Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

कक्षा १२ मा पार्टीविशेषको प्रश्न

शनिबार, १६ बैशाख २०७४

काठमाडौं १६ बैशाख/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ विषयको प्रश्नपत्रमा दलविशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, ‘नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’

यी दुवै प्रश्नमा यी दलहरूको भूमिका कुन विषयमा लेख्ने भन्ने सन्दर्भ उल्लेख छैन । दलविशेषका बारे प्रश्न आएपछि विद्यार्थीहरू के उत्तर दिने भनेर अलमलिएका थिए । प्रा.रवीन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुन सक्ने बताए । ‘पार्टीविशेषको यस्तो प्रश्न सोध्नु गलत हो,’ उनले भने, ‘यो प्रश्न बनाउने व्यक्ति पार्टी राजनीतिबाट प्रभावित हुनुपर्छ ।’ पार्टीगतभन्दा पनि सैद्धान्तिक प्रश्न हुनुपर्ने उनले बताए ।
मुलुकमा ठूला पार्टीले शासन गरिरहेको आधारमा यस्तो प्रश्न सोधिएको हो भने पनि कुन सन्दर्भमा हो भन्ने स्पष्ट नभएकाले यी प्रश्न अधुरा रहेको शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले बताए ।
सामुदायिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं शिक्षासेवी धनञ्जय शर्माले यो प्रश्न बनाउनका लागि एमाले र कांग्रेसबीच भागबन्डा भएको हुन सक्ने बताए । यी प्रश्न नै औचित्यहीन भएको उनले बताए । एमाले र कांग्रेसबारे यसरी प्रश्न सोध्ने हो भने अरू पार्टीबारे किन नसोध्ने भन्ने उनले प्रश्न उठाए । ‘यस्तै हो भने अरू पार्टीको बारेमा किन सोधिएन ? एक पक्षीय भयो,’ उनले भने, ‘राजनीतिक दलको बारेमा सोध्ने हो भने पार्टीको सिस्टमको बारेमा सोधेको भए हुन्थ्यो ।’ हिसानका अध्यक्ष रमेश सिलवालले पनि यी प्रश्न गलत भएको बताए । कुनै राजनीतिक दलको भूमिका कुन विषयमा भन्ने उल्लेख नगरी दलगत रूपमा प्रश्न सोध्नु उचित नहुने उनले बताए । ‘प्रश्न बनाउने एउटा पार्टीको होला, उत्तरपुस्तिका परीक्षण गर्ने अर्कै पार्टीको पर्ला अनि कति नम्बर दिन्छ होला ?,’ उनले भने, ‘यो प्रश्नको उत्तर के हुन्छ भन्ने नै यकिन छैन । उत्तरै यकिन नहुने प्रश्न नै हुन सक्दैन ।’ आग्रह वा पूर्वाग्रह राख्ने प्रश्न सोध्न नहुने उनले बताए ।
राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक जयन्ती सत्यालले यस्तो प्रश्न बनेको विषयमा आफूलाई जानकारी नभएको बताइन् । ‘यस्तो प्रश्न त बन्न नपर्ने हो,’ उनले भनिन्, ‘के भएको रहेछ, हेरेपछि मात्रै थाहा हुन्छ ।’

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया