१. परिचय
नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध विशेषताबाट संघीय गणतान्त्रिक समावेशीतामा रुपान्तरण हुने अभ्यासको चरणमा ७ प्रदेश तथा ७४४ स्थानीय तहमा सिमाङ्कित भएको छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहकै सरकारको व्यवस्थापन, सञ्चालनमा रह्ने संवैधानिक प्रावधान छ । शिक्षा संरचना, पेसागत प्राविधिक सहयोग संयन्त्र र पद्धतिले स्पष्ट आकार नपाइसकेको अवस्था छ । चाँडो नभएपनि ढिलै रुपमा शिक्षाबारे धेरै स्पष्टता आवश्यक छ ।
क) पृष्ठभूमि :
शिक्षा मानिसको सर्वाङ्गीण विकासको पक्ष हो । समाजमा सामान्य लेखपढ गर्न र गृहस्थ जीवनको व्यवहार सञ्चालन गर्न शिक्षा आवश्यक पर्दछ । सैद्धान्तिक ज्ञानमूलक शिक्षाका आधारमा नै मानिसले आवश्यकतानुसार स्वरोजगार तथा रोजगारीको मार्ग तय गर्दछ । दर्शनशास्त्रीय शिक्षामा बौद्धिक तार्किकता र ज्ञान चिरफार गर्ने क्षमताको हुन्छ । सामान्य जीवनमा आइपर्ने कामहरु हल गर्ने पेसागतसिप र व्यावसायिक दक्षता प्राविधिक तथा व्यावसायिक शिक्षाले दिन्छ । अत ः अधिकांश जनताको मागलाई सम्बोधन गर्न राज्यले शिक्षाका फरक फरक धार सञ्चालनको दायित्व लिएको हुन्छ । तर साधारण विद्यालयको ज्ञान नै सबै शिक्षाको आधारभूत जग हो । यसर्थ केही सामुदायिक विद्यालयको नेतृत्वकर्ता प्रधानाध्यापकहरुको नेतृत्व क्षमता, विद्यालय सञ्चालन अवस्था र पेसागत आवश्यकताहरु के के हुन् सक्छन् भन्ने अध्ययन गरिएको छ ।
ख) अध्ययनको औचित्य :
विगत धेरै वर्षदेखि शिक्षक तथा प्रधानाध्यापकहरुलाई पेसागत दक्षता, क्षमता अभिवृद्धि र वृत्तिविकासका लागि लक्षित गरेर धेरै प्रकारका लालिम, प्रशिक्षण अभ्यास गरिँदै आएको छ । वि. स. २०७३ देखि विद्यालयका प्रधानाध्यापक नेतृत्व क्षमता विकासका लागि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ । केन्द्रमा रही काम गरेका तथा प्रत्यक्ष शिक्षण सिकाइ र विद्यालय व्यवस्थापनको अनुभव नसंगालेकाबाट तालिम पाठ्यक्रम वा पाठ्यसामग्री निर्माण पद्धति न्यायिक हुन सक्दैन । स्थानीय सरोकारवालाको भावना आत्मसात गर्न विद्यालयकै प्रत्यक्ष सरोकारित समूह विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई लक्षित गरी विद्यालय सञ्चालनमा प्रधानाध्यापकको भूमिकामाथि विचार संकलन गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको शैक्षिक नेतृत्व अवस्था, पेसागत चुनौती र सिपगत क्षमताका आवश्यकता पहिचानु गर्नु र उनीहरुको तालिममा ती विषयलाई सक्दो रुपमा सम्बोधन गर्नु अध्ययनको औचित्य रहेको छ । यी विचारहरुलाई नीति निर्माता, अनुसन्धाता, पाठकहरुले गहन अध्ययन, मनन र विश्लेषण गर्दै कार्यान्वयनमा लग्न सकेमा यो अध्ययनको सार्थकता हुने र शिक्षा प्रणालीको व्यवस्थापनमा वैज्ञानिकता र गुणात्मकता हुने आशा गर्नु अध्ययनको औचित्य रहेको छ ।
२. अध्ययनको उद्देश्य :
- सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नेतृत्व अवस्था पहिचान र समाधान खोज्न,
- प्रधानाध्यापकहरुको पेसागत र व्यवस्थापकीय समस्या पहिचान गरी सम्बोधनका उपाय पहिल्याउन,
- प्रधानाध्यापकहरुको पेसागत क्षमतावृद्धि तथा कार्यकुशलताका मार्ग पहिचान गरी कार्यान्वयनमा ल्याउन,
- क्षमतावृद्धिका विषय सरोकारवालाबाट पत्ता लगाएर विद्यालयहरुलाई प्रभावकारी बनाउने प्रयासलाई लिपिबद्ध गर्न,
- नीति निर्माण र कार्यान्वयन तहमासमेत सुधार ल्याउन एवम् कार्य स्पष्टताका लागि केही सहयोग पुराउन,
- विद्यालयका प्रधानाध्यापकहरुको पेसागत क्षमता विकास तालिम प्याकेज निर्माणमा स्थलगत सहयोग लिन ।
३. अध्ययन विधि तथा प्रक्रिया :
- विद्यालय शिक्षाका नेतृत्वकर्ता प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीका धारणा लिन छुट्टाछुट्टै फारमको प्रयोग ।
- सबै सरोकारवालालाई ४÷ ५ वटा बहुउत्तर आउने खुला प्रश्नमा ४ ओटा मुख्य पक्ष उल्लेख गर्न स्वतन्त्रता ।
- अध्ययन गरिएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकका पनि धारणा संकलन ।
- केही कक्षाका विद्यार्थीसंग अन्तरक्रिया र प्रायः सबै शिक्षकहरुसंग छुट्टै बसी शैक्षिक अवस्था पहिचान छलफल ।
- शैक्षिक तालिम केन्द्र पाल्पामा प्रधानाध्यापक तालिममा सहभागी २२ जना सहभागीका धारणा फारम तथा छलफलबाट पनि संकलन । सहभागीका लागि सोधिएका प्रश्नहरुको विवरण अनुसूची १ तथा सहभागीको १३९ जनाको विवरण अनुसूची २ मा दिइएको छ ।
४. सामुदायिक विद्यालय विद्यमान अवस्था :
- सामुदायिक विद्यालयहरुमा सचेत तथा समृद्ध अभिभावक र समुदायका नेतृत्व वर्गको अभाव बढ्दो ।
- धनी वर्गका अभिभावक तथा बहु प्रतिभाशाली तथा मेधावी छात्रछात्रा तथा तिनका अभिभावकहरुलाई सामुदायिक विद्यालयहरु नै भविष्य निर्माणमा सहयोगी हुन्छन् भन्ने विश्वास दिन नसक्दा निजी संस्थागत विद्यालयतिर बढी आकर्षण बढ्दो ।
- सामुदायिक शिक्षाबाट रोजगार तथा स्वरोजगार दिन सफल हुने वातावरण कायम गर्न नसकिएको
- व्यावसायिक धर्मका आधारमा निजी क्षेत्रबाट सामुदायिक शिक्षाप्रति हुने प्रतिकूल भ्रमलाई चिर्न नसकिएको ।
- दक्ष जनशक्तिको माध्यमबाट देशको आर्थिक समृद्धि र जनताको जीवनस्तर हासिल गर्न सामुदायिक शिक्षा सफल भन्ने प्रचारबाजी उच्च नरहेको ।
- विद्यालय तहको शिक्षा पद्धतिबाट २०२८ सालमा नै सामुदायिक विद्यालयहरुबाट प्राविधिक तथा व्यावसायिक शिक्षा सुदृढ गर्न खोजए पनि २०३७ पछि सो पद्धति महङ्गो शिक्षाका नाममा हटाइएको र चालु शिक्षा सिपहीन आलोचनामा परेको ।
- अन्तर्राष्द्रिय अभ्यासमा कतिपय देशमा सामुदायिक विद्यालयकै आधारभूत तहदेखि विद्यार्थीहरुलाई व्यावसायिक सिप र प्राविधिक ज्ञानतिर प्रवेश गराउने नीतिलाई नेपालमा अपनाउन नसकिएको ।
- कपडा सिउँने, बाल काट्ने , मैनबैत्ती बनाउने, कताई बुनाई , चित्रकला, पेन वालपेन बनाउने, विभिन्न स–साना उद्योगका उत्पादन प्याकिङ्ग जस्ता कार्यमा विद्यालयका विद्यार्थीलाई सहभागी गराउन नसकिएको ।
- नेपालीे साधारण शिक्षा पद्धतिमा पुस्तकीय ज्ञान, क्षमता र परीक्षामा हासिल सफलताका साथ प्राविधिक तथा व्यावसायिक दक्षता जोड्ने कार्यको अभाव रहेको ।
यिनै सन्दर्भमा गुणात्मक शिक्षा, शिक्षण सिकाइ तथा प्रधानाध्यापक पेसागत नेतृत्व क्षमताको विषयमा अनुसूची १ का प्रश्नबाट विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरुलाई अनुसूची २ का विद्यालयका सरोकारवालाबाट आ–आप्mना विद्यालयका यथार्थ अवस्था बाहिर ल्याउन प्रयास गरिएको छ ।
५. अध्ययनमा विद्यालयहरुको वर्तमान अवस्था :
अध्ययन गरिएका विद्यालयका विद्यार्थी –५८ , शिक्षक ४९ तथा प्रधानाध्यापक ३२ जना गरी १३९ जनाका विचारहरुलाई संश्लेषण तथा विश्लेषण गरी यो लेख तयार पारिएको छ । विचारमा व्यक्ति धारणा प्राथमिकताका आधारमा सतप्रतिशतबाट शुरु गरी २० प्रतिशतसम्मका सरोकारवालाका भनाइलाई स्थान दिएर लेखन गरिएकाले ती भावनाको मर्मलाई आत्मसात गर्न आवश्यक छ ।
विद्यार्थीहरुका दृष्टिमा प्रधानाध्यापकमा हुनुपर्ने पेसागत गुणहरु
- बलियो नियम कानुन ( आचारसंहिता ) निर्माण र कार्यान्वयन,
- विद्यार्थीको सिकाइबारे उत्सुक हुने, विद्यार्थी तथा शिक्षकसंग निरन्तर अन्तरक्रिया गर्ने एवम् सही परामर्श दिने,
- विद्यार्थीहरुको भर्ना गर्दा सक्षम र कमजोरका आधारमा समूह विभाजन नगरी समानता र सम्मानपूर्वक सिक्ने सिकाउने वातावरण बनाउने,
- मनोभाव बुझेर आत्मबल र उर्जा भर्न सक्ने,
- किताबी ज्ञान र व्यवहार जोड्न मनोरञ्जनात्मक सिकाइमा केन्द्रित गर्ने र सिकारुलाई आफ्नो मूल्यांकन आफै गर्न निरन्तर सुधारका लागि दत्तचित्त हुने,
- विद्यालयको आचारसंहिताको पालना, प्रोत्साहन तथा कमजोर पक्षमा सुधार गर्ने,
- विद्यार्थीको सामाजिक पृष्ठभूमिसित परिचित तथा सर्वाङ्गीण क्षमता विकासका साधनस्रोतको सदुपयोग गर्ने,
- नम्र शिष्ट व्यवहार गर्ने तथा आफ्नो उच्च चरित्रबाट अरुलाई अनुशासित तुल्याउने ,
- जीवनोपयोगी कार्यमूलक व्यवहारिक शिक्षाका लागि आधुनिक प्रविधिमूलक सिकाइ व्यवस्थापन गर्ने,
- विद्यालयमा अनुशासन कायम गर्न शिक्षक, अभिभावक तथा विद्यार्थी अन्तरक्रिया एवम् उत्कृष्टलाई पुरस्कार गर्ने,
- शिक्षकबाट विद्यार्थी र विद्यार्थीबाट शिक्षकको वस्तुनिष्ठ मूल्यांकन पद्धति विकास र कार्यान्वयन गर्ने,
- समयसमयमा कक्षा अनुगमन गर्ने र यथार्थ गतिविधिसित जानकार भई आवश्यक सहयोग तथा पृष्ठपोषण गर्ने,
- शिक्षकको विद्यार्थी सिकाइ अवलोकन,तालिम तथा सामग्री उपादेयता जानकारी र प्रयोगमा सहजीकरण गर्ने,
- गुणस्तरीय शिक्षा प्रतिस्पर्धाका लागि शैक्षणिक प्रविधि र सूचना प्रविधिमा जोड गर्ने,
- जुनसुकै स्रोतबाट उपलब्ध साधन स्रोतको अधिकतम सदुपयोग गर्न सरोकारवालाको सहभागिता र सहमतिमा योजना निर्माण तथा पारदर्शितापूर्वक कार्यान्वयन गर्ने,
- विद्यार्थी, शिक्षक , विद्यालय व्यवस्थापकहरुसंग छलफल गरेर मात्र निर्णय गर्ने ,
- समुदायका विद्यार्थीहरुलाई आधारभूत सेवासुविधा उपलब्ध गराउने र सेवाभावकासाथ अभिभावकत्व बहन गर्ने ,
- विद्यालयमा नियमित पठनपाठनका साथै सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको व्यवस्थापन एवम् प्रोत्साहन गर्ने ,
- पेसागत आधारमा पाठ्यक्रमसम्बद्ध सहजीकरण सिप तथा प्रभावकारिता प्रदर्शन गर्ने,
- विद्यार्थी सहयोग,शैक्षिक कार्यक्रम, प्रोत्साहन छात्रवृत्ति, उत्कृष्टलाई सार्वजनिक पुरस्कारको व्यवस्था मिलाउने,
- विषयवस्तुमा तथा शिक्षण प्रशिक्षणमा योग्य तालिम प्राप्त शिक्षकको छनोट तथा व्यवस्थापन गर्ने ,
- साप्ताहिक खेलकुद तथा अतिरिक्त क्रियाकलाप विद्यार्थी आफैले सञ्चालन तथा स्वयम् सेवकको कार्य गर्ने ,
- विद्यालयमा प्रयोगमा रहेका सामग्रीको प्रयोग, मर्मत र अध्यावधिकता राख्ने सिप
- विद्यार्थी सामाजिकीकरणका लागि तल्ला कक्षा र उपल्ला कक्षाका फरक फरक समूहका विद्यार्थी तथा अभिभावकबीच सहकार्य, संवाद र सिकाइको वातावरण तयार गर्ने
- शिक्षक आचरण, शिक्षण सिकाइ र व्यवहारबारे विद्यार्थीसंग राम्रो जानकारी लिने र सही मार्ग अपनाउने ,
- गरीब तथा जेहेन्दार छात्रवृत्ति सहयोग कार्यक्रम, प्राथमिक उपचार व्यवस्थापन र प्रयोग एवम् अनावश्यक वस्तु र फोहोर थन्काउने कार्य ,
- अनुशासन पालना नगर्दा सजाय रुवरुप सरसफाइ तथा अतिरिक्त श्रम गर्नुपर्ने ,
- हाजिरी,सिसिटीभीको निगरानी, नैतिक शिक्षालाई उच्च स्थान तथा राम्रा शिक्षक नै हाम्रा भन्ने व्यवहार गर्ने ,
विद्यार्थीहरुका दृष्टिमा विद्यालय तथा प्रधानाध्यापक पुरस्कारका आधारहरु
- भौतिक तथा शैक्षिक उपलब्धि गुणस्तरीय प्रमाणित भएमा,
- हरेक शैक्षिक क्रियाकलापमा प्रतिस्पर्धा र नमुना हुन सकेमा ,
- शिक्षा ऐन,नियमावली तथा कानुनको पूर्णपालना र कार्यान्वयन तथा उत्कृष्ट नतिजा हासिल भएमा,
- बालमैत्री विद्यालय वातावरण तथा शैक्षिक गुणस्तरका आधार तयार भएमा ,
- विद्यार्थी सामाजिकीकरणका नयाँ नयाँ कार्यक्रमहरु तयार तथा कार्यान्वयन हुन सकेमा ,
- सिकाइ उपलब्धि उच्च तथा परीक्षार्थी सतप्रतिशत सफल हुने गरेमा ,
शिक्षकका दृष्टिमा प्रधानाध्यापक पेसागत भूमिका
- पाठ्यक्रम अनुकूलन, समयसापेक्षता अनुरुप सहजीकरण प्रयास एवम् पे्ररणादायी व्यवहार ,
- सामूहिक विश्वास तथा प्रभावशाली नेतृत्व क्षमता एवम् पारदर्शिता, नम्रताको उच्च नमुना ,
- दूरद्रष्टा र आत्मविश्वासी,सबैमा समान व्यवहार, निष्पक्ष भूमिका र असल अभिभावकत्व बहनकर्ता ,
- विद्यालयको प्रकृति, विषयवस्तु अध्यापनका क्षेत्र एवम् समसामयिक अवस्था सम्बोधनगर्ने पेसागत दक्षता ,
- सामाजिक समन्वय,सरोकारवालापक्षबाट व्यवस्थापकीय गुणमा सम्मानित व्यक्तित्व ,
- मनोविज्ञ तथा हंसमुख व्यक्तित्व एवम् मिलनसार ,
- योग्य शिक्षक व्यवस्थापन तथा शिक्षकको पेसागत क्षमता अभिवृद्धिका लागि प्रयासरत ,
- शिक्षक , विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक अन्तरक्रिया तथा भौतिक पूर्वाधारमा सचेत ,
- विषयवस्तुमा दक्ष, नवीन विषयमा रुचि र उत्सुकता ,
- कुशल नेतृत्व, समन्वय, संगठन सञ्चालन क्षमता, पारदर्शिता र पदीय उत्तरदायित्वका पेसागत क्षमता विकास,
- दूरद्रष्टा, योजनासाथ सबैको सहभागिता तथा विश्वासमा काम गर्ने नेतृत्व क्षमता विकास,
- समन्वय, पारदर्शी तथा निष्पक्ष व्यवहार एवम् सामूहिक निर्णयको शैक्षिक वातावरण निर्माण ,
- विद्यालयमा आवश्यक पर्ने तथा उपलब्ध सेवासुविधा व्यवस्थापन, परिचालन एवम् सदुपयोग सिप र निर्विवादित चरित्र ,
- पेसागत उच्च दक्षता, समुदाय सम्बन्ध तथा सरोकारवालाको विश्वास र समन्वय सिप ,
- नवीन सोच, प्रवर्तनात्मक योजना क्षमता तथा भौतिकस्तरवृद्धिमा निरन्तर क्रियाशील एवम् सेवामा गुणस्तर ,
शिक्षकका दृष्टिमा प्रधानाध्यापक छनोटका आधार तथा पेसागत दायित्व
- शिक्षक,साधनस्रोत व्यवस्थापन तथा परिचालन एवम् शैक्षिक गुणस्तर मूल्यांकन नेतृत्व विकास ,
- योग्य, क्षमतावान् र पेसागत कुशल व्यक्तिलाई प्र.अ.को जिम्मेवारी तथा निष्पक्षताको उच्च मूल्यांकन ,
- शैक्षिक सुधारका पूर्वाधार प्रस्तावसहित शिक्षा नियमवालीको पालना र प्र. अ. व्यवस्थापन ,
- स्थलगत भ्रमण, समस्या समाधानमा सहयोगी, व्यावसायिक तथा प्रयोगात्मक शिक्षामा जोड गर्ने ,
- शिक्षित र जागरुक अभिभावकलाई विद्यालयप्रति विश्वस्त तुल्याउने एवम् व्यवस्थापन समितिको सहयोग र पृष्ठपोषणमा नेतृत्व गर्ने ,
- पेसागत हैसियतको बोध गर्ने, पेसाप्रतिको नैतिक जिम्मेवारी बहन गर्ने र आफू मातहत उचित पुरस्कार तथा दण्डसजायको अधिकार प्रयोग गर्ने ,
- निष्पक्ष व्यहार, सामुदायिक क्रियाकलापमा सहभागिता वृद्धि एवम् शिक्षक, विद्यार्थी र अभिभावक सम्बन्ध सुदृढ गर्ने,
- नेतृत्व क्षमता उच्च, एकल मनोपरी नगर्ने, सामूहिक कार्यमा विश्वास गर्ने ,
- नेतृत्व, पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने र नतिजा दिन सक्ने ,
