Edukhabar
मंगलबार, ०१ असोज २०८१
विचार / विमर्श

प्राकृतिक बिपत्ति पछिको पढाई

शुक्रबार, २५ बैशाख २०७२

- डा. मनप्रसाद वाग्ले / जेठ १ गते देखि स्कूल खुल्दै छन् । तर प्राकृतिक बिपत्ति भोगेर आएका केटाकेटीहरु अगि पछि भन्दा असामान्य हुन सक्छन । यस तर्फ शिक्षक र बिद्यालय प्रशासन सतर्क हुनु जरुरी छ ।

क. प्राकृतिक बिपत्ति पछि केटाकेटीले देखाउने सामान्य प्रतिक्रिया

कुन बालकले कस्तो प्रतिक्रिया देखाउंछ भन्ने कुरा उसले भोगेको डर र त्रासको मात्रामा भर पर्छ । विपत्तिको अनुभव गर्नु, घाइते हुनु, परिवारमा कसैको मृत्यु हुनु, भौतिक क्षति हुनु, जस्ता अनेकन अनुभव बोकेका केटाकेटीमा फरक फरक समस्या विद्यमान हुन् सक्छन । खासगरी विभिन्न उमेरका केटाकेटीहरुले प्राकृतिक बिपत्ति भोगिसकेपछि यस्तो व्यवहार प्रदर्शन गर्छन ।

१. पूर्बप्राथमिक तह : औंला चुस्ने, ओछ्यानमै सुसू गर्ने, आमाबाबु संग टाँसी रहने, ननिदाउने, खानामा रुचि कम हुने, अँध्यारो देखि डराउने, नियमित काममा नलाग्ने ।

२. प्राथमिक तह: झर्किने, रिसाउने, राती नराम्रो सपना देख्ने, तर्सने, डराउने, स्कूल जान मन नगर्ने, साथीहरुसंग सम्पर्क नगर्ने, कुनै कुरामा ध्यान एकत्रित नहुने ।

३. माध्यमिक तह: खाना र निद्रामा गडबड हुने, ससाना कुरामा अरुप्रति जाइ लाग्ने, द्वन्द बढ्ने, शारीरिक स्वास्थ्य कम्जोर रहने, ध्यान एकत्रित नहुने, नराम्रो व्यवहार देखाउने ।

ख. यस्तो अवस्थामा के गर्ने त ?

१. कक्षामा कुनै विद्यार्थीमा माथि भनिएका लक्षण देखा परेमा त्यसको छलफल सामुहिक रुपमा गर्नुहोस, एक्लै निर्णय नगर्नुहोस ।

२. कक्षामा विद्यार्थीले सोध्न सक्ने प्राकृतिक बिपत्ति संग सम्बन्धित थरीथरीका प्रश्न को उत्तर दिने तयारीका साथ कक्षा प्रवेश गर्नुहोस ।

३. उनीहरुको कुरा ध्यानपूर्वक सुन्नुहोस, उनीहरुको व्यवहार प्रति आफ्नो प्रतिक्रिया तुरुन्तै नजनाउनुहोस । उनीहरुको व्यवहारलाई सामान्य बनाउन माया दिनुहोस । प्राकृतिक बिपत्तिमा जन धनको क्षति हुनु र घाइते हुनु स्वाभाविक हो भन्ने कुरा सम्झाउन कोशिश गर्नुहोस ।

४. उनीहरुको इच्छा बिना घटनाको बारेमा बताउन जोड नगर्नुहोस ।

५. सकेसम्म छिटो बिद्यालय कार्यक्रमलाई नियमित गर्ने तर्फ लाग्नुहोस । किनकि नियमित कार्यक्रमले विद्यार्थीलाई व्यस्त गराउँछ र उनीहरुको व्यवहार सामान्य बनाउन मद्दत गर्छ ।

६. कस्तो व्यवहारमा कस्तो सहयोग गर्ने भन्ने कुरा बिद्यालयमा एउटा निर्णय गर्नुहोस र सबै शिक्षकले त्यसको पालना गर्नुहोस । यसो गर्दा विभिन्न शिक्षकबाट फरक फरक निर्देशन जांदैन र शिक्षक र बिद्यालय प्रति विद्यार्थीको बिश्वास बढ्छ ।

७. शिक्षण बिधि परिवर्तन गर्नुहोस/ परिक्षा वा प्रोजेक्ट जस्ता मानसिक दबाबका कार्यक्रम पछाडि धकेल्नुहोस । यो समय विद्यार्थीले भोगेको मानसिक क्षतिको क्षण भएकोले त्यसतर्फ संबेदनशील बन्नुहोस । गीत, मनोरंजन, कला सहितको सृजनात्मक शिक्षण विधिबाट कक्षा शुरु गर्नुहोस ।

८. व्यक्तिगत र सामुहिक कार्य छनौट गर्दा उनीहरुको ध्यान एकत्रित हुने क्रियाकलाप छनौट गर्नुहोस ।

९. अप्ठ्यारोमा परेका परिवारबाट आएका बिद्यार्थीहरुको परिवार लाइ भेत्नुहोस र बिद्यालय र शिक्षकको तर्फबाट सहयोग पुर्याउनुहोस । बिद्यालय प्रत्येक विद्यार्थीको संरक्षण गर्न सक्छ भन्ने बिश्वास बिद्यार्थी र उसका परिवारलाई गराउनुहोस ।

१०. केही बिद्यार्थी यी तरिका बाट पनि सामान्य नदेखिन सक्छन । उनीहरुका लागि मनोबिदको सल्लाह र सेवा कहाँ उपलब्ध छ पत्ता लगाउनुहोस र परिवारको सहयोगमा उपचार शुरु गर्नुहोस ।

(प्राकृतिक बिपत्तिमा परेका बालबालिकाको शिक्षा संग सम्बन्धित विभिन्न अनुसन्धान र लेखमा आधारित)

- वाग्लेको फेसबुकबाट

प्रतिक्रिया