Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

चुनावका बेला ५ दिन विद्यालय बन्द, निर्वाचन आयोगलाई देखाएर शिक्षा विभाग पन्छियो

विहीबार, २१ बैशाख २०७४

भक्तपुर - विद्यार्थीको पठन पाठन गर्न पाउनु पर्ने अधिकार हनन् हुने भन्दै चौतर्फी विरोध भए पनि शिक्षा विभागले बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका बेला ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णय 'निर्वाचन आयोगले गरेको निर्देशनका आधारमा' गरेको भन्दै विभाग भने पन्छिएको छ । नेपाल सरकारलाई निर्वाचन आयोगबाट जारी भएको निर्देशन अनुसार उक्त निर्णय गरेको विभागले जनाएको छ ।

बैशाख २५ गते देखि मतदान सम्पन्न नभएसम्म प्रदेश नम्बर ३, ४ र ६ मा पठनपाठन तथा सवै शैक्षिक कृयाकलापहरु स्थगन गर्न विभागले भनेको छ ।

क्षेत्रीय तथा जिल्ला शिक्षा कार्यालय सहित सबै विद्यालयहरुका लागि भन्दै जारी गरिएको विभागको सूचनामा  विद्यालय बन्द गर्न 'निर्वाचन आयोगबाट लेखि आएको' सन्दर्भ भन्दै विभागले हिउँदे र बर्षे विदाबाट उक्त अवधिको विदा समायोजन गरी अध्ययन अध्यापन कार्य सञ्चालन गर्न भनिएको छ ।

बालबालिका तथा शिक्षाका क्षेत्रमा कृयाशिल संघ संस्थाका प्रतिनिधिले विद्यालय शान्ति क्षेत्रको स्मरण तथा पढ्न पाउने अधिकारका सुनिश्चितता गर्न आग्रह गरेका थिए । चुनावको नाममा विद्यालयको शैक्षिक गतिविधिलाई असर गर्न नहुने भन्दै उनीहरुले मानव अधिकार आयोग देखि विभागको समेत ध्यानाकर्षण गराएका थिए ।

उक्त भेटमा विभागका महानिर्देशक बाबुराम पौडेलले आफू विद्यालय बन्द गर्ने पक्षमा नभएको तर कतिपय स्थानमा सार्वजनिक क्षेत्र भनेकै विद्यालय मात्रै रहेकोले कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बताएका थिए । 

प्रतिक्रिया