Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

अझै ६० लाख किताब छाप्न बाँकी

बुधबार, ०६ बैशाख २०७४

काठमाडौं ६ बैशाख/नयाँ शैक्षिक सत्र सुरु भइसके पनि अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी छ । स्थानीय तहको चुनावसम्बन्धी सामग्री छपाइमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विद्यार्थीको हातमा वैशाख मसान्तसम्म पुस्तक पुर्‍याउने दाबी केन्द्रको छ ।

विद्यालय तहको पाठ्यपुस्तक छाप्ने सरकार मातहतको एक मात्र निकाय केन्द्रले नयाँ शैक्षिक सत्रका निम्ति दैनिक सवा लाख थान पुस्तक छपाइरहेको जनाएको छ । हरेक वर्ष शैक्षिक सत्र आधा सकिँदासम्म पनि सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँदैनन् । वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सामग्री छाप्नुपर्दा पाठ्यपुस्तक छपाइ ढिलो हुन गएको केन्द्रका प्रबन्ध सञ्चालक महेशबाबु तिमल्सिनाले बताए । ‘निर्वाचन सामग्री छपाइले पाठ्यपुस्तक छाप्न केही प्रभाव पारेको छ,’ उनले भने, ‘सेक्युरिटी प्रेसअन्तर्गत निर्वाचन सामग्री छपाइ भइरहेको र अधिक दक्ष जनशक्ति तथा बाइन्डिङ, स्टिचिङ र कटिङ मेसिनसमेत भित्रै परेकाले ढिलाइ हुन गएको हो ।’ यसअघि शिक्षा मन्त्रालयले चैत मसान्तभित्र छपाइसक्ने दाबी गरेको थियो ।
 करिब २ करोड थान पुस्तक छाप्नुपर्नेमा हालसम्म १ करोड ४० हजार थानमात्र छापिएको प्रबन्ध सञ्चालक तिमल्सिनाले जनाए । ‘अब करिब ६० लाख थान छाप्न बाँकी छ,’ उनले भने, ‘वैशाखभित्र सबै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याइसक्ने छौं ।’ हरेक वर्ष ढिलो हुने भएपछि केही वर्षयता कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ निजी छापाखानालाई दिइएको छ । कक्षा ६ देखि १० सम्मको भने केन्द्रले आफैं छाप्दै आएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया