काठमाडौं - गतबर्ष कक्षा १० को अन्तिम परीक्षा एसएसलीबाट शुरु भएको अक्षराङ्कन पद्धति विद्यालय शिक्षा अन्तरगत कक्षा ८ र ११ मा पनि कार्यान्वयन गरिने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ६४ औँ बैठकले शैक्षिक सत्र २०७४ बाट कक्षा ८ मा र कक्षा ११ मा यसै शैक्षिक सत्रबाट कार्यान्वयनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ लाई संशोधन भएअनुसार अक्षराङ्कन पद्धति कार्यान्वयनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९ र १०), २०७१ मा ऐच्छिक विज्ञान विषयलाई ऐच्छिक दोस्रो विषयका रूपमा कार्यान्वयन गर्ने, प्राविधिक धारअन्तर्गत Plant र Animal Science पढ्ने विद्यार्थीहरूका लागि कक्षा १२ मा कक्षा ११ को १०० को पूर्णाङ्कको गणित विषय Non–Creditable विषयका रूपमा परीक्षा दिन स्वीकृति प्रदान गर्ने, प्राविधिक धारतर्फको Engineering विषयअन्तर्गत विभिन्न विषय पढ्ने विद्यार्थीहरूले कक्षा १२ मा अनिवार्य अङ्ग्रेजी Non–Creditable विषयका रूपमा परीक्षा दिन स्वीकृति प्रदान गर्ने समेत निर्णय भएको छ ।
यस्तै प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षाको कक्षा १२ को वार्षिक परीक्षापछि गरिने व्यावहारिक अभ्यास (Internship) सञ्चालनका लागि व्यावहारिक अभ्यास कार्यविधि निर्देशिका, २०७३ लाई प्राप्त सुझावसमेत समावेश गरी मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने समेत निर्णय भएको छ ।
माध्यमिक तहअन्तर्गत प्राविधिक तथा व्यावसायिक धारतर्फ ललितकला, अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, वन विज्ञान, पब्लिक हेल्थ शिक्षाका पाठ्यक्रम विकास गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने पनि र्णिय भएको छ ।
यसैगरी परिषद्को मंगलबार बसेको ६५ औँ बैठकले नेपाली भाषाको वर्ण विन्यास सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित अद्यावधिक शब्दकोशअनुसार गर्ने निर्णय समेत गरेको छ ।
भाषाको सम्बन्धमा परिमार्जन गर्नुपर्ने क्षेत्र पहिचान गर्न पाठ्यक्रम विकास केन्द्र, सानोठिमीको नेपाली भाषा विषय समितिका अध्यक्षलगायत अन्य सरोकारवालाहरु सहितको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार फुल, फूल, पुरा, पूरा, जुन, जून जस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको हिज्जे नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशमा प्रविष्टि भएअनुसार लेख्ने तय भएको छ । यस्तै जात, थर बुझाउने पहिचानस“ग जोडिएका शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने जस्तै : अधिकारी, राई, कामी, छेत्री, भट्टराई, बजगाई“, पुजारी, डकर्मी, धोबी, तेली, हिन्दू, लिम्बू, थारू, ज्यापू आदि ।तर जातले प्रचलनमा ल्याएका सायमि जस्ता प्रयोगलाई यथावत् रूपमा लेख्ने पनि निर्णय भएको छ । एकार्थी स्थान, नाम दिनको नाम शब्दलाई पदयोग गरेर लेख्ने साथै एकार्थी लघु रूपमा रहेका समस्त शब्दलाई पदयोग गरेर लेख्ने, जस्तै : भक्तपुर, ललितपुर, विश्वविद्यालय । दुई शब्दबाट बनेका एकार्थी शब्दलाई पदयोग गरेर लेख्ने, जस्तै : शुभकामना, प्रधानमन्त्री, शुभयात्रा आदि लेख्ने समेत बैठकले निर्णय गरेको छ ।
द वर्णसग जोडिएर आउने शब्दलाई संयुक्त व्यञ्जनअनुसार र अन्य संयुक्त व्यञ्जनलाई नेपाली बृहत् शब्दकोश, २०६७ अनुसार लेख्ने र उक्त निर्णयको जानकारी सम्बद्ध सरोकारवालाहरूलाई उपलब्ध गराउने र कार्यान्वयनका लागि नेपाल राज्यभरका विद्यालयहरूलाई निर्देशन जारी गर्ने समेत निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
बैठकमा पाठ्यक्रम विकास केन्द्रको नेपाली भाषा विषय समितिका अध्यक्ष लगायत सदस्यहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, त्रिभुवन विश्वविद्यालय, केन्द्रका कार्यकारी निर्देशक, नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रका पाठ्यव्रmम प्रमुख, त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समिति तथा नेपाल संस्कृत विश्वविद्यालयको नेपाली विषय समितिका अध्यक्षलगायतको उपस्थिती थियो ।
प्रतिक्रिया