Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यालयमा बालमैत्री वातावरण

बुधबार, २७ बैशाख २०७४

काठमाडौं २७ बैशाख/जनता माध्यमिक विद्यालय बर्दिबासले स्कुल नजिकै रहेको धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘एकीकृत नमुना मुसहर बस्ती’ का मुसहर बालबालिकालाई लक्षित गरेर ‘बालमैत्री वातावरण निर्माण परियोजना’ सुरु गरेको छ। धुर्मुस-सुन्तली फाउण्डेसनको प्राविधिक सहयोगमा बालमैत्री शिक्षा प्रदान गर्ने प्रमुख उद्देश्यले विद्यालयले सो परियोजना सुरु गरेको हो।

परियोजना सम्पन्न गर्न कुल ४८ लाख ६ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। परियोजना सुरुवातको लागि विद्यालयले १० लाख पूँजी लगानी गरेको विद्यालय प्रशासनले जनाएको छ।

परियोजना भित्र पाँच सय मिटर पक्की बाटोमा सडकको दुवै तिर रेलिङ्गसहितको अत्याधुनिक गार्डेन निर्माण गरिने योजना रहेको विद्यालय व्यवस्थान समितका अध्यक्ष देवनारायण महतोले बताउनुभयो। ‘विद्यालयको क्षेत्र भित्र हामीले करिब एक विघा क्षेत्रफलमा बालमैत्री परियोजना निर्माण कार्य अघि बढाएका छौं,’ उहाँले भन्नुभयो, ‘परियोजना भित्र चिड्रेन पार्क, अत्याधुनिक फाउण्टेन (झरना), सांस्कृतिक कार्यक्रमका लागि स्टेज, सवारी पार्किङ्गको लागि पार्किङ्ग स्थल, खानेपानीको धारा निर्माण कार्य परियोजना भित्र निर्माण हुन्छ। ’

२०१६ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालय कक्षा १२सम्म पढाइ हुन्छ। विद्यालयमा झण्डै एक हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सूचना अधिकारी सुशीलकुमार यादवले बताउनुभयो।

परियोजना निर्माणपछि विद्यालयमा विद्यालयमा विद्यार्थी टिकाउन, सिकाउन र गुणस्तरीय शिक्षा दिएर विश्व बजारमा विकाउन थप टेवा पुग्ने विद्यालय व्यवस्थान समितका सदस्य शंकर महतोले विश्वास व्यक्त गर्नुभयो।

मुसहर बस्तीका बालबालिका सुरु सुरुमा विद्यालय गएपनि पछि स्कुल छाँड्ने गरेको अभिभावक शिक्षक संघका संयोजक गोपीकृष्ण भट्टराईको भनाइ छ।

परियोजना निर्माणपछि विद्यालयलाई नमुना बनाउने सोच अघि बकढाएको विद्यालयका प्रधानाध्यापक दिलिप तिवारीको भनाइ छ।
परियोजना सम्पन्न गराउन विद्यालयले सहयोगी हातहरुसंग सहयोगको लागि अपिल गरेको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया