काठमाडौं २६ बैशाख/वित्थड चिर गाउँपालिकाको दुर्गम देउलेख मडगाउँमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबाट सञ्चालित खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमनमा जाँदा स्थानीय जनता प्राविका विद्यार्थीसँग बाटोमा भेट भयो। हातमा क्यामेरा भएकाले विद्यार्थीले फोटो खिचिदिन आग्रह गरे । कक्षा १ देखि ४ सम्म पढाइ हुने यस विद्यालयमा बाटोमा भेट भएका विद्यार्थी पनि सबै कक्षाका नै थिए ।
कक्षा ४ मा पढ्ने चक्र ओखेडालाई अनुगमन टोलीका एक सदस्यले तीन गुणा तीन कति हुन्छ भन्दा विद्यार्थीले मुखामुख गर्दै जवाफ दिए, २४ । अर्का विद्यार्थी सुना खडायत लाई पाँच गुणा ६ बराबर कति हुन्छ भन्दा जवाफ आयो, २६ । कक्षा २ मा पढ्ने कुमारी ओखेडालाई न्याउली चरी लेख भनेर डायरी दिँदा उनी लेख्न नसकेर अकमक्क परिन् । अर्की पिड्की पुजारालाई श्रीपञ्चमी लेख्न लगाउँदा ‘सीरीपचमी’ लेखेर देखाइन् । कक्षा ३ मा पढ्ने नरेश खडायतलाई धनगढी लेख्न आएन । यस्तै कक्षा २ की रमितालाई आँखा लेख भनेर लेख्न लगाउँदा लेख्न नसकेर ‘नाइ जान्दो’ भनिन् ।
विद्यार्थीको शैक्षिक क्षमता मापन गरिरहँदा पछाडि उभिएका सुरतले ‘हाम्रा सर निकोरी नाई पढाउँदा’ भने । अर्का एक विद्यार्थीले ‘चैनपुरका एक सरमात्र निकोरी पढाउँदा छन्, उन्ज्या अरू सर त पढ पढ भन्दा निकोरी सिकाउँदैन्’ भने । विद्यालयको छुट्टीपछि घर जान हिँडिरहेका यस विद्यालयका १५/२० जना विद्यार्थीसंग कुराकानी गर्दा सरले राम्ररी नसिकाउँदा आफूले किताबका पाठ हिसाब पढ्न र गर्न नसकेको अवस्था राखे ।
कक्षा ४ मा पढ्ने अलि टाठोबाठोजस्तो लाग्ने चक्र ओखेडाले घर फर्केर पनि दाउराघाँस गाईगोरु हेर्नुपर्ने र स्कुलमा सरहरूले खासै राम्ररी नसिकाउने हुँदा बालबालिकाको पढाइ कमजोर भएका सुनाए । नजिकै मान्तोला टोलमा भेट भएकी महिला सरस्वती विष्टले सरकारी विद्यालयमा पढाइ साह्रै बिग्रेको सुनाइन् । केटाकेटीहरू पनि पढ्दैनन्, शिक्षकहरूले पनि राम्रोसँग नपढाउँदा गाउँघरका बालबालिकाको पढाइ साह्रै कमजोर भएको भनिन् ।
‘हरेक विद्यार्थीको गुणस्तर पढाइको आधार गाउँका प्राथमिक तहका विद्यालय नै हुन्’, स्थानीय राजेन्द्रबहादुर महरले भने, ‘तर गाउँका विद्यालयका शिक्षकहरूको लापरबाहीले पढाइ साह्रै कमजोर छ ।’ यसका लागि सरकारी तहबाट अनुगमन प्रभावकारी बनाउनुपर्ने सुझाव उनले दिए । देउलेखको जनचेतना त एउटा प्रतिनिधि विद्यालयमात्र हो । बझाङका अधिकांश गाउँमा रहेका प्राथमिक विद्यालयहरूको पठनपाठन खस्कँदै गएकाले निजी स्कुलहरू खोलिन थालेको ईश्वर जोशीले बताए ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर।
प्रतिक्रिया