कुरा भनेको हो । यसमा ठूलो दर्शनको कुरा छैन, शास्त्रको कुरा छैन, कुनै जटिलता छैन तर यसले सबै कुरा भनेको छ ।

सभ्यतामा निर्माण भएका जटिल विज्ञान र शास्त्रहरु छन्, जीवनको ससाना अनुभवहरुको योगबाट बनेका छन् । त्यस अर्थमा यो पुस्तक जग हो – परिवार भित्रको शिक्षाको, विद्यालय भित्रको शिक्षाको जग हो । यो मूलत अभिभावक प्रति सर्मपित भनिएको छ, तर यो अरुहरु प्रति पनि सर्मपित हुन सक्छ । मलाई त के लाग्छ भने, राजनीतिक दलका नेताहरुले यो पढेमा तिनको बुद्धिमा सुधार हुन्थ्यो ।

यसमा परिवारको कुरा मात्रै गरिएको छ । आफूलाई लोकतान्त्रिक पार्टी भन्ने, जनवादी पार्टी भन्ने के हुन्छ ? त्यहाँ पनि हुकुम शाही नै चल्छ । माथिकोले आदेश दिन्छ तलकोले आदेश हात थाप्छ । तलकोले आँखा जुधाउन खोज्यो भने, प्रश्न गर्ने प्रयत्न गर्यो भने,  खोज्यो भने, शन्देह गर्यो भने के हुन्छ ? कारवाहि हुन्छ, घोक्रेठ्याक लगाईन्छ । प्रमोसनको सम्भावना भए प्रमोसन हुँदैन, डिमोसन हुन्छ । त्यसैले यो अभिभावक प्रति मूलत लक्षित सत्य कुरा हो । शिक्षकको निम्ति यो त्यत्तिकै प्रासंगिक छ । शक्तिपिठको गुरुज्यूहरुका निम्ति त्यत्तिकै प्रासंगिक छ । राजनीतिक दलका नेताहरुका लागि पनि प्रासंगिक छ । शरच्चन्द्र वस्ती जी जो मेरो गुरु हुनुहुन्छ, उहाँले सत्कर्म गर्नु भएको छ, त्यसको निम्ति म उहाँलाई अभिवादन गर्छु । धन्यवाद ।

(भारतीय शिक्षा शास्त्री तथा लेखक गिरिजाशंकर भगवानजी बधेका अर्थात् गिजुभाईद्धारा लिखित पुस्तक माँ बापो की माथापच्चीको नेपाली भाषामा पुर्नलेखन गरिएको पुस्तक 'हामी आमाबाबु ' को सार्वजनिकिकरण कार्यक्रममा संग्रौलाले गरेको टिप्पणी । सिकाई समूहले प्रकाशन गरेको पुस्तक लेखक तथा पत्रकार शरच्चन्द्र वस्ती पुर्नलेखन गरेका हुन् ।) पुस्तक सार्वजनिकिकरणको खबरका लागि क्लिक गर्नुहोस् - बालबालिकाप्रति गर्नु पर्ने व्यवहार उजागर गर्ने पुस्तक सार्वजनिक

संग्रौलाको तस्विर : ईन्टरनेटबाट

प्रतिक्रिया