Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

आगोको झिल्कोले लुट्यो बालबालिका पढ्ने सपना

मंगलबार, २६ बैशाख २०७४

काठमाडौं २६ बैशाख/कक्षा १ मा पढ्ने ६ बर्षीया रोशनी माझी सधैं स्कूल आउँछिन्। तर, उनी विद्यालयमा भने रमाएर पढ्न पाउँदिनन्। उनी पढ्ने विद्यालयमा फाल्गुण २२ गते राती ठूलो आगलागी भयो। रोशनी पढ्ने जनजागृत उच्च माध्यमिक विद्यालय गौरीबास (पाटु) बर्दिबास महोत्तरीको कार्यालये आगलागी जलेर खरानीभयो।

विद्यालयको अभिलेख, कागजपत्र, सरसमान, विज्ञान प्रयोगशालाको समाग्री मात्रै जलेनन्। उनी खेल्ने खेल समाग्री पनि जल्यो। विद्यालयको कार्यालयको २ कोठा कामै नलाग्ने गरी ध्वस्त भयो। दुई घण्टा सम्म विद्यालयको अफिस कोठामा आगो दन्कियो।

विद्यालयले ७० लाखको क्षति व्यहोरनु पर्‍यो। विद्युत् सर्ट भएर आगलागी भएको थियो। बालिका रोशनीको खुशी त्यही विद्युत् सर्ट भएर निस्किएको आगोको झिल्कोले लुटेर लग्यो।

आगलागीमा उनको खेल समाग्री जल्यो, रोशनीमाथि बज्रपातै पर्‍यो। विद्यालयमा खेल खेल्दै खेल विद्यीबाट रमाइरमाई पढ्न, लेख्न रोशनीले प्रयोग गर्ने खेल समाग्री फुटलव, लुडो, डोरी, रिंग सबै जलेर खानी भयो।

सदरमुकाम जलेश्वर भन्दा ४७ कि.मि. उत्तरमा यो विद्यालय पर्छ। आज भन्दा ठयाक्यै २ महिना अघि विद्यालयमा आगलागी भएको थियो। शैक्षिक समाग्रीको अभावमा रोशनी जस्ता बालबालिकाले विद्यालयमा रमाएर पढ्नबाट वञ्चित छन्।

उनी विद्यालयमा पढ्न आउँदा घरी घरी फुटवल र लुडो लिन हतारीएर अफिसको कोठामा पुगछिन्। गेटमा पुग्दा खेलकुद समाग्री जलेको देख्दा उनी अक्कनबक्क हुन्छिन्।

खेल समाग्री जलेर खरानी भएको देख्दा उनी अफिसको गेटमा सधैं टोलाउँछिन्। दुखीत हुदैं कक्षा कोठामा पर्किन छिन्। रोशनीका साथी रंजिता र सागर माझी जस्ता कक्षा १ देखि कक्षा १२ सम्म विद्यालयमा पढ्ने ३६० जना विद्यार्थीहरुको पढाई शैक्षिक समाग्रीको अभावमा प्रभावित बनेको छ। तर, विद्यालयमा आगलागी भएको दुई महिना वित्न लाग्दा पनि जिल्ला शिक्षा कार्यालय महोत्तरीबाट विद्यालयलाई अहिले सम्म कुनै सहयोग प्राप्त नभएको विद्यालयले जनाएको छ।

‘विद्यालयमा आगलागी हुँदा बालबालिकाहरुले प्रयोग गर्ने खेल समाग्री, सिक्ने कम्प्यूटर, शैक्षिक समाग्री जल्यो,’विद्यालयका प्रचार्य अर्जुनप्रसाद पोखरेलले भन्नुभयो,‘शैक्षिक समाग्रीको अभावमा विद्यार्थीहरुको पढाई प्रभावित बन्यो।'

तत्काल विद्यार्थीको मनोवल बढाउन शैक्षिक समाग्री र खेलकुद समाग्री खरिद गर्न विद्यालयसंग श्रोत छैन। अहिले विद्यालयको जीर्ण गोदाममा अस्थाई कार्यालय राखेर विद्यालयमा पठनपाठन संचालन हुदैंछ। कार्यालय कोठामा भौतिक, रसायन र जीव विज्ञानको केमिकल भएकोले आगलागीले केही समयमा ठूलो रुप लिएको थियो।

विद्यालयमा तत्काल फोटो कपी मेसीन १ थान, कम्प्यूटर १० थान, ल्याप्टप १ थान, पुस्तकालयका लागि पुस्तकहरु, कक्षा १ देखि १२ कक्षा सम्मको शैक्षिक समाग्री, खेलकुद समाग्री, कार्यालय संचालनका लागि कुर्सी, टेवल, दराज, खानेपानी फिल्टर, २ वटा कार्यालयको लागि पक्की कोठ लगायतका भौतिकपूर्वधार तथा सरसरमानहरु विद्यालयलाई आतिआवश्यक छ।

'तत्काल विद्यालय संचालनका लागि बर्दिबास नगरपालिकाले २० थान कुर्सी, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले १ थान स्टिल दराज, कुर्सी र टेवल सहयोग गरेका छन्। त्यो भन्दा बढी सहयोग हामीलाई प्राप्त भएको छैन।' विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार घिमिरेले भन्नुभयो।

'हाम्रो बस्तीको बलबच्चाको खुशी पापी आगोको झिल्कोले लुटयो हजुर हाम्रो गाउँको बच्चाबुच्ची पढ्ने स्कूलको अफिसमा केही सरसमान छैन। सबै जलेर राख भयो।' स्थानीय कृष्णा खड्काले भन्नुभयो।

माझी, मगर, दमाई, भुजेल लगायतका दलित गरिव तथा विपन्न समुदायका झन्डै २ सय घरधुरीका बालबालिका विद्यालयमा पढ्छन्।स्थानीय विनोद ढुङ्गेलले भन्नुहुन्छ, ‘विद्यालयको काँधमा एउटा सिङ्गो पाटु गाउँको भविष्य छ।'

विद्यालयमा आगलागी पछि पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेल, जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल, मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका शाखा अधिकृत राजेन्द्र प्रसाद बरालले विद्यालयको स्थालगत अवलोकन गरेका थिए।

आगलागी भएको तीन दिनपछि विद्यालयको अवलोकनमा गएका पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र यादवलाई अवलोकन स्थलबाटै फोन गरेर जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक बोलाएर तत्काल विद्यालयलाई सहयोग गर्न निर्देशन दिए। तर, त्यो निर्देशन फोनको कुराकानीमै सीमित रहेको स्थानीयले गुनासो गरेका छन्।

‘शिक्षा कार्यालयले जिल्ला देवीक उद्धार समितिबाट आगलागी विद्यालयको सहयोगको लागि सिफारी लिएर शिक्षा मन्त्रालयमा पठाइसकेका छौं', 'जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले भन्नुभयो, 'शैक्षिक सत्र २०७४ को बजेटबाट पुस्तकालयको लागि ६ लाख ५० र कम्प्यूटरको लागि १ लाख ५० हजार बजेट विद्यालयलाई विनियोजन गर्छौं। अब केही दिनमा विद्यालयले त्यो रकम पाउँछ।'

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर।

प्रतिक्रिया