Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

कति पढेका छन् मेयरका उम्मेदवारले ?

सोमबार, २५ बैशाख २०७४

काठमाडौं २५ बैशाख/स्थानीय चुनाव नजिकिँदै जाँदा नेतृत्वदायी पदका उम्मेदवारको शैक्षिक योग्यतासम्बन्धमा मतदाताले चासो राख्न थालेका छन् । राजनीतिमा युवापुस्ता हावी भइरहेका बेला मेयर पदका उम्मेदवारको शैक्षिक योग्यता मतदाताको चासोको विषय बनेको छ । शैक्षिक योग्यताको हिसाबले काठमाडौंको मेयरमा उम्मेदवारी दिएका ६ जनामध्ये सबैभन्दा बढी अध्ययनशील व्यक्तिका रूपमा चिनिनुहुन्छ साझा पार्टीका किशोर थापा । निजामती सेवामा दुई दशकभन्दा बढी सेवा गरिसक्नुभएका पूर्वसचिव थापा २०३१ सालको एसएलसी परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी पनि हुनुहुन्छ ।

एसएलसीपछि इन्जिनियरिङ अध्ययन गर्नुभएका थापा अनुभवी र सफल आर्किटेक्ट इन्जिनियरका रूपमा चिनिनुहुन्छ । उहाँले अर्बान प्लानिङमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । मेयर पदमा विजयी भए काठमाडौंलाई दक्षिण एसियाकै उत्कृष्ट सहर बनाउने प्रतिबद्धता थापाको छ । एमालेका विद्यासुन्दर शाक्यले त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो ।

काठमाडौंको पुरानो नेवार बस्ती मानिने लगन टोलमा जन्मिनुभएका शाक्यले शंकरदेव क्याम्पसबाट बीबीएसको अध्ययन पूरा गर्नुभएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका उहाँ त्यसपछि औपचारिक शिक्षामा बिट मार्दै राजनीतिमा लाग्नुभएको हो । आफ्नो स्कुलबाट विद्यालय शिक्षा पूरा गरेको व्यक्ति काठमाडौंको मेयर पदमा उम्मेदवार हुँदा गर्व लागेको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताउनुभयो ।

राजनीतिक अनुभव र अध्ययनभन्दा पनि २१ वर्षको उमेरमै मेयरको उम्मेदवार भएकाले विवेकशील पार्टीकी रञ्जु दर्शना पनि चर्चाको शिखरमा हुनुहुन्छ । महाराजगन्जकी स्थायी बासिन्दा दर्शनाले पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । दर्शनाले महाराजगन्ज चक्रपथस्थित हेराल्ड कलेजबाट मानविकीमा दस जोड दुईको अध्ययन पूरा गरेको उहाँका स्वकीय सचिव उपेन्द्र अधिकारीले बताउनुभयो । उहाँ अहिले बालुवाटारको नेसनल कलेजमा डेभलप्मेन्ट स्टडिजमा स्नातक अध्ययनरत हुनुहुन्छ ।कांग्रेसका तर्फबाट मेयर पदको उम्मेदवार रहनुभएका राजुराज जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीएको अध्ययन पूरा गर्नुभएको छ । महानगरपालिका वडा नम्बर १९ का स्थायी बासिन्दा जोशीको विद्यालय शिक्षा हाल कीर्तिपुरमा रहेको ल्याबोरेटरी स्कुलबाट सुरु भएको हो । त्यसपछि मरुहिटीस्थित शान्ति निकुञ्ज स्कुलबाट २०३३ सालमा एसएलसी उत्तीर्ण गरेर आईकम पढ्न २०३४ सालमा धोबीचौरको पब्लिक युथ क्याम्पस भर्ना हुनुभयो । शंकरदेव क्याम्पसबाट बीकम उत्तीर्ण गर्नुभयो । त्यसपछि केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमबीए अध्ययन पूरा गरेको जोशीले बताउनुभयो ।
माओवादी केन्द्रका तर्फबाट मेयर पदको उम्मेदवारी दिएका सर्वोत्तम डंगोल ताहाचलका स्थायी बासिन्दा हुनुहुन्छ । डंगोल पनि अध्ययनमा तीक्ष्ण नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँले मरुहिटीस्थित शान्ति निकुञ्ज स्कुलबाट २०२६ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । एसएलसीपछि उहाँले स्वयम्भूको आनन्दकुटी साइन्स कलेजबाट आईएस्सी उत्तीर्ण गर्नुभयो । उहाँले त्रिचन्द्र कलेजबाट बीएस्सी तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।

उहाँले नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयमा दुई वर्ष विज्ञान र गणित विषय पढाउनुभएको थियो । ठैबस्थित फुल्चोकी स्कुलमा प्रधानाध्यापक रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर ८४ दिन बेपत्ता पारेपछि पूर्ण रूपमा राजनीतिमा लागेको डंगोलले बताउनुभयो । नयाँ शक्ति पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिएका पवित्रमान बज्राचार्यले पनि व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।

मरुहिटीको शान्ति निकुञ्ज स्कुलबाट विद्यालय शिक्षाको पढाइ सुरु गर्नुभएका बज्राचार्यले नेपाल आदर्श स्कुलबाट २०३० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको हो । उहाँले सरस्वती क्याम्पसबाट आईकम तथा शंकरदेव क्याम्पसबाट बीकम र एमबीए उत्तीर्ण गर्नुभयो । एमबीए अध्ययनकै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २३ को अध्यक्षमा विजयी भएपछि बज्राचार्यले सक्रिय राजनीति सुरु गर्नुभएको थियो ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

 

प्रतिक्रिया