Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

व्यावहारिक सिकाइका निम्ति तालिम

शुक्रबार, ०८ बैशाख २०७४

काठमाडौं ८ बैशाख/शिक्षण सिकाइमा मानसिक परिपक्वताका निम्ति शिक्षक तालिमको आयोजना गरिएको छ । द्वारिकाज फाउन्डेसनले राजधानीका केही विद्यालयमा कार्यरत शिक्षकलाई यसरी तालिम दिएको हो । द्वारिकाज होटलकी संस्थापक प्रसिद्ध होटल व्यवसायी अम्बिका श्रेष्ठको नामबाट ‘अम्बिका श्रेष्ठ पेडागोजी फर ट्रान्सफरमेसन टिचर्स ट्ेरनिङ’ उक्त तालिमको नामकरण गरिएको छ ।

शिक्षाविज्ञ भिक्टोरिया सुबिरानाले सहभागी शिक्षकलाई तालिम प्रदान गरेकी छन् । दुईवर्षे तालिमको पहिलो चरणमा ‘बाँसको स्कुल’ ले चिनिएको समता शिक्षा निकेतनका १५ जना, रुपिज इन्टरनेसनल स्कुलका ५ र कान्तिपुर अंग्रेजी स्कुलमा ३ जना शिक्षक सहभागी छन् । ‘बालमनोविज्ञान तथा मानसिक परिपक्वताका दृष्टिकोणले परम्परागत शिक्षण सिकाइलाई बदल्ने प्रयास स्वरूप तालिम दिएका छौं,’ ३ दशकदेखि नेपालमा रहेर शिक्षणमा संलग्न स्पेनी सुबिरानाले भनिन्, ‘राम्रो बानीको विकास, चारित्रिक विकास, राम्रो बोल्ने, पारिवारिक तथा व्यावहारिक सिकाइलाई जोड दिँदा सकारात्मक परिवर्तन आउँछ ।’ गणित, विज्ञान, भाषा विषयलाई विशेष जोड दिइएको उनले सुनाइन् ।
सुबिरानाले यसअघि स्पेन र नेपाल सरकारको साझेदारीमा नेपालगन्जका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिएकी थिइन् । शिक्षकलाई नेतृत्व विकासका निम्ति तालिम दिइएको हो । ‘तालिमलाई शिक्षकलाई बढी इमानदार, व्यावसायिक बन्न सघाउ पुर्‍याउनेछ,’ बिहीबार सम्पन्न पाँचदिने तालिम समापनमा उनले भनिन्, ‘हामीले बालबालिकालाई बाल्यकालमै प्रभावकारी सिकाइ गर्दा मानसिक परिपक्वता हासिल गर्छन् । त्यसनिम्ति शिक्षकमा विश्लेषणात्मक, आलोचनात्मक र विकासित सक्रियता हुन जरुरी छ ।’ यो शिक्षण सिकाइ तालिमको मोडेल स्पेन, ब्रसेल्स, क्युबा, मोरक्कोलगायत ११ मुलुकमा लागू गरिएको उनले दाबी गरिन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया