Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्री भन्छन् : यो भन्दा बढी के गर्न मिल्छ ?

सोमबार, १८ बैशाख २०७४

काठमाडौं - शिक्षा मन्त्री धनिराम पौडेलले कक्षा १२ को परीक्षामा भएको लापरवाहिमा अहिले गरिएको कारवाही भन्दा धेरै केही गर्न नसकिने बताएका छन् । फेसबुक स्टाटस लेख्दै मन्त्री पौडेलले उक्त घटनाको छानविन जारी रहेकोले उक्त छानविनको कार्य सम्पन्न नभईञ्जेल अरु कारवाही गर्न नसकिने संकेत गरेका हुन् ।

विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषयमा मन्त्रालयले उचित कारवाही गर्न नसकेको भन्दै आलोचना भईरहेका बेला मन्त्रीले स्टाटस मार्फत् आफ्नो बचाउ गरेका हुन् ।

'कक्षा १२ को परीक्षा सम्बन्धी लापरवाही, अनियमितता, प्रश्नपत्र अभाव लगायतका विषयमा मन्त्रालयलाई जानकारी हुनासाथ छानविन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा ३ सदस्यीय समिति बनेको छ । परीक्षा नियन्त्रकलाई निलम्बन गरिएको छ । अर्को व्यक्तिलाई तात्कालिक जिम्मेवारी तोकिएको छ' मन्त्री पौडेलले स्टाटसमा लेखेका छन्, 'परीक्षा जारी छ । छानविन समितिको प्रतिवेदन आएपछि थप कार्वाही गर्नुपर्ने भएमा गरिने छ । यतिबेला यो भन्दा बढी के गर्न मिल्छ ?'

प्रश्नपत्रको ब्यवस्थापनमा लापरवाही भएको फेला परेपछि परीक्षा बोर्डका नियन्त्रक सन्तोष अर्याललाई निलम्बन गरिएको छ । उनको स्थानमा सह नियन्त्रक जयन्ती सत्याललाई निमित्त नियन्त्रकको जिम्मेवारी दिईएको छ । तर यस अघि पनि परीक्षामै संलग्न ब्यक्तिलाई जिम्मेवारी दिईएकोमा बोर्डका कर्मचारी भने असन्तुष्ट छन् ।

'यत्रो लापरवाही हुँदा पनि विद्यार्थी संख्या र आवश्यक प्रश्नपत्रको तथ्य राख्ने निकायमै बसेको ब्यक्तिलाई जिम्मेवारी दिनु भनेको न्यायोचित हैन' बोर्डका एक कर्मचारी भन्छन्, 'समान अपराधमा संलग्न मध्ये एकलाई निलम्बन र अर्कोलाई जिम्मेवारी दिनु उचित कार्य हैन ।'

प्रतिक्रिया