- नेतृत्व विकास तथा गुणात्मक प्रतिस्पर्धाका लागि स्वदेश तथा विदेशका तालिम, गोष्ठीमा प्र.अ.हरुको सहभागिता अवसर हुनुपर्ने ,
प्रधानाध्यापकले निर्वाह गर्दै आएका भूमिका र आवश्यकताका पक्षहरु ( प्रधानाध्यापक)
- प्रजातान्त्रिक, पारदर्शी, तटस्थ र लगनशील नेतृत्व ,
- पेसागत दक्षता, प्रशासकीय तथा व्यवस्थापकीय गुण ,
- राम्रो योजनाकार, समयसापेक्ष शैक्षिक नीति निर्माण र कार्य योजना तर्जुमा क्षमता ,
- मिठोबोली,हँसमुख तथा मिलनसार व्यक्तित्व र समन्वयकारी भूमिका,
- भौतिक, मानवीय तथा आर्थिक स्रोत पूर्वाधार निर्माण र व्यवस्थापन,
- शैक्षिक उत्सुकताको वातावरण तथा बालमैत्री विद्यालय ,
- समयसापेक्ष पाठ्यक्रम व्यवस्था र प्रयोग क्षमता, तालिम प्राप्त ,पेसाप्रति समर्पित योग्य शिक्षक व्यवस्था,
- अभिभावक, विद्यार्थी तथा शिक्षक अन्तरक्रिया तथा परामर्श क्षमता ,
- समयसापेक्ष, प्र.अ. तथा शिक्षकहरुलाई छोटो अवधिको पुनर्ताजगी तालिम, कार्यशाला तथा सेमीनारको अवसर ,
- मनोविज्ञ तथा कुनै विषयमा दक्ष एवम् अध्ययनशील व्यक्तित्व,
- विद्यालयको सेवाक्षेत्रका अभिभावक एवम् समाजको यर्थाथताबोध भएका ,
प्रधानाध्यापक दृष्टिमा विद्यालयका सबलताहरु
- विद्यार्थी तथा शिक्षकमा समूह कार्यप्रति विश्वास वृद्धि ,
- सिकाइ उपलब्धि मापन तरिका, परीक्षा प्रणालीमा सुधार, मूल्यांकनका आयाममा परिर्वतन र सूचनाको पारदर्शिता ,
- शिक्षक तालिमको व्यवस्था र सिकाइ प्रभावकारिताको सुनिश्चितता ,
- शिक्षक उत्प्रेरणा र पुरस्कार तथा खाली घण्टी नहुने व्यवस्था कार्यान्वयन ,
- समुदाय सम्बन्ध विस्तार तथा पटकपटक अभिभावक अन्तरक्रियाबाट विद्यालयमा सहभागिता ,
प्रधानाध्यापक दृष्टिमा विद्यालयका समस्याहरु
- साधनस्रोत व्यवस्थापन, प्रयोग तथा सहकार्य वा सहयोग प्राप्तिमा समस्या,
- शैक्षिक व्यवस्थापनमा वि.व्य. स.तथा समुदायको चासो न्यून वा राजनीतिक आग्रहपूर्वाग्रहको प्रभाव,
- गुणस्तरीय शिक्षक तथा पेसागत चरित्रको अभाव एवम् समयसापेक्ष शिक्षक तयार पार्न कठिन,
- अस्पष्ट शैक्षिक नीति तथा बन्द हडतालको प्रभाव तथा शिक्षक विद्यार्थी अनुपात नमिल्नु ,
- शिक्षकहरुमा आत्मसमीक्षा गर्ने बानीको अभावमा सही मूल्यांकन र पुरस्कृत गर्नमा समस्या ,
प्रधानाध्यापक दृष्टिमा विद्यालयका सबलताका आधारभूत सर्तहरु
- पर्याप्त भौतिक, मानवीय तथा आर्थिक पूर्वाधार ,
- व्यवस्थापन समितिको सहयोग र पृष्ठपोषण ,
- दण्ड सजाय तथा प्रोत्साहन व्यवस्थापन, प्रयोग र पुरस्कारको अधिकार ,
- प्रधानाध्यापकको सही मूल्यांकन गरी दण्ड पुरस्कारको व्यवस्था ,
- राजनीतिमुक्त र शान्ति क्षेत्र विद्यालयको प्रतिवद्धता कार्यान्वयन ,
- शिक्षित र जागरुक अभिभावक ,
- पुराना शिक्षकलाई समसामयिक बनाउने वा सेवामुक्त गर्ने छनोटको अवसर आवश्यक ,
प्रधानाध्यापक दृष्टिमा विद्यालय सबलताका लागि गर्नुपर्ने आवश्यक नीतिगत प्रावधानहरु
- समयानुकूल ऐनकानुनमा प्रधानाध्यापक पदलाई अधिकार सम्पन्न बनाउने ,
- शैक्षिक व्यवस्थापन तथा शिक्षक नियुक्ति र अवकासको अधिकार प्र. अ . लाई दिने ,
- हरेक किसिमले योग्य, सक्षम र प्रतिभाशाली व्यक्ति प्र. अ. हुने वैज्ञानिक आधार बनाउने ,
- योजना अनुरुप नतिजा नदिने प्र. अ. लाई पारदर्शी रुपमा हटाउने विधि तय गर्ने ,
- प्रधानाध्यापकहरुलाई देशविदेशका तालिम,गोष्ठी र सेमीनारमा सहभागी हुने अवसर सुनिश्चित गन,
सिकाइ तथा प्राप्तिमा विद्यार्थी तथा शिक्षकबाट हासिल गरिएका केही अनुभूतिहरु
- विद्यालयहरु स्थानीय तह वा आफ्नो सेवा क्षेत्रको समृद्धि तथा विकासका आधारस्थल भएकाले सरकारका सबै शैक्षिक कार्यक्रमको कार्यान्वयनको आधिकारिक निकायका रुपमा हुनुपर्ने,
- शिक्षासित सम्बद्ध सबै विषय क्षेत्रका विद्वान तथा विज्ञहरुसंग अन्तरक्रियाको व्यवस्था विद्यालयले मिलाउनुपर्ने,
- शिक्षकको पेसागत प्रोत्साहन र सही मूल्यांकन पद्धतिबाट नतिजामा गुणात्मकता खोज्ने पद्धति बसाल्नुपर्ने,
- विद्यालय व्यवस्थापक, शिक्षक तथा विद्यार्थी सबैले राम्रा, असल अभ्यासका नमुनाहरु अध्ययन, अवलोकन गरी आफ्नो विद्यालयलाई कसरी प्रभावकारी बनाउने भन्ने खोज गर्न शैक्षिक भ्रमण हुनुपर्ने,
- विद्यालयहरुले नियमित कक्षाकार्य, गृहकार्य दिने, जाँच गर्ने र कमजोर विद्यार्थी लक्षित थप पृष्ठपोषणका कार्यक्रमको सुनिश्चितता गर्ने,
- यातायात सुविधा सञ्चालन नगरेका विद्यालयहरुले बसको व्यवस्थापन गर्ने र गरेकाले राम्रो गुणस्तरीय सेवा दिनुपर्ने,
- विद्यालयहरुले खानेपानी, शौचालय, चमेना गृह व्यवस्थापन, खाजामा सुधार र सरसफाइमा पर्याप्त ध्यान दिनुपर्ने,
- विद्यालयहरुमा प्रयोगशाला, पुस्तकालय तथा सिकाइका साधन प्रोजेक्टरहरुको व्यवस्थापन र प्रयोग प्रभावकारी बनाउने,
सिकाइ तथा प्राप्तिमा शिक्षक, प्रधानाध्यापक तथा व्यवस्थापकबाट हासिल गरिएका केही अनुभूतिहरु
- विद्यालयमा उपयुक्त विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव र पुस्तकालय स्थापना हुनु र प्रयोगको सुनिश्चितता गर्नु मुख्य कुरा रहेछ ।
- समयको मागले अंग्रेजी माध्यममा पठनपाठन र विज्ञान प्रविधिमैत्री शिक्षण सिकाइ नगर्ने विद्यालय चलाउन र प्रतिस्पर्धी हुन कठिन हुँदै गएको छ ।
- विद्यालयहरुले आफैँ पनि सूचना प्रविधिको व्यवस्थापन र आवश्यक सिप हासिल गर्ने तथा राम्रा विद्यालयबाट सिकेर प्रतिस्पर्धी हुन नसकेमा आपप्नो अस्तित्वलाई जीवन्त बनाइ राख्न सम्भव देखिँदैन ।
- प्रत्येक विद्यालयहरुले प्र. अ. शिक्षकहरुको जोडबलमा मात्र विद्यालयले चाहेको नतिजा निकाल्न कठिन हुने सत्य बुझ्नु पर्दो रहेछ ।
- राम्रा अभ्यास गरेका सफल विद्यालयहरुबाट सिक्न वि.व्य.स. का पदाधिकारी, केही सचेत अभिभावक,शिक्षक तथा विद्यार्थीसमेतलाई शैक्षिक भ्रमण तथा सिकाइको अवसरमा सरिक गर्नुपर्ने रहेछ ।
- सामुदायिक तथा संस्थागत ( निजी) लगानीका विद्यालयबीचको दूरी वा खाडल घटाउने विविध कार्यक्रमहरु सञ्चालन गर्नु अति आवश्यक छ ।
- सामुदायिक तथा संस्थागत विद्यालयका बीचमा अनुभव आदान प्रदान गर्ने र सहयोगी पूरक संस्थाका रुपमा आपसी सम्बन्ध विकास गर्ने नीति राज्य तहबाटै ऐनकानुन तथा अभ्यासबाट नै लागु हुनुपर्ने रहेछ ।
- विद्यार्थीका आन्तरिक प्रतिभा प्रस्फुटन गर्न सहक्रियाकलाप तथा अतिरिक्त क्षेत्रका बहु क्रियाकलाप समयसापेक्ष हुनु मुख्य कुरा रहेछ ।
- अतिरिक्त कार्य अभ्यास तथा खेलकुद आदिका लागि छुट्टै शिक्षक व्यवस्थापन, खेलमैदान, खेल सामग्री तथा सिकाइ वातावरण निर्माण आदिमापनि समान ध्यान दिनुपर्ने अवस्था सबै विद्यालयहरुकालागि चुनौती रहेछ ।
- पाठ्यपुस्तकमा अभ्यासका पछाडि सबै विषयमा सिर्जनात्मक अभ्यासबाट दक्ष बनाउने भनिएपनि चिठी लेखन, बैठकका माइन्यूट लेखन,सभा समारोह विद्यार्थीबाट सञ्चालन जस्ता कार्यक्रमलाई आफ्नो छुट्टै विशेषता भन्ने विद्यालयहरुको अवस्था देखिनुले पाठ्यक्रमको उद्देश्यानुसार विद्यालयहरुलाई तयार पार्न अभिमुखीकरण, तालिम प्रशिक्षणबाट नसकिएको अनुभूति हुँदो रहेछ ।
