काठमाडौं ४ बैशाख/रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण ‘आत्महत्या' भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ । करिब दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हामफालेर मृत्यु भएको थियो ।
कुन्दनको मृत्युसम्बन्धमा परिवारले प्रश्न उठाएपछि अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ‘आत्महत्या' नै भएको ठहरसहित महानगरीय प्रहरी प्रमुख डीआईजी बमबहादुर भण्डारीलाई आइतबार प्रतिवेदन बुझाएको हो । ‘प्राविधिक रूपमा सम्पूर्ण अध्ययन गर्दा कुन्दनको हत्या भएको देखिँदैन । पोस्टमार्टम रिपोर्टमा पनि उनले हामफालेपछि लागेको चोटका कारण मृत्यु भएको देखिएको छ । कुन्दनले आत्महत्या नै गरेका हुन्', छानबिन समिति संयोजक ज्ञवालीले भन्नुभयो । उहाँले छानबिनक्रममा ४५ जनासँग कुरा गरिएको जानकारी दिनुभयो ।
स्रोतका अनुसार प्रतिवेदनमा स्कुल व्यवस्थापनको कमजोरीलाई पनि औंल्याइएको छ । बिदाको समयमा विद्यार्थीलाई स्कुलमा बोलाएको, प्रधानाध्यापकलाई विद्यार्थी बोलाइएको बारे जानकारी नगराएको, घटना हुनेबित्तिकै आफन्तलाई खबर नगरिएको प्रतिवेदनमा उल्लेख छ । प्रशासकीय कमजोरीको हकमा उक्त स्कुलका वार्डेन प्रहरी निरीक्षक (इन्स्पेक्टर) शर्मिला गुरुङलाई विभागीय कारबाही सिफारिस गरिएको छ ।
कुन्दन अध्ययनरत कक्षाकै एक छात्राबाट ‘कम्प्लेन' आएपछि शर्मिलाले त्यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गरेको तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए । त्यसपछि कुन्दन आफैं प्रहरी स्कुल पुगेका थिए, जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए । तर, केहीछिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासि हामफालेको विद्यालय व्यवस्थापनले दाबी गरेको थियो ।
कुन्दन कक्षा आठको परीक्षा दिएर बसेका थिए । परिवारका एक मात्र सन्तान कुन्दनलाई आफन्तले मृत अवस्थामा प्रहरी अस्पतालमा भेटेका थिए । स्कुल व्यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनू भनी खबर गरेपछि मृतकका आफन्त अस्पताल पुगेका थिए । प्रहरीका अनुसार कुन्दनले ती छात्राको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अश्लील तस्बिर पोस्ट गरेका थिए ।
घटना हुनु केही दिनअघि मात्र ती छात्रा र कुन्दनबीच झगडा भएको र झगडाका क्रममा तीन छात्राले कुन्दनलाई पिटेको बताइएको छ । त्यही रिस पोख्न कुन्दनले छात्राको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेको जनाइएको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया