काठमाडौं १९ बैशाख/ नेपाल प्रज्ञा–प्रतिष्ठान स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा दैनिक ३०० व्यक्तिले अवलोकन गरी ३० हजारभन्दा बढी पुस्तक खरिद गरिरहेका छन् ।
वैशाख ७ देखि २२ गतेसम्म चल्ने प्रदर्शनी यो वर्षभर प्रतिष्ठानले मनाइरहेको हीरक महोत्सवका अवसरमा आयोजना गरिएको हो । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ । नेपाली बृहत् शब्दकोशमा १५, २०६७ सालसम्म प्रकाशन भएका पुस्तकमा ६० र २०६८ सालदेखि हालसम्मका पुस्तकमा ४० प्रतिशत छुट दिइएको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले राससलाई जानकारी दिनुभयो ।
प्रदर्शनीमा ‘माटोको ममता’ र ‘महेन्द्र प्रवचनमाला’ को मूल्य रु दुईका पुस्तक छन् । भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, कविता, प्रज्ञा र समकालीन साहित्यलगायत विधाका पुस्तक प्रदर्शनीमा राखिएको छ ।
विसं २०३० देखि २०७३ सालसम्म प्रकाशन भएका पुस्तक प्रदर्शनीमा राखिएको बजार व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो । प्रतिष्ठानले विसं २०१५ मा संस्कृत साहित्यका महाकवि कालीदासको ‘रघुवंश महाकाव्य’, सोमनाथ सिग्देलको ‘सिद्धान्त कौमुदी’, कुलचन्द्र गौतमको ‘राघवालङ्कर’ जस्ता पुस्तक पनि प्रतिष्ठानले प्रकाशन गरिसकेको छ ।
दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको ‘दर्शनावली भाग ३’, डा रिना तुलाधरको ‘नेपालमा थेरवाद बुद्ध धर्म एक अध्ययन’, डा अमर गिरीको संयोजनमा ‘काव्य विमर्श’ र ‘नेपालका जातीय संस्कार खण्ड १, २ र ३’ जस्ता हजारौँ पुस्तक प्रतिष्ठानले प्रकाशन गरेको छ । विसं २०१४ असार ९ गते प्रतिष्ठानको स्थापना भएको थियो ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया