काठमाडौं ५ बैशाख/२०५२ सालमा पहिलो सन्तान जन्मेपछि धादिङकी सुकमाया गुरुङ खुसीले गद्गद भइन्। त्यसपछि भने उनले खुसीको महसुस गर्न पाएकी छैनन्। खुसी हुने पनि कसरी? ०५३ सालमा लडेर पतिको मृत्यु भयो। पति वियोगपछि सुकमायाका दुःखका दिन सुरु भए। छोरी हुर्काउने र घरव्यवहार धान्ने जिम्मा उनको काँधमा आयो। ‘श्रीमान् बितेपछि मेरो सहारा भनेकै छोरी भइन्,’ सुकमायाले भनिन्, ‘कम्ता दुःख झेलिनँ। महाकष्ट गरेर छोरी हुर्काएँ।’
सुकमायाकी छोरी सबिना ८ वर्षकी मात्र भएकी थिइन्। तत्कालीन गोरखा जिल्ला विकास समितिका उपसभापति हरिबहादुर घलेले बावु नभएका बच्चालाई काठमाडौंमा निःशुल्क पढाइदिने खबर सुनाए। ‘यो खबर सुनेपछि मैले धेरै पटक सोचें,’ उनले भनिन्, ‘गाउँका अरूले पनि बच्चा पठाउने भएपछि मैले पनि छोरी पठाएँ।’
काठमाडौं, धापासीस्थित असहाय बालबालिका शिक्षा केन्›ले उनकी छोरीलाई पढाउने भएको रहेछ। काठमाडौं आएपछि सुकमायाले यो कुरा थाहा पाइन् र छोरी पढाइदिन केन्द्रको जिम्मा लगाइन्। यो २०६० सालतिरको घटना हो।
दुई–दुई महिनामा छोरी भेट्न आउँथिन् सुकमाया। यो क्रम एक वर्षसम्म चल्यो। एकपटक आउँदा केन्द्रमा छोरीलाई देखिनन् उनले। अत्तालिँदै केन्द्रकी सञ्चालिका सरस्वती श्रेष्ठलाई सोधिन्, ‘खोइ, मेरी छोरी?’
जबाफमा केन्द्रकी सञ्चालिका सरस्वतीले भनेकी थिइन्, ‘छोरी पढ्न विदेश गएकी छिन्।’ सरस्वतीलाई उद्धृत गर्दै सुकमायाले नागरिकसँग भनिन्, ‘चिन्ता गर्नुपर्दैन, छोरी राम्रो ठाउँमा गएकी छिन्।’ सरस्वतीबाट यस्तो भनाइ आएपछि सुकमाया पनि छोरी पढेर आउने आसमा बसिन्। ‘छोरीले केही खबर पठाइन् कि भन्दै प्रत्येक वर्ष केन्द्रमा आउँथें,’ सुकमायाले भनिन्, ‘केन्द्रले केही जानकारी आएको छैन भनेपछि निरास हुँदै घर फर्किन्थें।’ यो क्रम १३ वर्षदेखि चलिरहेको छ। तर पनि सुकमायालाई केन्द्रले छोरीका बारेमा यथार्थ जानकारी दिएको छैन।
केन्द्रले सुकमायाकी छोरी सबिनालाई धमपुत्री बनाएर विदेश पठाएको हो। यो खबर सुकमायालाई अहिले पनि जानकारी छैन्। उनलाई छोरी विदेशमा पढेर बसिरहेकी छिन्, पढेपछि फर्किन्छिन् भन्ने विश्वास सुकमायामा छ।
‘सुरु–सुरुमा त केन्द्रका कर्मचारीले सोध्दा राम्रै प्रतिक्रिया दिन्थे तर अहिले त उल्टै गाली गर्छन्। हामी चिन्दैनौं भन्छन्,’ सुकमायाले गहभरि आँसु पार्दै भनिन्, ‘मैले केन्द्रमै छोरी छोडेकी हुँ। अहिले आएर केन्द्रले चिन्दैनौं भनिरहेको छ।’ केन्द्रले चिन्दैनौं भनेपछि सुकमायाले सबिना आफ्नी छोरी हो भन्ने प्रमाण ल्याएर पनि पेस गरिन्। प्रमाण पेस गरेपछि भने सुकमायालाई सबिनाको फोन नम्बर र फेसबुक आइडी केन्द्रले दिएको छ। विडम्बना! सुकमायालाई न फोन थिच्न आउँछ, न त फेसबुक चलाउन नै। ‘मलाई केही थाहा छैन् एकपटक छोरीसँग तपाईंहरूले नै सम्पर्क गरिदिनु न भनेर कति अनुरोध गरें,’ उनले भनिन्, ‘मेरो अनुरोधलाई उनीहरूले केही जस्तो मानेन, मेरो कुरै सुनेन्।’ सुकमाया अहिले काठमाडौंमा छिन्। छोरी कसरी खोजी गर्ने उनलाई केही जानकारी छैन। उनको मनमा भने एउटै कुरा छ, ‘छोरीलाई कहिले पाइएला देख्न।' ‘छोरीको खुबै याद आउँछ,’ उनले भनिन्, ‘कतै छोरी देख्न नपाईकन मर्ने हुँ कि भन्ने चिन्ताले सताउन थालेको छ।’
नागरिकले अनुसन्धान गर्दा केन्द्रले सुकमायाकी छोरीलाई स्पेनका नागरिकको धर्मपुत्री बनाएर पठाएको छ। मुलुकी ऐन, २०२० को महल १२ मा एक मात्र छोरा वा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री दिन हुँदैन भन्ने उल्लेख छ। सबिना सुकमायाकी एक मात्र सन्तान भए पनि उनलाई जानकारी नै नदिई केन्द्रले धर्मपुत्री बनाएर विदेश पठाएको हो।
अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री व्यवस्थापन विकास समितिका अध्यक्ष महेन्›प्रसाद श्रेष्ठका अनुसार केन्द्रले कानुनअनुसार नै पठाएको पाइन्छ। ‘प्रक्रिया पुर्उाएर मात्र धर्मपुत्रपुत्री बनाएर लैजान मिल्छ,' श्रेष्ठले भने, ‘कानुनी प्रक्रिया पुर्याएरै आएकाले मात्रै स्वीकृति पाएको हो। केन्›ले बच्चालाई अनाथ बनाएर सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको हुनुपर्छ।' केन्द्रले बच्चालाई अनाथ बनाएरै पठाएको हो। गोरखाकै हीरामान गुरुङलाई पनि केन्द्रले धर्मपुत्र बनाएर पठाएको थियो। हिरामानको मृत्युपछि उनकी आमाले खोजी गर्दा अनाथ बनाएर पठाएको जानकारी दिएको थियो केन्द्रले। यसअघि केन्द्रमा नागरिककर्मी पुग्दा त्यहाँका अधिकारीले आफूहरूले बेवारिसे अवस्थामा सडकमा भेटेका बच्चा ल्याएर पालेको र त्यस्ता बच्चालाई कानुनी प्रक्रिया पुर्याएर धर्मपुत्र वा धर्मपुत्री बनाएर विदेश पठाएको बताएका थिए। त्यसबेला एक जनालाई धर्मपुत्र वा धर्मपुत्री बनाएर विदेश पठाएबापत लाखौं रुपैयाँ केन्द्रले पाउँथ्यो। त्यही पैसाको प्रलोभनमा परेर केन्द्रले गाउँगाउँबाट बच्चा ल्याई अनाथ भन्दै धर्मपुत्र/पुत्री बनाएर विदेशपठाउने गरेको देखिन्छ।
हिरामानकी आमा लीला गुरुङ र सुकमायाको पहिला केन्द्रसँग राम्रै चिनजान भए पनि अहिले भने सञ्चालिका सरस्वती उनीहरूलाई नचिने झैं गर्छिन्। उनले ‘म चिन्दिनँ' भन्ने जबाफ दिँदै आएकी छिन्। नागरिकले सोमबार पनि सरस्वतीलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन। सरस्वतीका छोरा तथा केन्›का कार्यक्रम निर्देशक लक्ष्मणसँग सम्पर्क भए पनि सबिनाको बारेमा जान्न खोज्दा उनले ‘मलाई बोल्ने फुर्सद छैन' भन्दै फोन काटिदिए।
धर्मपुत्र/पुत्री बनाएर विदेश पठाएबापत पहिलेपहिले पैसाको ठूलै चलखेल हुने गरेको समिति अध्यक्ष श्रेष्ठले बताए। ‘बालगृह र दाताको सीधैै सम्पर्क हुन्थ्यो,' श्रेष्ठले भने, ‘त्यही विकृति रोक्न २०६७ मा समिति बनाएर नयाँ व्यवस्था लागू गरेका हौं।' उनका अनुसार नयाँ व्यवस्थापछि धर्मपुत्र वा पुत्री बनाएर विदेश पठाउनेको संख्या धेरै घटेको छ। नयाँ व्यवस्था अनुसार कुनै बालगृहले बच्चा धर्मपुत्र वा पुत्री बनाएर पठाएबापत पाँच हजार डलर मात्र लिन पाउँछन्।
अहिले यसरी धर्मपुत्र/पुत्री बनाएर पठाउन १५ वटा बालगृहलाई मात्रै अधिकार दिइएको छ। त्यसभित्र केन्› पनि पर्छ तर नयाँ व्यवस्था लागू भएपछि केन्›बाट धर्मपुत्र/पुत्री बनाएर विदेश पठाएको रेकर्डमा देखिँदैन।
नागरिकमा प्रकाशित खबर ।
प्रतिक्रिया