भक्तपुर - चुनाव नजिकिदैं गर्दा विद्यालय तहका विद्यार्थीले पनि आफ्नो क्षेत्रको विकास निर्माणका बारेमा चासो राख्न थालेका छन् । विद्यालयको कक्षामा शिक्षकको अध्यापनमा व्यस्त हुने विद्यार्थीले बैशाख ३१ गतेको चुनावका उम्मेदवारहरुसँग स्थानीय विकास निर्माणका बिषयमा चासो व्यक्त गरेका हुन् । चम्पक विद्यापीठका विद्यार्थी र स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाका उम्मेदवारहरूबीच भएको अन्तरक्रियामा विद्यार्थीले आफूहरुले भोगिरहेका समस्याहरू निर्धक्कसँग उम्मेदवारहरूका सामू राखेका थिए ।
कक्षा दशका विद्यार्थी सरोज महर्जनले मनोहरा खोलामा अवैध रूपमा बालुवा चोरी निकासी भइरहेकोले चाँगुनारायण मन्दिर नै भासिने चिन्ता गर्दै यसको रोकथाम गर्न योजना माग गरे । कक्षा आठकी छात्रा प्रविशा श्रेष्ठले चाँगुनारायणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू मन्दिर घुमेर एक कप चियासमेत नखाई फर्किने गरेको अनुभव सुनाइन् । कक्षा नौका विद्यार्थी उज्ज्वल तामाङले नगरपालिका घोषणा भएपनि सडक, यातायात, ढल निकास, खानेपानी आदिको उचित बन्दोबस्त नभएको गुनासो गरे ।
त्यसैगरी विद्यार्थी करिना राई, देवराज तामाङ, रोशनी श्रेष्ठ, बबिता भडेल लगायतले आ–आफ्ना प्रश्नहरू उमेदवारहरू समक्ष राखे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयरका प्रत्यासी नयाँ शक्ति नेपालका कान्छा तामाङ तथा उपमेयरका प्रत्यासी चण्डिका लामिछाने, वडा अध्यक्षका उम्मेदवारद्वय नेमकिपाका चक्रधरानन्द राजोपाध्याय तथा माओवादी केन्द्रका रामकुमार तामाङ एवं वडा सदस्यका उम्मेदवार दमाई गुरूङले विद्यार्थीसँग अन्तरक्रिया गर्न पाएकोमा खुशी व्यक्त गर्दै आ–आफ्नो पार्टीको एजेण्डा प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल रमेश सुवालले समसामयिक बिषयवस्तुमा विद्यार्थीले जानकारी राख्नुपर्ने धारणा राख्दै सोही विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक समेत रहेका उम्मेदवारहरूलाई आमन्त्रण गरिएको जानकारी दिए । कार्यक्रममा शिक्षकहरू ज्ञानबहादुर तामाङ, पूर्ण आले तथा सविना प्रजापतिले पनि बोलेका थिए ।
प्रतिक्रिया