काठमाडौं २४ बैशाख/शंखरापुर नगरपालिका ७ महादेवस्थानका योगेन्द्र बसीको साँखुमा ५ तले घर थियो । पौराणिक शैलीमा बनाइएको घर २०७२ सालको भूकम्पले १ तलामा सीमित हुन पुग्यो । घरमा रहेका ७ जनामध्ये बुहारीको भग्नावशेषमा च्यापिएर मृत्यु भयो । अन्य घाइते भए । त्यसपछि टहरा हुँदै घर बनाउने प्रयासमा छन् । यही बीचमा उनीहरूलाई समेत स्थानीय तहको चुनावको रौनक छुन थालेको छ ।
उनका अनुसार साँखु उपत्यकामा सबभन्दा बढी समस्या खानेपानीको छ । कोही जंगलका मुहानबाट खानेपानी ल्याउँछन् भने कोही खोलामा निर्भर छन् । ‘शंखरापुर नगरपालिकाको मेयर हुनेले सबभन्दा पहिले यसै विषयमा काम गर्नुपर्छ,’ बसीले थपे, ‘पहिलोचोटि नगरपालिकामा जनप्रतिनिधि हुनेछन् । जसले स्थानीयवासीका लागि काम गर्नुपर्नेछ ।’ आफ्नो संयुक्त परिवारमा २५ मतदाता रहेको उनले बताए ।
साँखुमा खानेपानी उपभोक्ता समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड दुवैमा उपभोक्ताको नाम रहेकाले दुवैतिर महसुल तिरिरहनुपरेको छ । ढलको पनि समस्या रहेको स्थानीयले गुनासो गरे । ‘पहिलेको राजकुलो बस्तीको घरैपिच्छे छ, तर बन्द भइसक्यो । सिँचाइ र ढलको पनि नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ,’ बसीले भने ।
साँखुकै बिन्दु श्रेष्ठको ४ तले घर भूकम्पमा भत्किएदेखि अहिलेसम्म जस्ताको टहरो बनाएर वृद्ध सासूससुरा सहित बस्दै आएकि छन् । सडक छेउकै उक्त टहराको एउटा कोठमा सानो पसल छ । अहिले उनको परिवारमा १० जना मतदाता परिचयपत्रधारी रहे पनि दुई छोरा विदेशमा रहेकाले ८ जनाले मतदान गर्नेछन् ।
नयाँ मेयरबाट उनले सबभन्दा पहिले राम्रो सडक निर्माणको अपेक्षा राखेकी छिन् । ‘साँखुलाई रत्नपार्कसँग जोड्ने सडक स्तरीय बनाउनु आवश्यक छ । बरु काभ्रेको बनेपा पुग्न यहाँभन्दा सजिलो छ,’ श्रेष्ठले भनिन् । शंखरापुर नगरपालिकाको जहरसिंह पौवा पुग्न रत्नपार्कबाट तीन घण्टा लाग्छ । सडक निकै साँघुरो र धुलाम्मे भएको स्थानीयको भनाइ छ । स्तरीय शिक्षा र स्वास्थ्य पनि नयाँ मेयरको प्राथमिकतामा पर्नुपर्ने भन्छिन् श्रेष्ठ । ठूला अस्पताल, कलेजको अभावमा रोजेको विषय पढ्न विद्यार्थीले काठमाडौं धाउनुपर्ने बाध्यता रहेकाले नगरपालिकाको शिक्षा र स्वास्थ्यको स्तर सुधार्नु चुनौती रहेको उनको ठम्याइ छ ।
कान्तिपुरका प्रकाशित खबर ।
प्रतिक्रिया