काठमाडौं २९ चैत / सरकारले विद्यालय तहको अमानक वर्णविन्यास खारेज गर्ने भएको छ । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले ०६९ सालमा गरेको निर्णय खारेज गरी पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को अध्यक्षसमेत रहनुभएका शिक्षामन्त्री धनीराम पौडेलले मानक वर्णविन्यासलाई प्रयोग गर्ने निर्णय गर्नुभएको हो ।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले मानक नेपाली वर्णविन्यास हुनुपर्ने अडान राख्दै अभियानका साथ आन्दोलन गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले गत कात्तिक ३० गते नेपाली बृहत् शब्दकोश ०७२ खारेज गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले प्रतिष्ठानले गरेको पाँचबुँदे निर्णयलाई विद्यालय तहमा लागू गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयले अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ पनि खारेज गरिसकेको छ ।
केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पाँच वर्षदेखि प्रयोग हुँदै आएको वर्णविन्यास सच्याएर मानक नेपाली वर्णविन्यास गर्ने निर्णयमा पुगेको जानकारी दिए । अभियान अन्तर्राष्ट्रिय सञ्जालले केही महिनाअघि मानक वर्णविन्यास प्रयोगमा ल्याउन केन्द्रका निर्देशक काप्रीलाई भेटी लिखित पत्रसमेत दिएको थियो । काप्रीका अनुसार पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आइतबार र सोमबार बसेको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सच्याएर लागू गर्ने गरी निर्णय गरेका पाँच बुँदा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
जसअनुसार संयुक्त व्यञ्जन वर्णको व्यवस्थापनक्रममा विशेषगरी 'द' वर्णसँग जोडिएर आउने मूल शब्दका प्रविष्टिमा प्रयोग गरिएका संयुक्त व्यञ्जनअनुसार र तिनका उपप्रविष्टि र अर्थ लेखनमा व्यञ्जनको खुट्टा काटी गरिएको सम्पूर्ण प्रयोगलाई सच्याई बुद्ध, द्वन्द्व, विद्या आदि संयुक्त व्यञ्जन लेखिनेछ । अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत् शब्दकोश २०५८ र २०६७ का प्रविष्टि अनुकूल राखिनेछ ।
अब एकल अर्थ दिने व्यक्तिका नामका पहिला दुई शब्द लक्ष्मीप्रसाद, लेखनाथ आदि जोडेर लेख्ने, लिपिचिह्न गणना नगरी एकार्थी नामस्थान भक्तपुर, ललितपुर नै लेख्ने, दिनको नाम (बार) शब्दलाई पदयोग गरी आइतबार, सोमबार लेख्नुपर्नेछ । विभक्ति चिह्न र नामयोगीलाई पूर्वप्रचलनअनुसार मूल शब्दसँग योग गरेर रामले, घरमाथि, पूर्वतर्फ आदि लेख्ने, संयुक्त क्रिया जोडेर खानुपर्छ, मिलाइदिन्छ बनाउने र दुई शब्दबाट बनेका एकार्थी समस्त शब्दलाई पदयोग गरेर प्रधानमन्त्री, शुभकामना आदि लेखिनेछ ।
यसरी लेख्दा नेपाली बृहत् शब्दकोशको नवौं संस्करणमा प्रयोग भएको वर्णविन्यासका प्रस्तुत केही पक्षलाई सच्याइएको हो । यसैगरी, ह्रस्व र दीर्घ इकारसम्बन्धमा जात, थर बुझाउने पहिचानसँग जोडिएका सबै शब्दका अन्तिम ईकार र ऊकार जस्तै लिम्बू, राई आदि दीर्घ लेख्ने र विशेषणबोधक शब्दका अन्त्यमा आउने ईकारलाई दीर्घ (रोगी, भोगी) र ऊकारलाई प्रचलनअनुसार ह्रस्व (इखालु, सिकारु) लेखिनेछ । स, ष, शका सम्बन्धमा २०५८ र २०६७ का नेपाली बृहत् शब्दकोशका संस्करणबमोजिम नै (शेर्पा, शाह, शेरचन) गर्ने तर पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'श' लाई जातिले प्रयोगमा ल्याएका प्रचलनअनुसार नै लेख्ने निर्णय भएको छ ।
यसैगरी, प्रतिष्ठानले विस्थापित प्रविष्टिलाई राख्ने निर्णय गरेको थियो । जसमा 'हरू' प्रविष्टिलाई पूर्वसंस्करणबमोजिम नयाँ संस्करणमा समाविष्ट गर्नेगरी सच्याउने निर्णयलाई केन्द्रले पनि लागू गर्नेछ । अब फुल र फूल, जुन र जूनजस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको प्रविष्टि र अर्थ छुट्टाछुट्टै दिनुपर्नेछ । प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश २०४० को संस्करणमा प्रविष्टि पाएका तर आगन्तुक र तद्भव शब्दको व्यवस्थापनमा परिवर्तन भएका शब्दहरूका प्रविष्टिलाई वैकल्पिक प्रविष्टिका रूपमा शब्दकोशमा समावेश गर्ने र त्यस्ता प्रविष्टिको अर्थ लेख्दा मानक प्रविष्टिका अर्थलाई हेर्नू भनी जनाउने (जस्तै, शहीद, शहर, गरीव, कानून आदि) निर्णय गरेको थियो ।
यस्तै पाँचबुँदे सुधारसहितको शब्दकोशको दसौं संस्करण तयारीका लागि कूलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा अन्य चार विज्ञसहितको समितिलाई प्रज्ञा प्रतिष्ठानले अख्तियारी दिएको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलले परिषद्ले अमानकलाई खारेज गरी मानक नेपाली वर्णविन्यास लागू गर्ने भनी गरेको निर्णय स्वागतयोग्य भए पनि कार्यान्वयन तहसम्म सञ्जालले निगरानी गरिरहने बताउनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, 'सञ्जालले पटक–पटक शिक्षामन्त्रीलाई भेटेर अनुरोध गरेको र विद्यालय तहका पाठ्यपुस्तक बहिष्कार गर्नेसम्मका चेतावनी दिएपछि मात्र खारेज गर्ने निर्णय भएको हो ।'
यसअघि पुस ११ गते त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायअन्तर्गतको नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिले पनि सञ्जालकै दबाबस्वरूप अमानक नेपाली वर्णविन्यास खारेज गरेको थियो भने त्रिभुवन विश्वविद्यालयकै नेपाली केन्द्रीय विभागले मंसिर ३ गते अमानक र विवादित वर्णविन्यास खारेज गर्ने निर्णय गरेको थियो । साझा प्रकाशनले पनि फागुन २२ गते अमानक खारेज गरी मानक नेपाली वर्णविन्यास प्रयोग गर्ने निर्णय गरेको थियो । केन्द्रका कार्यकारी निर्देशक काप्रीले सम्भव हुने विषय र सन्दर्भलाई तत्काल सच्याउने र मातहत निकायलाई सोहीअनुसार परिपत्र गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'पाठ्यक्रम छापिएर वितरणसमेत भएकाले आगामी प्रकाशनदेखि सच्याउनेछौं ।'
अन्नपूर्ण पोष्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।
प्रतिक्रिया