- सडक दुर्घटना र द्राफिक सचेतता, समसामयिक विषयवस्तु वा चुनौतीका पक्षमा केन्द्रित गर्न विद्यार्थीहरुलाई समय समयमा हाजिरीजवाफ, समाचार वाचन र समस्या समाधानका अभ्यास जस्ता क्रियाकलापहरु पनि विद्यालयका लागि अति आवश्यक व्यावहारिक जीवनका सिकाइका आधार हुँदा रहेछन् ।
- विद्यालयहरुले समाजमा बढ्दो लागू पदार्थको दुव्र्यसन, जाँड रक्सी तथा जुँवा तास जस्ता सामाजिक विकृति विरुद्धका अभिभायन चाल्नु र अभिभावक जागरण शैक्षिक वातावरणका लागि मुख्य कुरा रहेछ ।
- अभिभावक सहमतिबाट बालबालिकाको सिकाइ तथा सामाजिक जीवनस्तरमा आएको परिवर्तनलाई विद्यालयहरुले मुख्य आधार बनाएर विश्वास स्थापित हुने प्रयासलाई पनि सफल अभ्यासमा लिँदा रहेछन् ।
- अनुशासनका लागि कठोर नियम र दण्डभन्दा सिसिटीभी जडान, इ–हाजिरी र जिम्मेवारी बाँडफाँडका साथ नेतृत्व र जवाफदेहिता मुख्य रहेछ भन्ने पनि बालबालिकाको अभ्यासबाट सिकेको गर्वसाथ भन्निदो रहेछ ।
- समुदाय, जनसमूह, जातजातिको सम्प्रदायगत अवस्था पहिचान गरी उनीहरुकै स्थानीय आवश्यकता अनुरुपको शिक्षा व्यवस्थापन विद्यालयका लागि मुख्य रहेछ ।
- देशका सबै भूगोल र क्षेत्र तथा समुदाय वा पेसागत विशेषता भएका स्थानमा एउटै विषयवस्तु र सिकाइमा समान गुणात्मकता खोज्दा विद्यालयको टाउँको दुखाइ हुँदो रहेछ, यसर्थ स्थानीय पाठ्यक्रम र जीवनपद्धतिको शिक्षा स्थानीय रुपमा समायोजन विद्यालयका लागि मुख्य कुरा हँुदो रहेछ ।
- सामुदायिक वा सार्वजनिक हितमा काम गर्दा जति सुकै निजी संस्थालाई व्यावसायिक रुपमा मार परेपनि सामुदायिक वा सार्वजनिक पदाधिकारीले आ –आफ्नो दायित्व निर्वाहमा कमी आउन नदिएमा वा निजी संस्थागत सञ्चालकसंग वैयक्तिक रिसराग होला भनी डराएर विचलित नभएमा सामुदायिक विद्यालयले राम्रो नतिजा दिने तथ्य सरोकारवाला स्वीकार्दा रहेछन् ।
- शिक्षक नियुक्ति व्यवस्थापन, सरुवा, बढुवाका कार्यतालिका निश्चित नहुँदा तथा जुनसुकै बेला शिक्षकहरुको फेरबदल कार्यले विद्यालयहरु धेरै मर्कामा पर्ने र पठनपाठन प्रभावित हुने तितो अनुभूतिको गुनासो पनि प्रधानाध्यापक र तथा व्यवस्थापकहरुको उच्च हुँदो रहेछ ।
- शिक्षक छनोट, योग्यता, विषय र विद्यार्थी सन्तुष्टि तथा उपलब्धिस्तर पहिचान गरी विद्यालयका लागि सिफारिस भएको शिक्षक पेसागत रुपमा उपयुक्त भए नभएको तथा स्वीकार्ने वा अस्वीकार्ने अधिकार प्र. अ. लाई हुँदा जवाफदेहिता बढी हुने र विद्यालय शैक्षिक पक्षमा सुध्रिने आशा पनि सरोकारवाला राख्दा रहेछन् ।
- प्रधानाध्यापकलाई दिइने भत्ता अतिन्यून, प्र. अ. नियुक्त गर्ने प्रक्रियामा कमजोरी वा वैज्ञानिकता नभएकाले कार्यसम्पादनमा समस्या देखिने गरेको पनि सरोकारवाला अनुभव गर्दा रहेछन् ।
- प्रधानाध्यापकको पदलाई छुट्टै तह कायम गर्ने र उनका सहयोगीका रुपमा लेखा व्यवस्थापक, कार्यालय सहायक, कार्यालय सहयोगी जस्ता पदको व्यवस्था गरेमा विद्यालय अभिलेख व्यवस्थापन प्रणाली र सम्पत्ति सुरक्षामा बल पुग्ने भनाइ राख्दा रहेछन् ।
- साँच्चै सामुृदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन विद्यालय व्यवस्थापन समिति नराख्ने तर प्र.अ. लाई व्यवस्थापकका रुपमा शिक्षक नियुक्ति र अवकासको सर्वाधिकार दिने पद्धति व्यवहारिक हुने अनुभव सरोकारवाला गर्दा रहेछन् ।
