Edukhabar
बुधबार, ०५ मंसिर २०८१
गतिविधि

सरकारी स्कुललाई सहयोगको ओइरो

मंगलबार, २६ बैशाख २०७४

भक्तपुर– भक्तपुर नपा १ दूधपाटीस्थित ज्ञान विजय आधारभूत विद्यालयलाई सहयोग गर्ने हातहरू बढेका छन् । कक्षा आठसम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका हुन् ।
विद्यालयको पुनर्निर्माणसँगै विद्यार्थीहरूको दिवा खाजालगायतको लागि आर्थिक सहयोग जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदचरण रायले जानकारी दिए ।
विद्यालयमै पुगेर दाताहरूले आर्थिक सहयोग प्रदान गरेका छन् । जसमा स्काल क्लव नेपालले विद्यालयको पुनर्निर्माणको लागि थप पचास हजार आर्थिक सहयोग गरेको छ ।
क्लवले यसअघि विद्यालय पुनर्निर्माण तथा सौन्दर्यीकरणको लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको थियो ।
उक्त रकम नपुग हुने देखिएपछि एक कार्यक्रमबीच क्लवका अध्यक्ष भोलाविक्रम थापाले थप पचास हजार रूपैयाँ सहयोग गरेका 
हुन् ।
सोही कार्यक्रममा पीस इन्टरनेसनल टुर्स एण्ड ट्राभल्सका प्रोप्राइटर सर्वोत्तमला श्रेष्ठ विद्यालयका प्रारम्भिक तहका विद्यार्थीहरूको खाजाको लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरे ।
त्यस्तै जया ट्राभल्सका प्रोप्राइटर श्रवणकुमार राणाले विद्यार्थीहरूको खाजाकै लागि प्रत्येक वर्ष २५ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा दाताहरूले कक्षा तीनसम्मका करिब पचास विद्यार्थीहरूलाई संगीत साधन निःशुल्क वितरण गरेका थिए ।
उक्त कार्यक्रमअघि सहयोगी दाताहरूलाई भक्तपुर नगर क्षेत्रका सम्पदाहरूको अवलोकन भ्रमणार्थ सम्पदा पदयात्रा गराइएको थियो ।
भक्तपुर नगरको दत्तात्रय क्षेत्रबाट सुरू भएको सम्पदा पदयात्रा इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी हुँदै भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।
त्यस्तै विद्यालयमा अध्ययनरत छात्राहरूको लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुने क्रममा धेरै छात्राहरू विद्यालय अनुपस्थित हुने गरेपछि उनीहरूको सुविधाको लागि उक्त व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले बताए । ‘विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गरिएपछि छात्राहरू नियमित विद्यालय आइरहेका छन्’, प्रअ श्रेष्ठले भने, ‘साथै विद्यालयमा निःशुल्क खाजाको व्यवस्था गरिएपछि अभिभावक तथा बच्चाहरू स्कुलतर्फ आकर्षित हुनुभएको छ ।’ उनका अनुसार विद्यालयमा अहिले एकसय २० जना विद्यार्थीहरू भर्ना भइसकेका छन् ।

प्रतिक्रिया