Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

विद्यालय बन्द, शिक्षकहरु चुनाव प्रचारमा !

मंगलबार, २६ बैशाख २०७४

काठमाडौं - कोटेश्वरस्थित कोटेश्वर माविका एक शिक्षक दलको चुनाव चिह्न अंकित झण्डा बोकेर प्रचारमा व्यस्त रहेको अवस्थामा भेटिए !

‘के गर्नु, चुनावका बेलामा पनि पार्टीमा नलागेर कहाँ हुन्छ ?’ आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै उनले भने, ‘आँफूलाई आपत् पर्दा हारगुहार गर्न जाने ठाउँ बनाईराख्नु पर्यो नी, काल जमाना खराव छ, एउटा न एउटा दलको फेरो नसमाए गरिखान सकिन्न त अनी पार्टिमा नलागेर हुन्छ ?’

चुनावको बेला यसरी नखटे पार्टीका नेता, कार्यकर्ता र समर्थकले अबगाल लगाउने चिन्ताले आफू खुलेरै भोट माग्न हिँडेको उनले सुनाए । आफ्ना पार्टीका उम्मेदवारले जित्ने त अन्तिम लक्ष्य भै गो ।
शिक्षकलाई खुल्लम खुल्ला राजनीतिमा लाग्न शिक्षा ऐनको आठौं संशोधनले बञ्देज गरेको कुरा ज्ञान नभएको पनि हैन । तर पनि उनी भने मज्जाले पार्टीमा लागिरहेका छन् । त्यसरी लागेका उनको भनाइ छ,

‘स्कुलको कम्पाउण्डमा पो राजनीति छिराउनु भएन त, स्कुलै बिदा भएपछि पनि गर्न नहुने त हुन्न है !’

कोटेश्वर माविका शिक्षक त एक प्रतिनिधि हुन् । स्थानीय तहको चुनावका लागि भन्दै विद्यालयहरु बिदा भए सँगै देशभरका सामुदायिक विद्यालयका शिक्षकलाई चुनाव प्रचार प्रसारमा भ्याई नभ्याई छ ।
यस अघि हल्का फुल्का पार्टिका कार्यक्रममा भेटिने शिक्षकहरु चुनावमा भने खुल्लम खुल्ला पार्टिको झण्डा बोकी हिँडेको भेटिन्छन्, उनीहरु चुनाव प्रचारकै कामले खुलेरै लागेका भेटिन्छन् । २० वर्षपछि हुन लागेको स्थानीय चुनावलाई सफल बनाउनका लागि लागेको बताउँदै मध्यपुर ठिमीका शिक्षक जीवन श्रेष्ठ भन्छन्, ‘स्कुल बिदा भएपछि सरकारले नै अप्रत्यक्ष रुपमा चनावमा लाग भनेको हैन र ?’ उनले भने ‘त्यही कारण चनावी प्रचारमा हिँडेँ ।’

चुनावको लागि स्कुल बिदा भएपछि कोही शिक्षक राजनीतिमा लागेका छन् भने कोही भने घरायसी काममा ब्यस्त भएका छन् ।

‘चुनावमा सरकारले कहिँ खटाएको नि छैन, आफू कुनै राजनीतिक दलको संगठनमा आवद्ध पनि छैन, त्यही भएर म त आफ्नो घरको काममा पो ब्यस्त छु ।’ बैशाखको टण्टलापुर घाममा गहुँ काट्दै गरेका अर्का शिक्षक रमा गोतामले सुनाइन् । उनले कामको चापाचापमा चुनावको लागि स्ुकल बन्द गरेको कारण आफूलाई सहज भएको बताइन् । ‘यता बारीमा खुर्सानी रोप्नुपर्ने, मकै छर्नुपर्ने, उता गहुँ काट्ने बेलामा दिएको विदाले मलाई त हाइसञ्चो बनाएको छ ।’ उनले भनिन् ।

बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका बेला ५ दिन विद्यालय बन्द गर्ने शिक्षा विभागको निर्णयसँगै बिदा पाएका शिक्षकलाई त हाईसञ्चो भएको छ तर यसले विद्यार्थीको पठन पाठन गर्न पाउनु पर्ने अधिकार भने हनन् भएको छ ।

प्रतिक्रिया