- प्र. अ. को नियुक्ति शैक्षिक योजना प्रस्ताव मूल्यांकनका आधारमा गर्ने, तोकिएको लक्ष्यभन्दा माथिको उपलब्धि नतिजा दिने र सिकाइमा सफल प्र.अ. लाई आकर्षक सेवासुविधा दिने तथा लक्ष्यमा नपुग्ने कमजोरहरुलाई नेतृत्वबाट हटाउने नीति प्रभावकारी हुने सुझाव सरोकारवाला गर्दा रहेछन् ।
निष्कर्ष :
कुनै पनि विद्यालयको शैक्षिक सफलता र विफलता समुदायको भूमिकामा निर्भर गर्दछ । शैक्षिक गुणात्मकता र उपलब्धि प्राप्तिमा समुदाय, सचेत अभिभावक, स्पष्ट शिक्षा नीति र नेतृत्वको ठूलो हात हुने गर्दछ । पेसागत रुपमा आफूले नेतृत्व गर्ने प्र.अ., आफू संलग्न अध्यापनरत शिक्षक र आफ्नो भविष्य जोडिएको पठनपाठनमा संलग्न विद्यार्थीहरु सबै उत्कृष्ट संस्थासित जोडिएर सन्तुष्टिको भण्डारको रुपमा विद्यालय विकास भएको देख्न चाहन्छन् । सामूहिक प्रतिवद्धता, पेसागत इमान्दारिता र पारदर्शिता भएको नेतृत्वबाट मात्र अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । यसर्थ सरोकारवालाहरुबाट समस्या पहिचान, समाधानको पहल र निरन्तर आत्मसमीक्षा खांँचो छ । विद्यालयहरुले निरन्तर अन्तरक्रिया, प्राप्त सबलपक्षको संरक्षण, पृष्ठपोषण र कमजोरी न्यूनीकरणका प्रयासमा विविध विकल्प पहिचानकासाथ समुदायको विश्वास जित्नु अनिवार्य छ । संघीय, प्रान्तीय र स्थानीय तहको शिक्षा व्यवस्थापन र नेतृत्व विकासका आधारहरु पहिचान र कार्यान्वयन गर्दा विद्यालयका प्रधानाध्यापकहरुलाई आ–आफ्ना स्थानका आवश्यकता अनुरुप नेतृत्व गर्ने क्षमता विकासलाई प्राथमिकता राखी ऐनकानुनको निर्माण र कार्यान्वयन मुख्य हुन जान्छ ।
अनुसूची १ :
सहभागीहरु विद्यार्थीहरु ( ५८) जना
१. बढी प्रभावकारी प्रधानाध्यापक
२. गुणात्मक प्रतिस्पर्धाका लागि प्रधानाध्यापक नेतृत्व
३. शिक्षक विद्यार्थीलाई नियमित र अनुशासित बनाउन प्रधानाध्यापकका योजना तथा कार्यक्रम
४. सेवा सुविधा व्यवस्थापन र परिचालनमा प्रधानाध्यापक भूमिका
५. प्रधानाध्यापक तथा कार्य पुरस्कार
शिक्षकहरु (४९) जना
१. प्रधानाध्यापकका पेसागत नेतृत्व गुणहरु
२. प्रधानाध्यापकका पेसागत चुनौतीहरु
३. विद्यालयका सबलताहरु
४. विद्यालयका प्र.अ.का सुधारका पक्षहरु
प्रधानाध्यापकहरु (३२) जना
१. प्र.अ.का पेसागत गुणहरु
२. क्षमता अभिवृद्धिका आवश्यक तत्वहरु
३. शैक्षिक व्यवस्थापन सुधारका असल कामहरु
४. शैक्षिक व्यवस्थापनमा भोग्नु परेका समस्याहरु
५. योग्य प्रधानाध्यापक हुन आधारभूत वातावरण वा अधिकार
अनुसूची २ : अध्ययनका सहभागी विद्यालयको विवरण
१. मिति २०७३ / ०८ / ३० मा श्री पोलारिस बोर्डिङ हाईस्कुल मजुवा , गुल्मी ।
२. मिति २०७३ /०९ / ०४ मा श्री ज्ञानोदय उमावि तुराङ् मजुवा , गुल्मी ।
३. मिति २०७३ / १० / ४ श्री कान्ति उमावि बुटवल ।
४. मिति २०७३ / १० /५ श्री कालिका उमावि बुटवल ।
५. मिति २०७३ / १० / ६ श्री न्यू होराइजन उमावि बुटवल ।
६. मिति २०७३ / १० / ७ श्री नवीन औद्यागिक कदरबहादुर रीतारायमाझी उमावि बुटवल ।
७. मिति २०७३ / १० / ३ गते शैताके पाल्पाका प्रधानाध्यापक तालिममा सहभागी २२ जनाका विचारहरु
८. मिति २०७३ आश्विन शैताके नुवाकोटमार्फत् त्रिशुली मावि तथा अन्य कुनै संस्थागत विद्यालय नुवाकोट ।
९. मिति २०७३ आश्विन शैताके तनहुँ मार्फत् सत्यवती मावि र शान्तिवर्ष अंग्रेजी मावि दमौली तनहुँ ।
पोखरेल शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमीका उपनिर्देशक हुन्
प्रतिक्रिया